मनसुन अघि जोखिम व्यवस्थापनमा जुम्लामा रेडक्रसकाे व्यापक तयारी

काली बहादुर परियार

जुम्ला ,१६ जेठ ।

मनसुन सुरु भए सँगै सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्जन्य घटनाको जोखिम बढ्न थाले पछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले पूर्वतयारीका कार्यक्रमलाई तीव्रता दिएको छ ।

जिल्लामा मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले रेडक्रसले स्थानीय तह तथा सरोकारवाला निकाय सँग समन्वय गरेर विभिन्न पूर्वकार्य अगाडि बढाएको हो।

रेडक्रसले विशेष गरी बस्ती क्षेत्र, बजार क्षेत्र तथा जोखिमयुक्त स्थानहरूमा रहेका ढल, खोला र नालाहरूको सरसफाइ, अवरुद्ध पानी निकास खुलाउने तथा थुप्रिएका लेदो, ढुंगा र फोहोर हटाउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

आगामी १५ दिन भित्र यस्ता गतिविधि सम्पन्न गर्ने गरी अभियान सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकी सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीका अनुसार मनसुनका कारण हुने सम्भावित विपद् बाट नागरिकलाई सुरक्षित राख्न पूर्वतयारीका कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताइन् ।

उनले स्थानीय तह, सुरक्षा निकाय, समुदाय तथा सम्बन्धित सरोकारवाला सँग सहकार्य गरेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको बताइन् । मनसुनजन्य घटनाबाट हुने क्षति कम गर्न समयमै तयारी आवश्यक छ। त्यसैले ढल, खोला तथा नालामा अत्यधिक थुप्रिएको लेदो र फोहोर हटाउने, पानीको निकास खुलाउने तथा जोखिमयुक्त स्थानको पहिचान गर्ने कामलाई प्राथमिकता दिएकाे सुवेदीले बताइन् ।

यस्तै, सामाजिक परिचालक करबिर बहादुर चन्दले जुम्ला सदरमुकामका केही स्थानमा नालाहरू अवरुद्ध हुँदा पानी सडकमै बग्ने समस्या देखिएको बताए । उनका अनुसार वर्षात्को समयमा यस्तो अवस्था थप जोखिमपूर्ण बन्ने भएकाले समयमै सरसफाइ र व्यवस्थापन आवश्यक रहेको बताए ।

धेरै ठाउँमा नालामा पानी नबगेर सडकमा बगिरहेको अवस्था छ । यसले सडक क्षति हुनुका साथै पैदलयात्री र स्थानीय बासिन्दालाई दुर्घटना निम्त्याउन सक्ने चन्दले बताए । उनले समुदायको सक्रिय सहभागिता बिना विपद् जोखिम न्यूनीकरण सम्भव नहुने भन्दै सरसफाइ तथा पूर्वतयारी अभियानमा सबैलाई सहयोग गर्न आग्रह गरे ।

मनसुनको समयमा जुम्लाका विभिन्न स्थानमा बाढी, पहिरो, सडक अवरुद्ध हुने तथा बस्ती जोखिममा पर्ने समस्या दोहोरिने गरेको छ। यही अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले समुदायस्तरमा सचेतना अभिवृद्धि, जोखिम पहिचान तथा विपद् प्रतिकार्यका लागि आवश्यक तयारीलाई समेत सँगसँगै अगाडि बढाएको जनाएको छ ।

मनसुन अघि जोखिम व्यवस्थापनमा जुम्लामा रेडक्रसकाे व्यापक तयारी

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर

मनसुन अघि जोखिम व्यवस्थापनमा जुम्लामा रेडक्रसकाे व्यापक तयारी

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका बीस जनाको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *