जुम्लाका राजन रोकायले जिते एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधी

सुर्खेत ,८ असार ।
एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधी जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत आज भएको २१ किलोमिटर दौड रोकायले एक घण्टा नौ मिनेट ३१ सकेण्डमा पुरा गरी उपाधी हात पारेका हुन् । रोकायले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका छन् । एक्सट्रिम इनर्जी ड्रिंक टाइटल स्पोन्सर रहेको प्रतियोगितामा कालीकोटका विनोद रोकाय दोस्रो र विभागीय टोली एपिएफका गोपिचन्द्र पार्की तेस्रो भए ।

यस्तै, महिलातर्फको १० किलोमिटर दौडको उपाधी धादिङकी सन्तोषी श्रेष्ठले हात पारिन । उनले निर्धारित दुरी ३६ मिनेटमा पुरा गरिन । उक्त दौडमा जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र बाजुराकी सिर्जना पाण्डे तेस्रो भइन । महिलातर्फको पाँच किलोमिटर दौडको उपाधी सुर्खेतकी कृष्णा रानाले हात पारिन । उनले निर्धारित दुरी २० मिनेटमा पुरा गरिन । यस्तै, पुरुषतर्फ पाँच किलोमिटर दौडमा कालीकोटका अनिल शाही प्रथम भए । विजेता खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार राशीले सम्मान गरेकी थिइन ।
‘दौडिन्छ कर्णाली’ नारालाई मूर्त रूप दिन कर्णाली खेलकुद विकास परिषद्को अनुरोधमा विगत दुई वर्षदेखि मिड वेस्टर्न फिटनेश सेन्टरले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *