सम्पादकीय : पैसा दिएर राउटेको जीवन रक्षा हुँदैन 

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीको टोली शनिबार पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ र लेकवेशी नगरपालिका–२, को सिमावर्ती क्षेत्र स्याला गोठेरी पुग्यो । जहाँ लोपोन्मुख राउटे समुदायको बसोवास छ । राउटे वस्तीमा गुराँस गाउँपालिकाको टोली पुग्नुको कारण अन्य नभई सरकारले लोपोन्मुख र सिमान्तकृत समुदायलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षावापतको रकम प्रदान गर्नु थियो ।
गाउँपालिकाको टोली झोलामा नगद पैसा बोकेर कपडाले छाएको र स्याउलाले बारेको वस्तीमा पुग्दा राउटे समुदायका मानिसहरु उत्साहित देखिन्थे । पालिकाका कर्मचारीहरुले राउटे समुदायका व्यक्तिहरुको नाम रुजु गरेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेपछि राउटे समुदायका महिला तथा पुरुषहरुले तछाड मछाड गरेर रकम बुझे । गाउँपालिका अध्यक्ष टोपबहादुर विसी, उपाध्यक्ष शिवा खड्का र प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जनही चार हजारका दरले तीन महिनाको प्रतिव्यक्ति १२ हजार नगद राउटे समुदायका महिला, पुरुष र बालबालिकालाई हस्तान्तरण गरे । पालिकाका अनुसार अनुसार राउटे समुदायका एक सय ३२ जनालाई १५ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तावापतको रकम दिइएको छ ।
राउटे समुदायलाई गुराँस गाउँपालिकाले परिचयपत्र दिएर आफ्‌ना नागरिकको दर्जा दिएको छ । सोही कारण पालिकाले तीन वा चार (अन्य समय आवश्यकताको आधारमा) महिनाको अवधिमा राउटेहरुलाई यसैगरी नगद रकम दिदै आएको छ । पछिल्लो समय राउटेहरुलाई दिइने नगदका कारण कमसल खाले मदिराको लत बसेकाले स्वास्थ्यमा गम्भीर असर पर्दै गएको भन्दै नगद दिन बन्द गर्नुपर्ने चौतर्फी उठेको आवाज यो समुदायका सबैले थाहा पाइसकेका छन् । त्यसैले उनीहरु मदिरा सेवन गरकै अवस्थामा भेटिएपनि हामी खादैनौं भन्ने जवाफ दिने गरेका छन् । जसका कारण मानव विकासका क्रममा ढुङ्गेयुगमै छुटेको राउटे समुदाय तीव्र विनासीकरणतर्फ उन्मुख भइरहेको छ । कुनै समय पैसा छोए पाप लाग्छ भन्ने राउेटहरु आफ्‌नै पौरखमा जिविकोपार्जन गर्थे । एकै ठाउँमा स्थायी बसोवास नगर्ने राउटेहरु वनमा पाइने कुकाठबाट घरायसी प्रयोजनका सामग्री बनाएर दैनिकी चलाउथे । काठबाट बनेका मदुस, पिर्का, कोशी बोकेर नजिकका वस्तीमा जाने र अन्न तथा तरकारीसँग साटेर वस्ती फर्कनु राउेटहरुको दैनिकी हुन्थ्यो । उनीहरुले जंगलमा पाइने बादर मारेर मासुको जोहो गर्थे ।
वनका कन्दमुल राउटे समुदायको छाक टार्ने मेसो बन्थे । अखाद्यवस्तुबाट टाढा रहने राउटे समुदाय झण्डै एक दशकअघिसम्म शारीरिकरुपमा तन्दरुस्त हुन्थे । उनीहरुको आफ्‌नै भाषा, संस्कृति र रहनसहन हुन्थ्यो । उनीहरु विशेषगरी सुर्खेत र दैलेखका जंगलमा बसाइँ सरि रहन्थे । तर यी सबै अहिले राउटे समुदायका लागि मिथक बनेका छन् । संरक्षणका नाममा राउटेमाथि गरिएको अव्यवहारिक लगानीले उल्टै विनासिने बोटमा उनीहरु छन् । यसर्थ, राउटे समुदायको संरक्षणको दायित्व बहन गर्ने नै हो भने सरकारले उनीहरुको जीवनरक्षा पहिलो प्राथमिकतामा राख्न आवश्यक छ । उनीहरूको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै राउटेको वेशभूषा, संस्कृतिको रक्षामा जोड दिइनु पर्दछ । राउटेको जीवनरक्षाका लागि स्वास्थ्य, सरसफाइ, शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्ने संयत्र निर्माण गर्न ढिला हुँदैछ । अर्को महत्वपूर्ण विषय सरकारले सामाजिक सुरक्षाको नाममा दिदै आएको भत्ताको नीति परिमार्जन गरी नगद प्रवाह रोक्नु पर्दछ । नगदको साटो दैनिक आवश्यकताका वस्तुहरु राज्यका निकायले बस्तीमै आपूर्ति गर्ने व्यवस्था मिलाउन सकेमात्रै राउटेको अस्थित्व जोगाउन सकिन्छ । उनीहरुलाई हानिकारक संस्कार र आनिबानीबाट बाहिर निकाल्न हस्तक्षेपकारी नीति पनि लिन आवश्यक देखिन्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।
सम्पादकीय : पैसा दिएर राउटेको जीवन रक्षा हुँदैन 

जुम्लामा चरेससहित युवक पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *