सिक्टाको सिँचाइ सञ्जाल विस्तार हुँदै, खजुरा र बैजनाथका थप खेतमा पानी पुर्‍याउने तयारी

बाँके ,१३ असोज।
सिक्टा सिँचाइ आयोजनाले मूल नहरबाट किसानका खेतसम्म पानी पुर्‍याउन शाखा तथा उपशाखा नहर विस्तारको कामलाई तीव्रता दिएको छ। खजुरा र बैजनाथ गाउँपालिकाका थप क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले आयोजनाले पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणको तयारी अघि बढाएको हो।
आयोजना निर्देशक राजु आचार्यका अनुसार गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार असोज ८ गते सूचना जारी गर्दै आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको हो।
जग्गा अधिग्रहणअन्तर्गत खजुरा गाउँपालिका–१, २, ५ र ८ तथा बैजनाथ गाउँपालिका–५ र ६ मा पर्ने जग्गा समेटिएको छ। सम्बन्धित जग्गाधनी वा कानुनी वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय बाँके वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न सक्नेछन्।
अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल तथा रुख–बिरुवा भए त्यसको विवरणसमेत निवेदनमा खुलाउनुपर्नेछ। त्यस्ता संरचना तथा रुख–बिरुवा बढीमा एक महिनाभित्र हटाई जग्गा खाली गर्नुपर्ने सूचनामा उल्लेख छ।
४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य
सिक्टा सिँचाइ आयोजनाले राप्ती नदीका दुवै भेगमा रहेका खेतीयोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। आयोजनाका अनुसार पश्चिम मूल नहरबाट राप्ती नदीको पश्चिम भेगका ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट पूर्वी भेगका करिब नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ।
आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। शाखा तथा उपशाखा नहर विस्तार भएपछि मूल नहरमा पुगेको पानी खेतसम्म पुर्‍याउने संरचना थप विकास हुने भएकाले आयोजनाको सिँचाइ क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ।
यसबाट वर्षायाममा मात्र आकाशे पानीको भर पर्नुपर्ने किसानलाई बाह्रै महिना खेती गर्न सहज हुने आयोजनाको विश्वास छ। मूल नहर नजिक भएर पनि सिँचाइको प्रत्यक्ष लाभ लिन नसकेका क्षेत्रका किसानलाई समेत शाखा तथा उपशाखा नहर विस्तारपछि लाभ पुग्ने अपेक्षा गरिएको छ।
बजेटमा करिब एक अर्ब वृद्धि
सिक्टा सिँचाइ आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ५५ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा आयोजनाको बजेट करिब एक अर्ब रुपैयाँले बढेको हो।
आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माणको काम भइरहेको छ। सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको निर्देशक आचार्यले बताउनुभयो।
गुरुवागाउँ तथा अकलघरवा शाखा र उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पनि आवश्यक पूर्वतयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत
आयोजना निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। आयोजनाको पूर्वाधार निर्माणमा हालसम्म करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभयो।
आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनाअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ। सोही ब्यारेजमार्फत राप्ती नदीको पानी उपयोग गरी ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ।
सिक्टा सिँचाइ आयोजनाको मूल उद्देश्य नहर निर्माण गरेर पानी बगाउनु मात्र नभई किसानको खेतसम्म नियमित र प्रभावकारी रूपमा पानी पुर्‍याउनु हो। त्यसैले अब शाखा तथा उपशाखा नहर विस्तारसँगै पानी वितरण प्रणालीलाई प्रभावकारी बनाउनु आयोजनाको महत्वपूर्ण चुनौती हुनेछ।
विशेषगरी जग्गा अधिग्रहण, निर्माणको गुणस्तर, ठेक्का व्यवस्थापन र समयमै काम सम्पन्न गर्ने विषयमा आयोजना र निर्माण व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ। नहर निर्माण भएर पनि पानी खेतसम्म नपुग्ने अवस्था आउन नदिन अन्तिम बिन्दुसम्मको वितरण प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने किसानहरूको अपेक्षा छ।
सिक्टाको सिँचाइ सञ्जाल विस्तारले बाँकेका थप खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन बढ्नुका साथै किसानको आकाशे पानीमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ। पर्याप्त र नियमित सिँचाइ उपलब्ध भएमा धान, गहुँ, तरकारी तथा अन्य नगदेबालीको उत्पादन विस्तार गर्नसमेत सहयोग पुग्नेछ।
त्यसैले आयोजनाको बाँकी कामलाई तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्दै ‘मूल नहरमा पानी’बाट ‘किसानको खेतमा पानी’ पुग्ने अवस्थालाई उपलब्धिको मुख्य आधार बनाउनुपर्ने देखिएको छ। सिक्टाको नहर विस्तारसँगै बाँकेका किसानले वर्षौंदेखि देख्दै आएको बाह्रै महिना सिँचाइको सपना अब व्यवहारमै पूरा हुने अपेक्षा गरिएको छ।

सिक्टाको सिँचाइ सञ्जाल विस्तार हुँदै, खजुरा र बैजनाथका थप खेतमा पानी पुर्‍याउने तयारी

पूर्व सूचनाले घटायो बर्दियामा विपद्को क्षति

सिक्टाको सिँचाइ सञ्जाल विस्तार हुँदै, खजुरा र बैजनाथका थप खेतमा पानी पुर्‍याउने तयारी

सिक्टाको सिँचाइ सञ्जाल विस्तार हुँदै, खजुरा र

Leave a comment

Your email address will not be published. Required fields are marked *