कर्णाली कांग्रेसमा शक्ति परीक्षण खड्का समूहको प्रभाव, देउवा समूह समानान्तर तयारीमा

ओम शाही
सुर्खेत, १२ असोज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि कर्णालीमा वडा र पालिका तहको अधिवेशन लगभग सम्पन्न भएको छ । प्रदेशका ७९ स्थानीय तह र सात सय १८ वडामध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बाहेक अधिकांश स्थानमा अधिवेशन सम्पन्न भएको छ । अहिले १० वटै जिल्लामा क्षेत्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको छ ।
कांग्रेस कर्णालीको अधिवेशनको प्रारम्भिक परिणाम भने रोचक छ । निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षीय अधिकांश नेता महाधिवेशन प्रतिनिधि बनेका छन् । तर, उनीहरूका नेता खड्का स्वयं भने यही महाधिवेशन प्रक्रियामा सहभागी नहुने अवस्थामा छन् । खड्काको गृह प्रदेश भएकाले पनि उनी सहभागि नहुने १५ औँ महाधिवेशनलाई कर्णालीमा विशेष महत्वका साथ हेरिएको छ ।
खड्का गगन थापा नेतृत्वको कांग्रेसको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आधिकारिकताविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि मुद्दा विचाराधीन छ । यही कारण खड्काले गगन नेतृत्वमा भइरहेको १५ औँ महाधिवेशनमा सहभागी हुनु नैतिक रूपमा नमिल्ने बताउँदै आएका छन् ।
खड्काले आफू तत्काल महाधिवेशनमा सहभागी हुन नैतिक रूपमा नमिल्ने बताइसकेका छन् । तर, उनले भनिरहेका छन्, ‘रूख र चार तारा जहाँ छ, म त्यहीँ छु ।’ त्यसैले खड्का स्वयं सहभागी नभए पनि उनीनिकट अधिकांश नेता भने महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका छन् । यही निर्णयको प्रभाव कर्णालीमा अहिले भइरहेको प्रतिनिधि छनोटमा देखिएको छ ।
१५ औँ महाधिवेशनका लागि कर्णाली प्रदेश निर्वाचन संयोजक उत्तम आचार्यका अनुसार प्रदेशका अधिकांश वडा र पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । अहिले १० वटै जिल्लामा क्षेत्रीय महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन जारी छ । आगामी १३ गतेसम्म सबै महाधिवेशन प्रतिनिधि चयन भइसक्ने उनले बताए ।
‘कर्णालीमा केही बाहेक सबै जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भएका छन् । अहिले १० वटै जिल्लामा क्षेत्रीय महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भइरहेको छ । १३ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन भइसक्नेछ,’ आचार्यले भने । कर्णालीमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । प्रदेशका ७९ स्थानीय तह र सात सय १८ वडाबाट सुरु भएको अधिवेशन प्रक्रिया अहिले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्ने प्रतिनिधि छनोटको निर्णायक चरणमा पुगेको छ ।
कर्णालीमा सम्पन्न वडा र पालिका तहको निर्वाचनमा खड्का पक्षीय अधिकांश नेताहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको उनी पक्षिय नेताहरूको दावी छ । यसले कर्णालीमा खड्काको संगठनात्मक प्रभाव अझै रहेको खड्का पक्षिय एक नेताको दावी छ । तर, यही परिणामले खड्काको प्रभावमा निर्वाचित भएका प्रतिनिधिहरूले महाधिवेशनमा कुन राजनीतिक धारलाई साथ दिन्छन भन्ने प्रश्न भने अनुत्तरित छ । खड्का स्वयं महाधिवेशनमा सहभागी नहुने भए पनि उनी निकट नेताहरूले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णय गरेका छन् ।
विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्वमा तत्कालीन पदाधिकारी तथा सदस्यहरूको समायोजन र क्रियाशील सदस्यतालगायत विषयमा सहमति भएपछि खड्का पक्षका नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका हुन् । यसले कर्णालीको प्रतिनिधि गणितलाई थप चासोको विषय बनाएको छ । किनकि कर्णालीमा कांग्रेसको एउटा ठूलो हिस्सा खड्काको राजनीतिक लाइनमा हिँड्छ् ।
देउवा समूहको छुट्टै तयारी
अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवा समूहले भने गगन थापा नेतृत्वको महाधिवेशनलाई अस्वीकार गर्दै छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ । देउवाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई अवैधानिक भन्दै असोजमा हुने महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् ।
उनको समूहले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ । देउवा पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५ औँ महाधिवेशन तयारी समिति बनाएर समानान्तर संगठनात्मक गतिविधि सुरु गरेको हो । उसले असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका अघि सारेको छ ।
यसको प्रभाव कर्णालीमा पनि देखिएको छ । देउवा पक्षले महाधिवेशन तयारीका लागि जिल्ला तहमा केन्द्रीय प्रतिनिधिसमेत परिचालन गरिसकेको छ । कर्णालीमा रुकुम पश्चिमबाहेक नौ जिल्लामा प्रतिनिधि तोकिएका छन् । सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाहीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै देउवा समूहले कर्णालीका आठ जिल्लामा जिल्ला संयोजकसमेत तोकेको छ । डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा र सुर्खेतमा ललित भट्टराईलाई जिम्मेवारी दिइएको छ ।
रुकुम पश्चिम र सल्यानमा संयोजक तोक्न बाँकी रहेको जनाइएको छ । यसरी हेर्दा कर्णालीमा कांग्रेसको नियमित महाधिवेशन प्रक्रिया एउटा बाटोबाट अघि बढिरहेका बेला देउवा समूहले अर्को संगठनात्मक संयन्त्र निर्माण गरिरहेको छ । एकातर्फ नियमित प्रक्रियाअनुसार कर्णालीमा वडा, पालिका र क्षेत्रीय अधिवेशन भइरहेको छ भने अर्कोतर्फ देउवा समूहले आफ्नो छुट्टै संगठनात्मक तयारी गरिरहेको छ ।
यसले कर्णाली कांग्रेसमा अहिले तीन तहको राजनीतिक समीकरण देखिएको छ । पहिलो, गगन थापा नेतृत्वको आधिकारिकता स्वीकार गरेर महाधिवेशन प्रक्रियामा अघि बढेको समूह । दोस्रो, देउवा नेतृत्वमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको समूह र तेस्रो, पूर्णबहादुर खड्कासँग राजनीतिक रूपमा निकट रहे पनि खड्का स्वयं अदालतमा मुद्दा विचाराधीन रहेकाले सहभागी नभएको अवस्थामा उनका अधिकांश नेता महाधिवेशन प्रक्रियामा सहभागी भएको समूह ।
खड्काले दिइरहेका छन् ढाडस
कांग्रेसको विवादमा सर्वोच्च अदालतको भूमिका पनि महत्वपूर्ण छ । पूर्णबहादुर खड्का र शेरबहादुर देउवाले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले यसअघि महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । तर, खड्काले पुनरावलोकनको मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढेको भन्दै त्यसलाई छिटो टुंग्याउन आग्रह गरिरहेका छन् ।
यही कानुनी अवस्थाका कारण खड्का स्वयं महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका हुन् । तर, उनका पक्षका नेता भने प्रतिनिधि बनेर महाधिवेशनमा सहभागी भइरहेका छन् । यसले कर्णालीमा एउटा महत्वपूर्ण राजनीतिक समिकरण निर्माण गरेको छ । खड्काको संगठनात्मक प्रभाव प्रतिनिधिमा देखिने, तर खड्का स्वयं महाधिवेशनको मञ्चमा नदेखिने अवस्था बनेको छ ।
अब १० वटै जिल्लाबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिले कर्णालीको वास्तविक शक्ति समीकरण देखाउनेछन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भने विवादका कारण अधिवेशन हुन सकेको छैन । बाँकी क्षेत्रमा भने प्रक्रिया अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।
आगामी १३ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन भइसक्ने भएपछि कर्णालीबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयनमा सहभागी हुने प्रतिनिधिको राजनीतिक ग्राफ देखिने छ । अहिलेको प्रारम्भिक परिणामले खड्का पक्षीय नेताहरूको प्रभाव देखाए पनि त्यसलाई खड्काको व्यक्तिगत निर्णयसँग जोडेर निष्कर्ष निकाल्न हतारो हुने कांग्रेसकै नेताहरुले बताइरहेका छन् ।
खड्का अदालतमा छन्, उनका नेता महाधिवेशनको मैदानमा छन् र देउवा समूह छुट्टै मैदान तयार गर्दैछ । यही त्रिकोणले कर्णाली कांग्रेसको १५ औँ महाधिवेशनमा शक्ति प्रर्दशन हुने निश्चित छ । महाधिवेशन प्रतिनिधिका एक उम्मेदवारका अनुसार कर्णालीबाट खड्का र सभापति गगन थापा पक्षका प्रतिनिधि बराबरी जाने सम्भावना औल्याउँछन् ।
यसमा थापाको पक्षमा अलि बढि खुल्ने सम्भावना रहेको उनको दावी छ । उनले दैलेख, कालीकोट, जुम्ला, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट गगन पक्षिय प्रतिनिधि बढी जाने बताए । उनले कर्णालीमा खड्कासँगै जीवनबहादुर शाहीको पनि प्रभाव रहेकाले खड्का समूहका प्रतिनिधि धेरै हुने दावी गरे ।
उनका अनुसार खड्काले आफु सहभागि नहुने तर कार्यकर्तालाई महाधिवेशनमा सहभागि हुन ढाढस् दिइरहेका छन् । उनले आगामी महाधिवेशनमा खड्काले दोहोरो भूमिका निभाएको आरोप लगाए ।
‘महाधिवेशनमा सहभागि हुँदैन पनि भन्ने, कार्यकर्तालाई रुख र तारामै छुँ भनेर उहाँले दोहोरो भूमिका खेलको देखिन्छ,’ ति नेता भन्छन्, ‘यसले आफुले गरेका कामको अपजस लिन खोजेको देखिन्छ । उहाँ (खड्का) गगनलाई सभापति पनि नमान्ने र देउवा समूहमा पनि नदेखिने रणनीतिमा हुनुहन्छ ।’






