महिलाको सशक्तीकरण गर्न राज्य गम्भीर बन्नु पर्छ : प्रदेश प्रमुख जोशी

सुर्खेत, १६ जेठ ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीका महिलाहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा प्रदेश प्रमुख जोशीले कर्णालीका ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेकोप्रति चिन्ता व्यक्त गरे । उनले ती ३३ प्रतिशत महिलालाई साक्षर बनाउन तीनवटै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
जोशीले महिलाहरूको राजनीतिक र प्रशासनिक पहुँचका विषयमा चर्चा गर्दै उनले अब महिलाहरू समानुपातिक कोटामा मात्र सीमित नभई प्रत्यक्ष निर्वाचन लडेर नेतृत्व गर्न सक्ने भइसकेको बताए । जोशीले संविधान संशोधनको बहस चलिरहेका बेला महिलाहरूलाई ३३ प्रतिशतमा मात्र चित्त नबुझाई ५० प्रतिशत हिस्साका लागि माग गर्न र दबाब दिनसमेत आग्रह गरे ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समाजमा महिलाहरूको उपस्थिति र भूमिकामा ठूलो परिवर्तन आएको बताए । उनले प्रहरी, कर्मचारी प्रशासनदेखि राज्यका उच्च निकायमा महिलाहरूको नेतृत्व स्थापित हुनुले ठूलो अर्थ राख्ने उल्लेख गरे । कुनै समय छोरीलाई कमजोर र गरिब मानसिकताले हेरिने गरेकामा अहिले त्यसमा बदलाप आइसकेको उनले बताए ।
यस्तै, सम्मेलनको उद्घाटन सत्रमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको सक्षम तथा निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
श्री ज्योति फाउन्डेशनको आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले महिला अधिकारका लागि भएका ऐतिहासिक संघर्ष र प्राप्त उपलब्धिको संरक्षण गर्दै थप सशक्तीकरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले नेपालमा महिला अधिकार स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षको स्मरण गर्दै योगमाया न्यौपानेजस्ता अग्रणी महिलाले सती प्रथा, बालविवाह तथा अन्य सामाजिक कुरीतिविरुद्ध उठाएको साहसी आवाजले आजको परिवर्तनको आधार निर्माण गरेको बताइन् ।
नगर प्रमुख ढकालले २०६३ सालमा संसदबाट पारित ऐतिहासिक चारबुँदे घोषणाले महिलाको समान अधिकार र राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेको उल्लेख गर्दै त्यसले नेपाली महिलाको राजनीतिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको धारणा राखिन् ।
उनले महिला अधिकारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै पनि लैङ्गिक विभेद, हिंसा, असमान अवसर तथा सामाजिक कुरीतिका चुनौती कायम रहेको बताइन् । यस्ता चुनौतीको अन्त्यका लागि राज्य, समाज र परिवार सबै तहबाट सामूहिक प्रयास आवश्यक रहेको उनको भनाई थियो ।
महिलाहरू अब पीडा र उत्पीडनका कथामा मात्र सीमित नरही आफ्ना संघर्ष, सफलता र उपलब्धिका प्रेरणादायी कथामार्फत समाज परिवर्तनको नेतृत्व गर्न सक्षम भएको उनले बताइन् । महिलाको आत्मविश्वास, क्षमता र नेतृत्व विकासले मात्रै समतामूलक समाज निर्माण सम्भव हुने उनको धारणा थियो ।
ढकालले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताइन् । उनले कर्णालीका छोरीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न, आफ्नो क्षमता पहिचान गर्न र समाज तथा राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् ।






