दसौँ राष्ट्रिय खेलकुदका करिब छ खेल नेपालगन्जमा सञ्चालन गर्ने तयारी

बाँके ,१३ असोज ।
कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल नेपालगन्ज रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतियोगिताका सम्भावित खेलस्थल तथा आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिन शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा रहेको टोलीले सोमबार नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन गरेको छ ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका क्रममा सुर्खेत पुगेको मन्त्रालयको टोली फर्किने क्रममा नेपालगन्ज आएको हो । टोलीमा मन्त्रालयका सहसचिव रमेश ढकाललगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।
साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दका अनुसार टोलीले नेपालगन्ज रंगशालामा रहेका विभिन्न खेल पूर्वाधारको स्थलगत निरीक्षण गर्दै प्रतियोगिताका करिब छ वटा खेल नेपालगन्जमा सञ्चालन गर्न सकिने सम्भावनाबारे जानकारी लिएको हो ।
निरीक्षणका क्रममा मन्त्रालयका सचिव पौडेलसहितको टोलीले रंगशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज, कभर्ड हललगायतका पूर्वाधारको अवस्था अवलोकन गरेको थियो । त्यस क्रममा दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा सञ्चालन गर्न सकिने खेलका लागि आवश्यक तयारी अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख चन्दले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीका क्रममा मन्त्रालयका सचिव र सहसचिवलगायतले नेपालगन्जमा रहेका सम्भावित खेलस्थल तथा पूर्वाधारको निरीक्षण गरेको बताउनुभयो ।
उहाँका अनुसार टोलीलाई नेपालगन्ज रंगशालामा उपलब्ध खेलस्थल, भौतिक संरचना तथा पूर्वाधारको अवस्थाबारे विस्तृत जानकारी गराइएको थियो ।
नेपालगन्जमा यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा ठूलो लगानीमा विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिएको थियो । तर, प्रतियोगितापछि ती पूर्वाधारको नियमित संरक्षण, मर्मतसम्भार र रेखदेखका लागि पर्याप्त बजेट तथा स्रोतको अभाव हुँदा कतिपय संरचना जीर्ण बन्दै गएका छन् ।
नेपालगन्जमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सञ्चालन भएमा निर्माण भइसकेका खेल पूर्वाधार पुनः प्रयोगमा आउने र त्यसबाट संरचनाको संरक्षण तथा रेखदेखमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले नेपालगन्जमा खेलकुद गतिविधि बढाउन तथा यहाँ निर्माण भएका पूर्वाधारलाई प्रभावकारी रूपमा उपयोग गर्नसमेत टेवा पुग्ने देखिएको छ ।






