सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका बीस जनाको उद्धार

महेन्द्रनगर, १६ जेठ ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ । यहाँको पुनर्वास नगरपालिका–९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ । पुनर्वास नगरपालिका–९ हरियालीटोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउराघाँस गर्न गएका १५ जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।
उदरमा सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीका साथै नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले सहयोग गरेका उनले बताए । मनसुन सुरु भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा एक्कासि पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकाले आमनागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले आह्वान गरेको छ ।






