देशका लागि पार्टीभित्रैबाट अनिष्ट भइरहेको छ : केपी ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए।
उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गरे। अध्यक्ष ओलीले माधव नेपाल पक्षले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे।
उनले भने, ‘तिनले खाएको शपथ झुटो हो ,तीनका शपथ बेइमानी हो। तीनका शपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ। अहिले तिनले खाएका सपथ सम्झनुहोस् त। तीनले कहाँ कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्।‘
अध्यक्ष ओलीले आफ्नै पार्टीका नेताहरूबाट अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीविरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना भएको बताए।
उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताए। उनले पछिल्लो समय नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गरे।
उनले भने, ‘समाजलाई अमर्यादाले एकतावद्ध बनाउँदैन। परपीडक प्रवृत्तिले अर्काको आँसुमा रमाउने खालका परपीडक स्याडिस प्रवृत्तिको विगविगी देखिन्छ। यो गम्भीर चिन्ता र चासोको विषय हो। परपीडक, असभ्य, छाडा र अराजकतत्व तिनको जिन्दगी खेर गएको देखेर पनि दु:ख लाग्छ।‘
अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधिविरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रहसमेत गरे।
विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको उनको टिप्पणी थियो।






