धानको भण्डार बर्दियामा १४ प्रतिशतभन्दा बढी बालबालिका कुपोषित
बर्दिया, ३ असोज ।
धान उत्पादनका लागि देशमै परिचित बर्दिया जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन भए पनि पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था भने चिन्ताजनक देखिएको छ । जिल्लामा गरिएको पोषण परीक्षणमा पाँच वर्षमुनिका १४.३२ प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको हो ।
कृषि उत्पादनका हिसाबले समृद्ध मानिने बर्दियामा बालबालिकाले आवश्यक र सन्तुलित पोषणयुक्त खाना नपाउनु, खानपानमा विविधता नहुनु तथा गर्भावस्थादेखि नै आमाको स्वास्थ्य र पोषणमा पर्याप्त ध्यान नदिनुलगायतका कारण कुपोषणको समस्या कायमै रहेको स्वास्थ्यकर्मी बताउँछन् । घरमा खाद्यान्नको उपलब्धता भए पनि बालबालिकाको उमेर र आवश्यकताअनुसार पोसिलो खाना खुवाउने अभ्यास कमजोर हुँदा समस्या देखिएको उनीहरूको भनाई छ ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जिल्लामा बालबालिकाको कुपोषणको अवस्था गम्भीर रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पाँच वर्षमुनिका बालबालिकामा १० देखि १५ प्रतिशतसम्म कुपोषण देखिनुलाई गम्भीर अवस्थाका रूपमा लिइने भएकाले बर्दियामा कुपोषण घटाउन थप प्रभावकारी योजना आवश्यक रहेको उनले जनाए ।
“हाम्रो जिल्लामा कुपोषणको दर १४ प्रतिशतभन्दा माथि छ । त्यसैले कुपोषण घटाउन तत्काल फरक ढङ्गले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ,” गौतमले भने । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँच वर्षमुनिका २० हजार ९८५ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये तीन हजार २६ जना अर्थात् १४.३२ प्रतिशतमा कुपोषण देखिएको हो। तीमध्ये ४१९ जना बालबालिकामा कडा र दुई हजार ६०७ जनामा मध्यम खालको कुपोषण पाइएको छ ।
परीक्षण गरिएका बालबालिकामध्ये १७ हजार ९५९ जनाको पोषण अवस्था भने सामान्य रहेको स्वास्थ्य कार्यालयकी सूचना अधिकारी पद्माकुमारी श्रेष्ठले बताए । उमेरअनुसार बालबालिकाको तौल र उचाइ मापन गरी पोषण अवस्थाको पहिचान गर्ने गरिएको उनले जनाए ।
स्थानीय तहगत तथ्याङ्क हेर्दा गुलरिया नगरपालिकामा कुपोषित बालबालिकाको दर सबैभन्दा बढी देखिएको छ । गुलरियामा पाँच वर्षमुनिका १८.१ प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ। त्यसपछि ठाकुरबाबा नगरपालिकामा १५.९५, मधुवन नगरपालिकामा १५.४, बारबर्दिया नगरपालिकामा १४.४६ र राजापुर नगरपालिकामा १४.१२ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ ।
त्यसैगरी बढैयाताल गाउँपालिकामा १२.६, बाँसगढी नगरपालिकामा ११.२४ र गेरुवा गाउँपालिकामा ११.२९ प्रतिशत बालबालिकामा कुपोषण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहका अनुसार कुपोषणको समस्या बालबालिकाको जन्मपूर्व अवस्थासँग पनि जोडिएको हुन्छ । कुपोषित आमाबाट जन्मिएका बालबालिकामा कुपोषणको जोखिम बढी हुने भएकाले गर्भावस्थादेखि नै आमाको पोषण र स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताए ।
“कतिपय बालबालिकाले आवश्यक मात्रामा पोसिलो खाना नपाउँदा कुपोषित हुने गरेका छन् । बालबालिकाको उमेरअनुसार सन्तुलित र विविधतायुक्त खाना खुवाउन परिवारले विशेष ध्यान दिनुपर्छ,” शाहले भने ।
कुपोषणको समस्या बर्दियामा नयाँ भने होइन। स्वास्थ्य कार्यालयको तथ्याङ्कले अघिल्ला वर्षमा पनि बालबालिकामा कडा कुपोषणको अवस्था उल्लेख्य रहेको देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा ४२९ जना र २०८०/८१ मा २८२ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको थियो ।
स्वास्थ्यकर्मीका अनुसार बालबालिकाको पोषण सुधारका लागि परिवारको खानपानमा परिवर्तनसँगै नियमित स्वास्थ्य परीक्षण, स्तनपान, पूरक खाना, सरसफाइ र बालबालिकाको नियमित वृद्धि अनुगमनलाई प्राथमिकता दिन आवश्यक छ । विशेषगरी स्थानीयस्तरमै उपलब्ध अन्न, दाल, हरियो सागसब्जी, फलफूल, अण्डा तथा अन्य पोषणयुक्त खाद्य पदार्थको उचित प्रयोग बढाउन सके कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको भनाई छ ।
स्वास्थ्य कार्यालयले मध्यम खालको कुपोषण भएका बालबालिकालाई सर्वोत्तम पिठो तथा कडा कुपोषण भएका बालबालिकालाई तत्काल प्रयोग गर्न सकिने उपचारात्मक खाद्य पदार्थ खुवाएर उपचार गर्ने गरेको जनाएको छ । स्वास्थ्यमा जटिलता देखिएका बालबालिकालाई भने थप उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने गरिएको छ ।
धान र अन्य खाद्यान्न उत्पादनमा अगाडि रहेको बर्दियामा बालबालिकाको पोषण अवस्था कमजोर देखिनुले खाद्यान्नको उपलब्धता मात्रै पर्याप्त नहुने र त्यसको सही प्रयोग, खानपानको विविधता तथा बालबालिकाको स्याहारमा समेत उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । कुपोषण न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रसँगै स्थानीय सरकार, परिवार, विद्यालय तथा समुदायको संयुक्त पहल आवश्यक देखिएको छ ।





