नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु, थारू समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयक पेश

दाङ ,१२ जेठ ।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढाएको हो ।
बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३९ को उपनियम (१) बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य ले‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सुरु गरेका हुन् ।
छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., निलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मिना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले भाग लिनुभयो । उहाँहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो ।
बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घर्तीमगर ले जानकारी गराउनुभएको थियो । प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ ।
थारु समुदायको प्रथाजनित विधेयक पेश
यसैबीच, बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’पनि पेश गरिएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवद्र्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या ७ लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्यांक छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ ।
बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न ११ जना प्रदेश सभा सदस्यहरूले आफ्ना धारणा राखेका थिए । प्रदेश सभाको अर्को बैठक जेठ १३ गते बुधबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु, थारू समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयक पेश

लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित विधेयक

Leave a comment

Your email address will not be published. Required fields are marked *