नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं, ३ माघ ।

अर्थमन्त्री विष्णु पौडेलले विश्व स्वास्थ्य संगठनलगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोरोनाको खोप निःशुल्क रूपमा उपलब्ध गराउने बताएका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै उहाँले कोरोना खोप आयातको लागि आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताए । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरूले स्वेच्छिक रूपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताए । साथै उनले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल नगरिएको स्पष्ट पारे ।

मन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास समेत व्यक्त गरे । मन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय गरेको बताए । मन्त्री पौडेलले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रवन्ध गरेको भन्दै यो विषय अदालतमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने बताए ।

तपाईको प्रतिक्रिया