संघीय परिपत्रविपरीत कनकासुन्दरी: आजदेखि विद्यालय सञ्चालन
गाेल्डेन बुढा
जुम्ला,७ बैशाख ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा आजदेखि विद्यालय सञ्चालनमा आएका छन् । संघीय सरकारले वैशाख १५ देखि भर्ना अभियान सुरु गरेर २१ गतेदेखि पठनपाठन अघि बढाउन परिपत्र गरेपछि कनकासुन्दरीले आजदेखि पढाइ सुरु गरेको हो ।आइतबार बसेको कार्यपालिका बैठकले संघीय सरकारले गरेको निर्णयले शिक्षा क्षेत्रमा असर पर्ने भन्दै आजदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बैठकले आइतबार समेत बिदा नदिने निर्णय गरेको कार्यबहाक अध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् ।‘सरकारले वैशाख १५ देखि विद्यालय भर्ना अभियान चलाउने भनेको थियो,’ बुढाले भनिन्, ‘यसले हिमाली जिल्लाका विद्यालयमा नकारात्मक असर पार्ने भएकोले सोमबार (आज) देखि नै पठनपाठन सुरु गर्ने निर्णय गर्यौं ।जुम्लाका ८ वटै स्थानीय तहमध्ये वैशाख ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गर्ने कनकासुन्दरी पहिलो गाउँपालिका बनेको छ । एक नगरपालिका र सात गाउँपालिका छन्।हिमाली जिल्लाहरुमा पुस पन्ध्रदेखि माघ महिनाको ३० गते सम्म मिनपचास बिदा दिने चलन छ । अत्यधिक चिसो हुने भएकोले पठनपाठनसमेत हुन सक्दैन । ‘दशैं, तिहार लगायतका बिदाले झनै पढाइ प्रभावित बनाइरहेको हुन्छ,’ उनले भनिन्, ‘सबै हिसाबले संघीय सरकारको निर्णयले फाइदा नगर्ने भएकोले कनकासुन्दरीले आफू अनुकुलको निर्णय गरेर विद्यालय खोल्ने भएको हो ।’संघीय सरकारको निर्णय मान्दा पाठ्यघण्टा र पाठ्यक्रम अनुसारको पठनपाठन पूरा नहुनेसमेत गाउँपालिकाले निष्कर्ष निकालेको थियो । आजैदेखि विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षक विद्यार्थी सबैलाई जानकारी गराइसकेको छ । गाउँपालिकाले गरेको विद्यालय सञ्चालन सम्बन्धिको निर्णयको स्थानीयले स्वागत गरेका छन् ।यता कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवनबहादुर रोकायाले अहिले सरकारले तोकेको शैक्षिक सत्रले शैक्षिक गुणस्तर खस्किने देखिएपछि गाउँपालिकाले बाध्य भएर विद्यालय चलाउन थालेको बताए । उनका अनुसार वैशाख १ देखि नै पठनपाठन सुरु गर्ने निर्णय यसअघि नै गाउँ शिक्षा समितिले गरिसकेको थियो । तर संघीय सरकारको परिपत्र आइपुगेकोले अन्य भएको उनको भनाइ छ ।उनले भने, ‘सरकारको परिपत्र, यहाँको शैक्षिक अवस्था सबै हेरेर आजदेखि पढाउन सुरु गर्ने निर्णयमा पुगिएको हो ।’‘संघीय सरकारको परिपत्रको अपहेलना गरेका होइनौं,’ शिक्षा प्रमुख रोकायाले भने, ‘सबै हिसाबले त्यो परिपत्र प्रतिकूल देखिएकोले पढाइ सुरु गरेका हौं । रहरले होइन, कहरले पठनपाठन सुरु भएको हो ।’विद्यालयमा पाठ्यपुस्तकसमेत पुगिसकेका छन् । कनकासुन्दरीमा ३ वटा बालविकास केन्द्र, ७ वटा माध्यमिक विद्यालय र २० वटा आधारभूत विद्यालय गरेर ३० वटा विद्यालय छन् ।जिल्लाभरका सबै स्थानीयतहले एकपटक विद्यालय सञ्चालन गर्ने विषयमा छलफल चलिरहेको भए पनि अरुले खासै चासो नदेखाएको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।





