नेपाल –भारत सीमावर्ती वनमा हात्तीको आक्रमण, भैंसी गोठालो गएकी महिलाको मृत्यु

बर्दिया ,१७ पुस ।
नेपाल–भारत सीमावर्ती वन क्षेत्रमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरीको बुधबार दिउँसो हात्तीको आक्रमणमा परी ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिका पुरी अन्य तीन जनासँगै भैंसी चराउन वन क्षेत्रमा गएकी थिइन्। सोही क्रममा अचानक जंगली हात्ती देखिएपछि उनीहरूमध्ये दुई जना ज्यान जोगाउन सफल भए पनि बालिका पुरी भने हात्तीको आक्रमणमा परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार बुधबार दिउँसोदेखि खोजतलास गरिए पनि तत्काल शव फेला पार्न सकिएको थिएन। घटनास्थल आसपासको वन क्षेत्रमा प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीयवासीको संयुक्त टोलीले बिहीबार बिहानै पुनः खोजी कार्य सञ्चालन गरेको थियो।
डिभिजन वन कार्यालय, बर्दियाका अनुसार बिहीबार बिहान खोजीका क्रममा बालिका पुरीको शव फेला परेको हो। शव पोस्टमार्टमका लागि अस्पताल ल्याइँदै गरेको डीएसपी मल्लले जानकारी दिनुभयो।
पछिल्लो समय बर्दियाका सीमावर्ती तथा वन नजिकका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्वका घटनाहरू बढ्दै गएका छन्। वन क्षेत्रमा जीविकोपार्जनका लागि जाने स्थानीय बासिन्दा हात्ती, चितुवा लगायतका जंगली जनावरको आक्रमणको जोखिममा पर्ने गरेका छन्। यस घटनापछि स्थानीयवासीले वन्यजन्तु नियन्त्रण तथा बस्ती सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।






