सुर्खेत विमानस्थल विस्तारको योजना

अझैं जुटेन स्थानीयसँग सहमति विस्तार हुनेमा थप अन्यौलता

सुर्खेत । अब चालु आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी छ । सम्भवतः अबको दुई महिनाभित्र ठूला विकास आयोजनाहरुले गति लिनसक्ने अवस्था छैन । कोरोना संक्रमण बढ्दै जानु र निषेधाज्ञाका कारण विकास आयोजनाहरु प्रभावित हुने अवस्था आएको छ । कोरोना महामारी र स्थानीयको अवरोधका कारण सुर्खेत विमानस्थलको विस्तार कार्य पनि प्रभावित हुने देखिएको छ ।

विमानस्थल विस्तारको नक्सा दिएको एक महिनासम्म पनि सरोकारवाला निकायले विमानस्थललाई कुनै जानकारी गराएका छैनन् । विमानस्थल विस्तारको नेतृत्व गर्ने प्रदेश सरकारले पनि सहमतिका लागि एक महिनादेखि सरोकारवाला निकायसँग छलफल गरेको छैन । स्थानीय राजनीतिक दल र वडाध्यक्षहरु पनि विमानस्थल विस्तारका बारेमा अन्यौल देखिन्छन् । यहीकारण सुर्खेत विमानस्थल विस्तार थप अन्यौलपूर्ण बनेको हो ।

‘एकातिर कोरोना महामारी, अर्काेतिर स्थानीयले सहमति दिएका छैनन्’ सुर्खेत विमानस्थलका प्रमुख उमेरकुमार पन्थीले भने, ‘विमानस्थल विस्तारको नक्सा छलफलका लागि सरोकारवाला दिएका छौँ, तर उहाँहरुबाट कुनै प्रतिक्रिया आएको छैन ।’ सरोकारवाला निकायले एकपटक कर्णाली प्रदेश सरकारसँग छलफल गरेर मात्रै विस्तार गर्न दिने वा नदिने भनेर समय माग गरेका छन् । सोहीकारण विमानस्थलले विस्तार हुने क्षेत्रको लगत संकलन र रोक्का गरिएको जग्गा पनि फुकुवा गरिएको छैन ।

‘कर्णालीको आवश्यकता अनुसार ढिलोचाँडो विमानस्थल विस्तार हुन्छ, तर अहिलेसम्म कुनै सहमति भएको छैन’ पन्थीले भने, ‘स्थानीयले सहमति दिएमा चालु आर्थिक बर्षमै काम अगाडि बढ्छ ।’ विमानस्थल विस्तार अनिवार्य भए पनि सरोकारवाला निकाय गम्भिर नहुँदा विस्तारमा ढिलाइ भएको उनको तर्क छ । यस्तै प्रभावित क्षेत्रका नागरिकहरुले भने सरकारले सहमतिका लागि कुनै पहल नगरेको जनाएका छन् ।

‘सहमतिको लागि सरकारले हामीसँग कुनै प्रयास नै गरेको छैन’ नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले भने, ‘विमानस्थल विस्तारको विकल्प खोज्नुपर्छ भन्ने हाम्रो अडान पुरानै हो ।’
यही विमानस्थल विस्तार गर्नु दीर्घकालीन समाधान नभएको भन्दै विस्तारको विकल्प खोज्नुपर्ने उनको तर्क छ । ‘अहिलेको विस्तारले दीर्घकालीन समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नहुँदासम्म विस्तार कार्य अगाडि बढ्दैन’ उनी भन्छन्, ‘४÷५ बर्षमा विस्तार गर्ने भन्दै स्थानीयलाई विस्थापित गराउनु न्यायोचित छैन ।’

अहिले विमानस्थल विस्तार गरे पनि दुई÷चार वर्षमा पुनः विस्तार गर्नुपर्ने उनको बझाइ छ । बरु बारम्बार विस्तार गर्नुभन्दा अन्यत्र स्थानमा ठूलो विमाास्थल बनाउनु उत्तम विकल्प हुने उनको भनाइ छ । स्थानीयको यही अडानका कारण ६ महिनासम विमानस्थल विस्तार कार्य अगाडि बढेको छैन । आर्थिक बर्ष सकिनै लाग्दा विमानस्थल विस्तार होला भन्नेमा आशंका छ । सुरुवातदेखि नै प्रभावित क्षेत्रका बासिन्दाले उचित व्यवस्थापन नभएसम्म वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ र १० का स्थानीयहरु विमानस्थल विस्तार गर्न नदिने अडान दोहो¥याउँदै आएका छन् ।

विमानस्थल विस्तारका लागि झण्डै ३० विगाह क्षेत्रफल अधिग्रहण गर्नुपर्ने हुन्छ । विस्तार गर्दा झण्डै एक हजार परिवार विस्थापित हुन्छन् । यसका साथै अमरज्योति मावि, अमरदीप क्याम्पस, हस्तवीर आधारभूत विद्यालय, अन्य तीन वटा निजी विद्यालय, एउटा स्वास्थ्यचौकी, एउटा सहकारी, मानवसेवा आश्रमका लगायतका संरचनासमेत विस्थापितमा पर्दछन् । यहीकारण क्षति धेरै हुने भएपछि स्थानीयले अवरोध गर्दै आएका छन् ।

विमानस्थल विस्तारका लागि कर्णाली प्रदेश सरकार, नेपाल नागरिक उड्डन प्राधिकरण र स्थानीय सरोकारवालाबीच भएको पटक–पटकको वार्ता विना निस्कर्ष टुगिंदै आएको छ । स्थानीको अवरोधका कारण चालु आर्थिक बर्षमा विमानस्थल विस्तार नहुने खतरा बढेको हो । सुर्खेत विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ५० करोड र संघीय सरकारले ५१ करोड बजेट छुट्याएका छन् ।

धावनमार्ग विस्तारका लागि गत असोज १५ गते संघ र प्रदेशबीच सम्झौता भइसकेको छ । यसअघि केन्द्र सरकारले ३० विगाह क्षेत्रफल अधिग्रहण गर्न अनुमतिसमेत दिएको थियो । २०२३ सालमा निर्माण भएको सुर्खेत विमानस्थलको धावनमार्ग हाल एक हजार दुईसय ५५ मिटर छ । यसलाई विस्तार गरेर एक हजार पाँचसय ५५ मिटर विस्तार गरिने छ । धावनमार्ग विस्तार भएको खण्डमा साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सकिने, भाडादर सस्तो हुने र कर्णालीको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा छ ।

‘विमानस्थल विस्तारमा विवाद छैन’

कर्णाली प्रदेश सरकाले भने ढिलो चाँडो सुर्खेत विमानस्थल विस्तार भएरै छाड्ने दाबी गरेको छ । ‘स्थानीयको पुनस्र्थापना र सार्वजनिक भौतिक संरचनाको प्रदेश र केन्द्र सरकारले ग्यारेन्टी लिन्छ’ प्रदेश सरकारका प्रवत्तासमेत रहेकी आन्तरिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन्, ‘विमानस्थल विस्तारका लागि कुनै विवाद छैन, ढिलोचाँडो विस्तार भएरै छोड्छ ।’ सरकारले स्थानीयलाई विचल्ली नपार्ने भन्दै मन्त्री केसीले कोही पनि विकासको बाधक बन्न नहुने तर्क गरिन् ।

‘कोरोना महामारी भएन भने चालु आर्थिक बर्षमै, नभए अर्काे वर्ष त विमानस्थल विस्तार हुन्छ’ उनी भन्छिन्, ‘सुर्खेत विमानस्थल विस्तार कर्णालीको आवश्यकता हो, जसरी पनि विस्तार हुन्छ ।’ वीरेन्द्रनगर प्रदेशको राजधानी भएका कारण पनि अत्यावश्यक सुर्खेतमा क्षेत्रीय स्तरको विमानस्थल अनिवार्य रहेको उनको तर्क छ ।’

उत्तरतर्फ मात्रै विस्तार गर्ने योजना

विमानस्थलको उत्तरतर्फ मात्रै विस्तार हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नक्साङ्कन अनुसार उत्तरतर्फ झण्डै पाँचसय मिटर विस्तार गर्ने उल्लेख गरिएको छ ।

उत्तरतर्फ मात्रै विस्थार गर्दा पनि रात्रीकालिन उडान र मध्यमस्तरका जहाजले उडान भर्न सक्ने प्राधिकरणको अध्ययनले देखाएको छ । सोहीअनुसार उत्तरतर्फ मात्रै विमानस्थल विस्तार हुने सम्भावना बढेको हो । तर प्राधिकरणले तयार पारेको नक्साङ्कनलाई स्थानीयले सहमति दिइसकेका छैनन् ।

तपाईको प्रतिक्रिया