पर्यटन प्रर्वद्धनमा ध्यान देऊ !

चाडपर्वको समय आन्तरिक पर्यटकहरुको संख्या बढ्ने समय हो । दशैं तथा तिहारका लामा विदाहरुमा पर्यटकीय स्थलहरुमा मानिसको घुईचो नै लाग्ने गर्छ । नेपालमा आन्तरिक पर्यटनको विकास भएसँगै अहिले कर्णाली समेत यसबाट लाभ लिने प्रदेशका रुपमा स्थापित हुदैछ । दशैं नभएकाहरु यसअघि नै शे–फोक्सुण्डो पुगिसकेका थिए । त्यसैगरी रारा लगातका स्थानहरुमा समेत आन्तरिक पर्यटकहरुको संख्या बढेको छ ।
कर्णालीका पर्यटकीय स्थलहरु घुम्ने उपयुक्त समय पनि यही नै हो । खासगरी कर्णालीका उपल्लो जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुले कर्णालीमा अन्य प्रदेशबाट समेत पर्यटक भिœयाउछन् । वर्षात्को मौसम सकिएसँगै हालको समय भ्रमणका लागि उपयुक्त हो । यसपछि चिसो मौसमको शुरुवात हुने हुँदा रारा तथा शे–फोक्सुण्डो, मानसरोवरलगायतका स्थानले पर्यटक भिœयाउन त्यति सक्दैनन् । त्यसैले हालको उपयुक्त समयमा प्रदेश सरकार तथा स्थानीय तहले समेत पर्यटन प्रर्वद्धनमा ध्यान दिनुपर्छ । खासगरी कर्णालीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने समय अहिलेको हो । प्रचारप्रसारमा पर्यटकीय स्थल आसपास विभिन्न मेला तथा महोत्सवको आयोजनाहरु हुनुपर्छ । त्यसैगरी पर्यटक आर्कषणका लागि खेलकुद लगायतका प्रतियोगिताहरुको समेत आयोजना गर्दा थप सकारात्मक हुन्छ । कर्णालीको अर्थतन्त्र तथा यहाँको आन्तरिक आम्दानी बढाउन पर्यटन प्रर्वद्धन मुख्य पक्ष हो । यहाँका साँस्कृतिक रहनसहन तथा रितिरिवाजहरुको प्रर्वद्धनमा समेत दुई तहका सरकार र नागरिकहरु समेत जिम्मेवार हुन जरुरी छ ।
यसअघि कर्णाली प्रदेश सरकारले ‘कर्णालीका एक सय एक गन्तव्य’ पहिचान कार्यक्रम अघि बढाएको थियो । गन्तव्यको पहिचान तथा यसको प्रर्वद्धनका लागि प्रदेश सरकारले विविध कार्यक्रमहरु अघि बढाएको थियो । तर पर्यटकीय स्थलहरुका वित्तचित्र निर्माण र सूचिकरण वाहेकको देखिने खालका काम भने हालसम्म पनि भएको पाइदैन । पर्यटकीय स्थलहरुलाई सञ्चालन गर्नका लागि प्रदेश सरकारले गुरुयोजना नै बनाउनु पर्छ । खासगरी प्रचारप्रसार र पर्यटकलाई आवश्यक सुविधाको व्यवस्थापनका लागि काम गर्नुपर्ने आवश्यकता छ । काठमाडौं, पोखरा तथा लुम्बिनी प्रदेशमा जुटेको आन्तरिक पर्यटकहरुको भिडलाई कर्णालीसम्म ल्याउन पर्यटकीय गुरुयोजनाको आवश्यकता छ । यसका साथै कोभिड–१९ को संक्रमणकालिन समय पछि थलिएको अर्थतन्त्र अहिले उस्किने चरणमा छ । पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसारका लागि पर्यटकहरुलाई सहजताका लागि समेत काम गर्नुपर्छ । उनीहरुलाई आवश्यक हुने होटलको प्रवन्ध, कर्णालीका रैथाने उत्पादनको उपलब्धता, सुरक्षित सडकको वस्दोवस्त लगातका ध्यान दिन जरुरी छ । वर्षात्को समयले बिगारेका सडकहरुलाई मर्मत तर्फ लाग्नुपर्छ । खासगरी पर्यटकीय स्थलसम्म पुग्ने सडकहरुलाई प्राथमिकतामा राखेर मर्मत गरिनुपर्छ । यि लगायतका विषयमा स्थानीय तह र प्रदेश सरकारले समन्वयमा काम गर्नुपर्छ ।






