कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र वाहुवली विरुद्धको हो’

बाँके,१६ फाल्गुन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले फागुन २१ गते हुन गइरहेको चुनाव पैसावाला र वाहुवली विरुद्धको भएको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिका–२, बेताहनी शनिबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई स्पष्टसँग सन्देश दिँदै भने –’यो चुनाव साधारण होइन, यो चुनाव गलत शक्ति र पैसाको राजनीति विरुद्धको लडाइँ हो।’

राईले आफ्नो भाषणमा पैसाको प्रभाव र बाहुबलको राजनीति विरुद्ध कडा प्रहार गरे उनले भने–’कसैले पैसा र बलको भरमा चुनाव जित्छु भन्ने भ्रममा छ भने यो चुनावले उसलाई पाठ सिकाउनेछ। जनताको मत किन्न सकिँदैन।’ राईले मतदातालाई आफ्नो पार्टीको छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
समय अभावका कारण सबै घरमा पुग्न नसकेको स्वीकार्दै उनले कार्यकर्ताहरुलाई घरघरमा पुगेर मत माग्न निर्देशन दिए । ’म सबैको घरमा पुग्न सकिनँ, तर मेरो सन्देश प्रत्येक घरमा पुग्नुपर्छ–छाता चिन्हमा मतदान गर्नुहोस्, भ्रममा नपर्नुहोस्’– उनले भने। राईले जसपा छोडेर अन्य दलमा गएका केही उम्मेदवारहरुमाथि असन्तुष्टि व्यक्त गर्दै उनीहरूले मतदातालाई भ्रममा पार्ने प्रयास गरेको आरोप लगाए। उनले भने –’कमरुद्दिन राई कसैसँग मिलेको छैन। हामी आफ्नो बाटोमा स्पष्ट छौँ। छाता चिन्हमै मतदान गर्नुहोस्।’ राईले आफूलाई मधेशी तथा मुस्लिम समुदायको अधिकारका लागि लड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरे।

उनका अनुसार आफ्नो राजनीतिक यात्रा नै यस समुदायको पहिचान र अधिकारको लागि समर्पित छ। ’मधेशी र मुस्लिम समुदायको आवाज उठाउने व्यक्ति कमरुद्दिन राई हो उनले भने–’कसैले मलाई किन्न सक्दैन।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताए। ’यो व्यवस्था हाम्रो संघर्षबाट आएको हो।

यसलाई जोगाउनु हामी सबैको दायित्व हो’– उनले भने। राईले समुदायको नाममा राजनीति गर्नेहरूप्रति आक्रोश पोखे । उनले भने–’केही व्यक्तिहरूले मधेशी र मुस्लिम समुदायको नाममा राजनीति गर्छन्, तर काम गर्दैनन्। त्यस्ता व्यक्तिहरूलाई जनताले प्रसास्त गर्नुपर्छ।’ सभामा सहभागी स्थानीय बासिन्दाहरूले विकास, रोजगारी र सामाजिक न्यायका विषयमा आफ्नो अपेक्षा व्यक्त गरेका थिए। युवाहरू रोजगारीको अवसरको खोजीमा छन् भने महिलाहरू शिक्षा र स्वास्थ्य सेवामा सुधारको चाहना राखेका थिए ।






