चन्दननाथ मन्दिरको लिंगो फेर्दै घटस्थापनाको शुरुवात

जुम्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल चदननाथ भैरवनाथ मन्दिरको लिंगो फेरेर घटस्थापना सुरू गरिएको छ ।
खलंगाको बीचमा रहेको चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो खडा गरिएको हो । यहाँ चन्दननाथ भैरवनाथ मन्दिरको लिंगो खडा गरेर मात्र घटस्थापना गर्ने चलन छ । लिंगो खडा गर्नुपर्ने प्रचलन छ ।
लिंगोलाई रातो, सेतो, रङ्गीबिरङ्गी कपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भााँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ ।
देवताको जयघोष र पूजा आरती, भजनकिर्तनका साथ लिंगो फेर्ने चलन रहेको चन्दननाथ भैरवनाथ मन्दिरका गुठि समितिका अध्यक्ष अमर थापाले जानकारी दिए ।
चन्दननाथ मन्दिरसँगै जोडिएको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।
लिंगोका लागी जंगलमा रुख काट्नेदेखि सदरमुकाम खलंगासम्म ल्याउने र लिंगो खडा गर्ने कार्यमा युवाहरु र सुरक्षाकर्मी सहभागी भएका छन् । मन्दिरमा विजय स्तम्भसहित दुई वटा लिंगो ठड्याइने परम्परा अनुसार घटस्थापनाकै दिन लिंगो खडा गरिँदै आएको थापाले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरु र सर्वसाधारणको सहभागितामा लिंगो ठड्याइन्छ । लिंगो ठड्याइसकेपछि मात्र जुम्लाबजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन छ ।
जुम्लाबासीले लिंगो खडा गर्ने दिनमा नयाँ अन्न अर्थात् न्वागी खाने गर्छन् । मार्सी धान पनि यहि दिनदेखी काट्न सुरु गरिन्छ । ६७० सालमा चन्दननाथ बाबालाई मूर्ति चढाएको दिन भन्दै घटस्थापनाको दिनलाई विशेष महत्त्वका साथ हेरिन्छ ।
चन्दननाथ भैरवनाथ मन्दिरको पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बाँधिएका ध्वजा र नेजा लैजान्छन् । पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने जनविश्वास छ । लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लिने गरिन्छ ।
६७० सालमा चढाएको लक्ष्मी नारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने कार्य ३ हजार पटक भएको देखिन्छ ।
एउटा पल्टने लिंगो, (जो नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारीहरुले ल्याउने) अर्को थापाले लिंगो (जो गाउँलेहरुले मात्र ल्याउने) र तेस्रो कमसले लिंगो जो सबै दलितहरु मिलेर ल्याउने गरिन्छ ।
जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडिपाखी, ठेटुवा र चौरी फुर्को ल्याउने परम्परा छ ।
जुम्ला राज्यको स्थापनासँगै १४४८ मा राजा बलिराजले चन्दननाथ मन्दिरको निर्माण गरेका थिए । पटकपटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो ।
१८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरी चरणपादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए ।






