हुम्लाको हिल्सा नाका सुचारु गर्न माग

हुम्ला, २४ असोज ।
कोरोना त्रासका कारण २०७६ साल चैत ११ पछि बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका लामोसमयदेखि बन्द अवस्थामा रहेको छ । यो नाका बन्द भएको सात महिना भैसकेको छ । कोभिड–१९ संक्रमणलाई कारण देखाउदै छिमेकी देश चीनसँग जोडिएको हुम्लाको हिल्सा नाका सात महिनादेखि ठप्प भएपछि नेपाल–चनबिच हुँदै आएको आयात निर्यात नराम्रोसँग प्रभावित भएको देखिन्छ ।
यसले नेपाल–चीनको मैत्रीपूर्ण लगानी समेत रोकिएको र साना मझौला,ठूला व्यवसाय आर्थिक संकटमा परेका छन । हिल्सा नाका बन्द भएसँगै हिल्साका व्यवसायीदेखि प्रहरी,सशस्त्र प्रहरीलाई नुन, तेल लगायतका सामानहरुको समस्या देखिएको छ । सात महिनादेखि हिल्सा नाका आवतजावत बन्द भएसँगै प्रत्येक वर्ष मानसरोवर कैलाश दर्शन गर्न यो बर्ष कोहीपनि तीर्थयात्री गएनन् ।
चीनको ताक्लाकोटबाट भित्रिने दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामानहरु रोकिएका छन् । यसै सन्दर्भमा गत असोज २ गते छिमेकी देश चीनसँग जोडिएको हुम्ला जिल्लाको हिल्सा नाका सञ्चालन गराउन हुम्ला उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र बुझाएको थियो ।
तर स्थानीय प्रशासनले उद्योग वाणिज्य संघको मागलाई सुनुवाई समेत नगरेको उद्योग वाणिज्य संघ हुम्लाले जनाएको छ । विगत ७ महिनादेखि बन्द हिल्सा नाकालाई सहज बनाउन आग्रह गरेपनि केही सुनुवाई नभएको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङले बताए ।
हिल्सा नाका बन्दा हुदा हुम्लास्थित होटेल र पसलमा झण्डै पाँच करोड घाटा भएको होटेल संघ हुम्लाले जनाएको छ । लकडाउनले भारतीय तिर्थयात्री नआएपछि ६० लाखदेखि एक करोडसम्म घाटा भएको होटेल व्यवसायीहरुको भनाइ छ ।





