बेपत्ता भएका बालिकालाई ल्याइयाे, आज परिवारको जिम्मा लगाइने

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका पाँच बालिकासहित सात जनाको भारतबाट उद्दार गरेर नेपाल ल्याइएको छ ।
उनीहरुलाई गएराति पौने ११ बजे नेपाल ल्याइएको हो । नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतको समन्वयमा भारतबाट उनीहरुलाई सकुशल उद्धार गरि ल्याइएको हो ।
भंगहा नगरपालिकाका मेयर संजिव साह र ओरेक नेपाल कि लिला दियाली समेतको उपस्थितिमा नेपाल प्रहरी र शसस्त्र प्रहरी नाकामा उद्धार टोली र बालिकाहरूलाई लिन पुगेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुसँग आज सोधपुछ गरेर परिवारको जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ । उनीहरु गत मंगलबार घाँस काट्न जाँदा बेपत्ता भएका थिए ।
बेपत्ता भएर भारतमा भेटिएकामा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् । एउटै टोलका उनीहरु घाँस काट्न गएर साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो ।






