मंगलवार पनि केही ठाउँमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
मंगलवार पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा मंगलवार पनि पानी पर्ने छ ।
पश्चिमी क्षेत्रमा सोमवार र आइतवार रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ । यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । उनका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि मंगलवार पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताए । गएराति पनि उपत्यकामा पानी परेको थियो । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले बुधवारदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।






