इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने

कालीकोट, ६ वैशाख । 
जिल्लाको रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ । गत माघ ११ गतेको नेपाल सरकार मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार यहाँ स्थापना भएको कार्यालयबाट पहिलो पटक सेवा सुरु हुन लागेको हो ।
उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन तथा कार्ड वितरणलगायत काम हुनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवाहरूलाई छिटो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अब रास्कोटबाट प्रदान गरिने बताए ।
इलाका प्रशासन कार्यालयबाट रास्कोट नगरपालिका र  पलाँता, पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक लाभान्वित हुने उनले बताए । “यस व्यवस्थाले सेवाग्राहीलाई लामो यात्रा गरी जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम भई सहज रूपमा सेवा प्राप्त हुनेछ । त्यस क्षेत्रका करिब ५० हजार नागरिक लाभान्वित हुनेछन्‌”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने ।
रास्कोट नगरप्रमुख धर्मराज शाहीले लामो समयदेखि यस क्षेत्रको नागरिकले राख्दै आएको माग सम्बोधन भएकामा खुसी व्यक्त गरे । “यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ । त्यो माग पूरा भएको छ”, उनले भने, “अब यस क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले समय, खर्च र त्यससँग जोडिएका अन्य समस्या पनि समाधान हुनेछन् ।”
इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने

मधुवा रोगको समस्याले किसान चिन्तित

Leave a comment

Your email address will not be published. Required fields are marked *