भालु आतंकले जुम्ला त्रसित

गाेल्डेन बुढा

जुम्ला,८ असार।
जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोटस्थित सामुदायिक वन क्षेत्रमा सोमबार बिहान भालुले आक्रमण गर्दा दुई वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा अझै बेपत्ता छन्। स्थानीय वखतबहादुर बुढथापा र बलबहादुर बुढथापाको संयुक्त बाख्रा गोठमा जंगली भालुले आक्रमण गरेको हो। राफैस्थित सामुदायिक वनमा रहेको उक्त गोठमा ४३ वटा बाख्रा राखिएका थिए। प्रहरीका अनुसार भालुले गोठमै पसेर बाख्रामाथि आक्रमण गरेको थियो। घटनापछि क्षेत्रमा त्रास फैलिएको छ।यो घटना जुम्लामा पछिल्लो समय बढ्दो मानव–भालु द्वन्द्वको अर्को कडी बनेको छ। पछिल्ला केही महिनामा मात्रै भालुले मानिसमाथि आक्रमण गर्ने, भेडाबाख्रा मार्ने र बस्ती नजिकै देखिने घटनामा उल्लेख्य वृद्धि भएको छ। जंगलसँग प्रत्यक्ष जोडिएको ग्रामीण जीवनशैलीका कारण स्थानीयहरू दैनिक जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य छन्।गत जेठ ६ गते बिहान गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा दैनिकझैँ भेडाबाख्रा लिएर छल्लाटिया खोलातर्फको राष्ट्रिय जंगल पुगेका थिए। त्यही क्रममा जंगलबाट निस्किएको भालुले एक्कासी उनीमाथि आक्रमण गर्‍यो। दुर्गम जंगलमा भएको आक्रमणपछि उनी रगताम्य अवस्थामा ढले। घटनास्थल नजिक रहेका स्थानीयले चिच्याहट सुनेपछि मात्रै अवस्था थाहा पाए। स्थानीय र प्रहरीको संयुक्त प्रयासमा उनको उद्धार गरियो। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो।त्यसको १२ दिनपछि अर्थात् जेठ १८ गते गुठिचौर गाउँपालिका–४ थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ वटा भेडा मारिए। स्थानीय कृषक नरेन्द्र अधिकारीका भेडा रातिको समयमा गोठमा हुलेका बेला भालु पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनापछि पाँच वटा भेडा बेपत्ता भए भने २९ वटा भेडा सकुशल भेटिए। प्रति भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने भएकाले किसान अधिकारीले मात्र एक लाख ४४ हजार रुपैयाँ बराबरको क्षति व्यहोरे।भालुको आक्रमणबाट मानिस घाइते हुने घटना पनि निरन्तर दोहोरिइरहेका छन्। गत वर्ष असोजमा तातोपानी गाउँपालिका–४ गिडीरिखोलास्थित आफ्नै स्याउ फार्ममा काम गरिरहेका १८ वर्षीय दीपेन्द्र न्यौपानेमाथि भालुले आक्रमण गरेको थियो। टाउको, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि प्रतिष्ठान पुर्‍याइएको थियो।सोही दिन गुठिचौर गाउँपालिका–५ धिता गाउँकी ५५ वर्षीया झापु धिताल घाँस काट्ने क्रममा जंगलमै भालुको आक्रमणमा परिन्। उनको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। त्यसको अघिल्लो दिन मात्रै गुठिचौर–३ नानीपातल जंगलमा घाँस काट्न गएकी ४५ वर्षीया बुङ्ची कामी र उनकी १६ वर्षीया छोरी तिर्सना कामीमाथि पनि भालुले आक्रमण गरेको थियो।यी घटनाले जुम्लाका ग्रामीण बस्तीमा जंगल अब केवल प्राकृतिक स्रोतको क्षेत्र मात्रै नभई जोखिमको भूगोल बन्दै गएको संकेत गरेका छन्। वन क्षेत्रको घट्दो प्राकृतिक सन्तुलन, डढेलो, अनियन्त्रित वन विनाश, खाद्य संकट र जलवायु परिवर्तनका कारण वन्यजन्तुको बासस्थान प्रभावित भइरहेको जानकारहरू बताउँछन्। जंगलभित्र पर्याप्त आहारा नपाउँदा भालुहरू बस्ती र गोठतर्फ आकर्षित हुन थालेका छन्।अर्कोतर्फ जुम्लाका अधिकांश ग्रामीण परिवारको जीविका अझै जंगलमै निर्भर छ। घाँस, दाउरा, जडीबुटी सङ्कलन, पशुचौपाया चराउने काम तथा खेतीपातीको चक्र जंगलसँग गाँसिएको छ। त्यसैले जंगलबाट टाढा रहने विकल्प स्थानीयसँग छैन। विशेषगरी महिलाहरू सबैभन्दा बढी जोखिममा छन्। बिहान अँध्यारोमै घाँस काट्न जाने, एक्लै जंगल पसेर दाउरा बोक्ने तथा दिनभर वन क्षेत्रमा श्रम गर्नुपर्ने बाध्यताले उनीहरूलाई प्रत्यक्ष जोखिममा पुर्‍याएको छ।२०७८ साल साउन २७ गते जुम्ला सदरमुकाम खलंगामै बिहान साढे ४ बजे पसल खोल्न गएका हिमराज रोकाया र निर्मला रोकायामाथि भालुले आक्रमण गरेको घटना अझै स्थानीयले बिर्सिएका छैनन्। सदरमुकामसम्म भालु पुग्नु सामान्य घटना नभएको स्थानीय बताउँछन्। त्यसयता ‘भालु अब जंगलमै सीमित छैन’ भन्ने बुझाइ गाउँगाउँमा गहिरिएको छ।बढ्दो क्षतिलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय जुम्लाले वन्यजन्तुबाट प्रभावित पीडितलाई राहत वितरण गरिरहेको छ। कार्यालयका अनुसार यसै वर्ष हिमाली कालो भालुको आक्रमणबाट प्रभावित नौ जनालाई कुल ३० लाख ९ हजार ६ सय रुपैयाँ राहत वितरण गरिएको छ।डिभिजनल वन अधिकृत भरतबहादुर बुढथापाका अनुसार तातोपानी गाउँपालिका–४ डिगिखोलाका दीपेन्द्र न्यौपानेलाई ७७ हजार ६ सय २० रुपैयाँ, चन्दननाथ नगरपालिका–३ सिम्खाडाका रामशरण उपाध्यायलाई ४० हजार रुपैयाँ, गुठिचौर गाउँपालिका–३ गज्र्याङ्कोटका बुङ्ची कामीलाई ६० हजार ६ सय ४२ रुपैयाँ तथा गुठिचौर–५ धितागाउँकी झापु धितालाई पाँच हजार ७ सय ४४ रुपैयाँ राहत प्रदान गरिएको छ।यस्तै हिमा गाउँपालिका–५ बाजागाडका हरिचन्द्र रोकायालाई २० हजार रुपैयाँ, चन्दननाथ नगरपालिका–२ का रामकृष्ण बुढथापालाई पाँच हजार रुपैयाँ, सोही वडाका लालबहादुर बुढथापालाई ७० हजार रुपैयाँ, चन्दननाथ नगरपालिका–३ का राजेन्द्रबहादुर बुढथापालाई २० हजार रुपैयाँ तथा चन्दननाथ–८ का लोकबहादुर रोकायालाई १० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ।वन कार्यालयका अनुसार जंगली वन्यजन्तुको आक्रमणबाट कसैलाई शारीरिक चोटपटक लागेको, कसैका घरपालुवा पशु मरेका तथा मकैबालीमा क्षति पुगेकाले प्रचलित नियमअनुसार राहत वितरण गरिएको हो। कार्यालयले विशेषगरी भेडाबाख्रा चराउन जंगल क्षेत्रतर्फ जाने किसान तथा गोठालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।जुम्लामा भालुको आक्रमणका घटना बढ्दै जाँदा स्थानीयमा त्रास गहिरिँदै गएको छ। वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्ने प्रभावकारी उपाय तत्काल खोज्न नसकिए जंगल र बस्तीबीचको द्वन्द्व अझ जटिल बन्दै जाने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *