महिला प्रहरीमाथि यौन हिंसा गरेकोको उजुरी परेपछि डिएसपी भट्टराई निलम्बित

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई निलम्बनमा परेका छन् । उनले महिला प्रहरीमाथि यौन हिंसा गरेकोको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बनमा पारेको हो ।
उनी हुम्ला जिल्लाको प्रहरी प्रमुखसमेत हुन् । रक्सी खाएर सिमकोट विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । उनलाई कार्यालयकै महिला प्रहरीले मदिराको नशामा यौन दुर्व्यवहार गरेको उजुरी प्रधान कार्यालयमा दर्ता गरेकी थिइन् ।
भट्टराईलाई प्रहरी प्रधान कार्यालयले हुम्ला जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ । हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको भए पनि उनी जिल्लामा आइपुगेका छैनन् । निलम्बनमा परेपछि भट्टराईले अहिले निक्कै टेन्सनमा रहेको र केही दिनमा सत्य कुरा बताउने बताए ।






