कृषि विद्यार्थीलाई इन्टर्नसिपदेखि रोजगारीसम्म, मध्यपश्चिम विश्वविद्यालय र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य

सुर्खेत ,१३ असोज ।

मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच कृषि क्षेत्रमा दीर्घकालीन अनुसन्धान, प्रसार तथा प्राविधिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
२०८३ साल असोज १२ गते विश्वविद्यालयका उपकुलपति इन्जिनियर डा. राजन सुवालको समुपस्थितिमा आयोजित कार्यक्रममा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डीन डा. करन सिंह धामी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयका प्रमुख लक्ष्मण चन्द ठकुरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
समझदारीअनुसार कृषि विषय अध्ययनरत विद्यार्थीलाई मुक्तिनाथ कृषि कम्पनीका विभिन्न स्थानमा इन्टर्नसिप तथा व्यावहारिक सिकाइका अवसर उपलब्ध गराइनेछ। त्यसैगरी कृषि क्षेत्रमा संयुक्त अनुसन्धान तथा प्रसारका गतिविधि सञ्चालन गर्नुका साथै विद्यार्थीलाई कम्पनीका अनुसन्धान तथा विकास केन्द्रको अवलोकन र अध्ययन भ्रमणको अवसरसमेत प्रदान गरिनेछ।
कृषि व्यवसाय तथा मूल्य शृङ्खलासँग सम्बन्धित विभिन्न गतिविधिमा पनि दुवै संस्थाबीच सहकार्य हुने समझदारीपत्रमा उल्लेख छ। यसले कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई विद्यार्थीले कृषि क्षेत्रमा प्रत्यक्ष रूपमा प्रयोग गरी व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
त्यस्तै, अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीको उद्यमशीलता तथा एग्रिबिजनेससम्बन्धी क्षमता विकास गर्न मुक्तिनाथ इन्टरप्रेन्योरसिप सेन्टरमार्फत आवश्यक सहजीकरण गरिनेछ। कृषि क्षेत्रमा आफ्नै व्यवसाय सुरु गर्न चाहने विद्यार्थीलाई उद्यमशीलताका अवसर तथा आवश्यक ज्ञान र सीपसँग जोड्ने उद्देश्यसमेत समझदारीमा समेटिएको छ।
समझदारीपत्रमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीबाट उत्तीर्ण हुने छनोट गरिएका कृषि स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई वार्षिक रूपमा रोजगारीका अवसर उपलब्ध गराउने तथा ‘जब प्लेसमेन्ट’ मा समेत सहजीकरण गर्ने व्यवस्था गरिएको छ।
पाँच वर्षका लागि कायम रहने उक्त समझदारीले मध्यपश्चिम विश्वविद्यालयमा कृषि अध्ययनरत विद्यार्थीको व्यावहारिक ज्ञान, अनुसन्धान क्षमता, उद्यमशीलता, सीप विकास तथा रोजगारीसँगको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयको योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, प्राध्यापक तथा उपकुलपति सचिवालयका सदस्यलगायतको उपस्थिति रहेको थियो। समझदारीले विश्वविद्यालय र निजी क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्दै कृषि शिक्षालाई उत्पादन, अनुसन्धान, उद्यमशीलता र रोजगारीसँग जोड्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।

कृषि विद्यार्थीलाई इन्टर्नसिपदेखि रोजगारीसम्म, मध्यपश्चिम विश्वविद्यालय र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य

घुयँत्राे: भ्रष्टाचार खोज्न हिँडेको सरकार, अन्ततः पत्रकार

कृषि विद्यार्थीलाई इन्टर्नसिपदेखि रोजगारीसम्म, मध्यपश्चिम विश्वविद्यालय र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य

१०औँ राष्ट्रिय खेलकुदका लागि कालीकोटमा खेलाडी छनोट

Leave a comment

Your email address will not be published. Required fields are marked *