जुम्लाका टंक गिरीलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

गाेल्डेन बुढा
जुम्ला,१६ जेठ ।
जुम्लाका स्याउ कृषक टंक गिरी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन्। कृषि क्षेत्रमा दीर्घकालीन योगदान, व्यावसायिक स्याउ खेतीको विस्तार तथा उत्पादन वृद्धि मार्फत रोजगारी सिर्जनामा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयले उनलाई उक्त सम्मान प्रदान गरेको हो।शुक्रबार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गिरीलाई नगद दुई लाख रुपैयाँ, मेडल, प्रमाणपत्र र दोसल्ला सहित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेका हुन्। मन्त्रालयका अनुसार कृषि पेशालाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउँदै खाद्य सुरक्षा, अर्थतन्त्र सुदृढीकरण तथा रोजगारी सिर्जनामा योगदान पुर्याउने कृषकलाई यस्तो सम्मान दिइँदै आएको छ।जुम्लाको गुठीचौर गाउँपालिका–३ तल्लो गुठीचौरमा गिरीले स्थापना गरेको स्याउ बगैंचा अहिले व्यावसायिक कृषिको सफल उदाहरणका रूपमा विकसित हुँदै गएको छ।

२०७९ सालमा सुरु गरिएको बगैंचा २०८० सालदेखि व्यावसायिक उत्पादनमा प्रवेश गरेको हो। बगैंचामा रेड, गाला र फुजी जातका गरी १५ हजार बिरुवा रहेका छन्।कुल ६५ हजार ५ सय वर्गमिटर (करिब २२ हेक्टर) क्षेत्रफलमा फैलिएको बगैंचाबाट गतवर्ष १ करोड १० लाख ८५ हजार रुपैयाँ आम्दानी भएको गिरीले बताए। सबै खर्च कटाएर ३५ लाख रुपैयाँ खुद बचत भएको उनको भनाइ छ। बगैंचा निर्माणमा हालसम्म ८ करोड ७५ लाख रुपैयाँ लगानी भइसकेको छ।उत्पादन विस्तारलाई लक्ष्य गर्दै आगामी वर्ष प्रति बोट ७ केजी स्याउ उत्पादन गर्ने योजना रहेको उनले बताए। उत्पादित स्याउ काठमाडौं हुँदै देशका विभिन्न बजारमा बिक्री तथा निर्यात हुँदै आएको छ।बगैंचामा हाल ७ जना कर्मचारी कार्यरत छन्।

मासिक १ लाख ६७ हजार रुपैयाँ तलब खर्च हुने गरेको छ। प्राविधिक, व्यवस्थापक तथा अन्य कर्मचारीहरूको पारिश्रमिक संरचना विभिन्न स्तरमा रहेको छ।पुरस्कार प्राप्तपछि गिरीले राज्यले कृषकको मेहनत र योगदानलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरेका छन्। उनले भने, “केजी २ सय रुपैयाँमा बिक्री भएको स्याउ काठमाडौंमा ३ सय ५० रुपैयाँसम्म पुगेको छ।”हिमाली टि एण्ड एन एग्रो फर्म प्रा.लि. दर्ता गरेका छन्।






