इन्धन संकटको असर भान्सामा :तरकारीमा प्रतिकिलो पाँच रुपैयाँमाथिको मूल्यवृद्धि
ओम शाही
सुर्खेत, ६ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट शेयर गरिन । उक्त पोष्टमा उनले एक हातले पाकेको केरा समाएकी छन् भने, अर्को हातले केरातर्फ इङ्ग्ित गर्दै भनेकी छन्, ‘केरा नै केरा फल्ने देशमा एक दर्जनको तीन सय ५०, जताततै केरा नै केरा फलिरहेको देख्छु बारीभरि, तर पनि यति महँगो छ भनेर आजै थाहा भयो ।’ उनले कुनै फरक प्रसंगवस वा घटना विशेषमा बोलेकी थिइनन् ।
यो उनको सांकेतिक विरोध थियो, जो अहिले मध्यपूर्वको तनाव र सरकारको नीतिका कारण सर्वत्र बनेको चर्को मूल्यवृद्धि लक्षित थियो । मध्यपूर्वमा इरानमाथि अमेरिका र इजरायलले थालेको युद्धका कारण अहिले विश्वभर इन्धन आपूर्तिको श्रृंखला बिग्रिएको छ । विश्वको २० प्रतिश इन्धन आपूर्ति हुने स्टेट अफ हर्मुजमा इरानले अवरोध कायम राखेपछिको असर नेपाली उपभोक्ताको समर्ग दैनिकी चर्को मूल्यवृद्धिले ढाकेको छ ।
दैनिक उपभोग्यवस्तुहरु छोइनसक्नु बनेको उपभोक्ताको गुनासो छ । पेट्रोलियमजन्य पदार्थमा भइरहेको भारी मूल्यवृद्धिका कारण देशभरका उपभोक्ताहरुले जताततै मार खेपरिहेका छन् । उनीहरुको भान्सा अचाक्ली महंगिएको छ । महंगीको चपेटाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत पनि अछुतो छैन ।
स्थानीय उत्पादन कम हुने कर्णालीको खाद्य तथा तरकारी र फलफूलको बजार अन्य प्रदेश र भारतले धानेको छ । इन्धनमा भएको अस्वभाविक मुल्यवृद्धिले ढुवानी महंगो हुँदा दैनिक उपभोग्य सामग्रीको भाउ आकाशिएपछि विशेष गरी विपन्न वर्गका नागरिकहरु मारमा पर्न थालेका छन् ।
वीरेन्द्रनगर–३, कि संगिता विकको भान्सामा अहिले हरियो तरकारी खासै पाक्दैन । केही महिनाअघिसम्म सामान्य रहेको तरकारीको बजार भाउ पछिल्लो समय बढ्न थालेपछि हरियो तरकारी किन्न छाडेको उनी बताउँछिन् । ‘अहिले हरेक तरकारीको मूल्य पहिलेको भन्दा प्रतिकिलो पाँचदेखि १० रुपैयाँ बढेको छ,’ उनी भन्छिन्, ‘चामल, नुन, दाल, तेल र ग्यासको भाउ त भन्नै भएन ।’
वीरेन्द्रनगर–१, की सारदा खड्काको अनुभुति पनि उस्तै छ । जताततै भएको मुल्यवृद्धिले भान्सामा मात्र नभई हरेक वस्तु खरिदमा असर पर्न थालेको उनले बताइन । उनले यातायातको भाडासमेत बढ्दा समस्या भएको गुनासो गरिन् । विक र खड्का प्रतिनिधिमुलक पात्र मात्रै हुन, जो इन्धनमा भइरहेको चर्को मुल्यवृद्धिले देशभरका गृहणीको भान्सा दिनप्रतिदिन मंहगो बन्दै गएको छ ।
वीरेन्द्रनगरका साथै कर्णालीका अधिकांश जिल्लाको तरकारी तथा फलफूलको माग बुलबुले कृषि हाट बजारले धान्दै गर्दै आएको छ । उक्त हाटबजारमा कर्णाली प्रदेशका साथै अन्य प्रदेश र भारतबाट आउने तरकारी तथा फलफूलको आयात हुन्छ । यहीबाट कर्णालीका अन्य जिल्लामासमेत तरकारी तथा फलफूहरु जाने गर्छ ।
तर इन्धनमा भएको मुल्यवृद्धिले अहिले बुलबुले हाट बजार पनि महंगो बनेको छ । बुलबुले कृषि हाट बजारका व्यवस्थापक केशर रास्कोटीले ढुवानी मूल्य बढेपछि तरकारी तथा फलफूलको भाउ पनि दैनिक फरक पर्न थालेको बताउँछन् ।
व्यवस्थापक रास्कोटी मगर भन्छन्, ‘यो सिजनमा स्थानीयस्तरमा हरियो तरकारी कम उत्पादन हुन्छ । मागअनुसारको तरकारी आपूर्ति बाहिरबाटै हुनेगर्छ । विशेष गरी कर्णालीमा हरियो तरकारीहरु चितवनबाट आउँछ । इन्धनमा मुल्य बृद्धि भएसँगै ढुवानी महंगो पर्न थालेपछि तरकारीको मुल्य पनि बढ्न थालेको अवस्था छ ।’
पेट्रोलियम पदार्थमा भएको भारी मुल्यवृद्धिका कारण फलफूलको भाउ पनि बढ्न थालेको उनी बताउँछन् । इन्धनमा बढेको मुल्यका कारण दुरी अनुसार प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म तरकारी तथा फलफूल ढुवानीमा अतिरिक्त भाडा तिर्नु परिरहेको बुलबुले कृषि हाट बजारस्थित बिन्दु तरकारी मण्डीका सञ्चालक बखत शाही बताउँछन् ।
यसरी ढुवानीमा तिर्नुपरेको मूल्य तरकारीमा समायोजन गर्दा १० रुपैयाँसम्म भाउ बढेको शाहीले बताए । इन्धनको मूल्य नियन्त्रण नभए यो श्रृंखला बढ्दै जाने उनको भनाई छ । यसको सोझो असर उपभोक्तालाई पर्ने शाही बताउँछन् ।
‘अहिलेकै अवस्थामा पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि भएको खण्डमा उत्पादनको लागतसँगै ढुवानी खर्च बढ्ने हुँदा उपभोक्ताले चर्को मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ । हामीले उपभोक्तालाई राहत पुग्नेगरी तरकारी तथा फलफूल विक्रिवितरण गरिहेका छौं । तर यसैगरी इन्धनको मूल्य बढ्दै जादा चुनौती भने थपिने देखिन्छ,’ शाहीले भने ।
उपभोक्तालाई राहत हुने प्याकेज ल्याउन माग
इन्धन संकटको विश्वव्यापी असरले उपभोक्ताका दैनिक आवश्यकता परिपूर्तिमा असर परेकाले तत्काल विशेष प्याकेज ल्याएर भएपनि सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताउँछन् उपभोक्ता हित संरक्षण मञ्चका कर्णाली प्रदेश अध्यक्ष विन्दुलाल रेग्मी ।
‘अन्तराष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि हुँदा त्यसको असर हामी कहाँ पर्नु स्वभाविक हो । तर अरु बेलाभन्दा यो समय संकटको हो । सधैं मूल्यवृद्धि त हुँदैन । त्यस्तो बेलामा छुट दिनुको साटो आयाल निगमलाई मात्र जिम्मा दिएर सरकार पन्छिन खोजेको छ । यो उपभोक्ता अधिकारविपरितको कार्य हो,’ उनले भने ।
मूल्यवृद्धिको असर दैनिक उपभोग्य विक्रि वितरण हुने बजारदेखि शिक्षा, स्वास्थ्य, यातायात लगायत सम्पूर्ण क्षेत्रमा परिसकेकाले महंगीको प्रत्यक्ष मारबाट उपभोक्तालाई जोगाउने दायित्वबाट राज्य भाग्न नमिल्ने उनको धारणा छ । अन्तराष्ट्रिय तनावलाई देखाएर सरकार पन्छिन नहुने पनि उनले बताए ।





