चाडपर्वको लामो बिदाले नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
बाँके ,४ मंसिर ।
चाडपर्व लक्षित लामो बिदा तथा नियमित रक्तदान कार्यक्रम पर्याप्त नहुँदा बाँकेको नेपालगञ्जमा रगतको अभाव कायमै रहेको छ । अस्पतालहरूमा बिरामीको चापअनुसार रगतको माग बढिरहे पनि रक्तदान कार्यक्रम अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात न्यून भएको हो ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित तथा संस्थागत रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार नेपालगञ्जका अस्पतालमा मात्रै दैनिक ७० देखि ८० पिन्टसम्म रगतको माग हुने गरेको छ । तर, मागअनुसार रगत सङ्कलन हुन नसक्दा मौज्दात निकै कम रहेको छ ।
नेपालगञ्जमा सङ्कलित रगत बाँकेका अस्पतालमा मात्रै सीमित नरही लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत उपलब्ध गराउनुपर्ने भएकाले रगत व्यवस्थापन थप चुनौतीपूर्ण बनेको प्रमुख रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ, तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ ।” उहाँले संस्थागत रूपमा नियमित रक्तदान कार्यक्रम सञ्चालन भए रक्तसञ्चार केन्द्रलाई रगत व्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।
रक्तसञ्चार केन्द्रले नेपालगञ्जसँगै कोहलपुर र खजुरास्थित शाखाबाट पनि रगत सङ्कलन गर्दै आएको छ । केन्द्रका अनुसार कोहलपुरका आठ अस्पतालमा दैनिक २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालमा १० देखि १२ पिन्ट रगतको माग हुने गरेको छ । त्यस्तै, नेपालगञ्जका २७ अस्पतालमा दैनिक करिब ८० पिन्ट रगत आवश्यक पर्ने गरेको छ ।
प्रमुख रेग्मीका अनुसार रगतको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा कतिपय अवस्थामा बिरामीका आफन्तले रगत उपलब्ध गराएपछि आवश्यक रगत सट्टापट्टाका आधारमा व्यवस्थापन गर्नुपर्ने अवस्था आउने गरेको छ । अहिले केही संस्थाले छिटफुट रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरे पनि त्यसबाट सङ्कलित रगत पर्याप्त नभएको उहाँको भनाइ छ ।
केही दिनभित्रै अर्को संस्थाले पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिँदै उहाँले त्यसबाट केही मात्रामा रगत सङ्कलन हुने अपेक्षा व्यक्त गर्नुभयो । यद्यपि, रगतको नियमित आपूर्ति सुनिश्चित गर्न एकाध कार्यक्रमले मात्रै नपुग्ने भएकाले विभिन्न संघसंस्था, सामाजिक अभियान र स्थानीय तहले नियमित रक्तदानलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सम्झनाले विभिन्न माध्यमबाट रक्तदान तथा रगत व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार रगत आवश्यक पर्ने बिरामीलाई उपलब्ध गराउने क्रममा रगत लिने र दिने प्रणालीमार्फत पनि अभाव व्यवस्थापन गर्ने गरिएको छ ।
उहाँले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या उत्पन्न हुन नदिइएको उल्लेख गर्दै आवश्यक परेको अवस्थामा स्वयंसेवी रक्तदाताको सहयोगबाट रगतको व्यवस्था मिलाउने गरिएको बताउनुभयो ।
रक्तदान अभियानमा लामो समयदेखि सक्रिय नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगतको आवश्यकता बुझेर सबै नागरिकमा रक्तदान गर्ने भावना विकास हुनुपर्ने बताउनुभयो । उहाँले हालसम्म ४५ पटक रक्तदान गरिसक्नुभएको छ ।
“रगत लिएपछि अरूलाई दिन पनि सक्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्छ,” उहाँले भन्नुभयो, “अहिले जन्मदिन र वैवाहिक उत्सवजस्ता अवसरमा पनि रक्तदान गर्ने प्रचलन बढ्दै गएको छ ।” उहाँले रक्तदानलाई नियमित सामाजिक अभियानका रूपमा विकास गर्न स्थानीय सरकारलाई वर्षमा कम्तीमा दुई पटक भए पनि संस्थागत रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभयो ।
रगतको अभाव बिरामीको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको व्यवस्थापनलाई आकस्मिक अवस्थाको जिम्मेवारीका रूपमा मात्र लिन नहुने सरोकारवालाको भनाइ छ । अस्पतालमा दैनिक हुने रगतको मागलाई सहज रूपमा पूरा गर्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र र नागरिक समाजले नियमित रक्तदान अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ ।
स्वस्थ व्यक्तिले गरेको एक पटकको रक्तदानले आवश्यक परेका बिरामीको जीवन बचाउन सहयोग पुग्ने भएकाले रक्तदानलाई चाडपर्व वा विशेष अवसरमा मात्रै सीमित नगरी नियमित सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।




