सीमामा लागूऔषधविरुद्ध कडाइ : रुपईडीहामा ५३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

बाँके ,४ साउन  ।

 भारत–नेपाल सीमास्थित रुपईडीहामा ५३ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

गयराति रुपईडीहा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका ३८ वर्षीय शमीम अहमदलाई नियन्त्रणमा लिएको हो।

रुपईडीहा प्रहरीका प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रका अनुसार खानतलासीका क्रममा शमीमको साथबाट ५३ ग्राम ब्राउन सुगर, २०० भारतीय रुपैयाँ तथा १०० नेपाली रुपैयाँ बरामद गरिएको छ।

पक्राउ परेका शमीम रुपईडीहाको विवेकानन्द नगरस्थित चिकवन टोलाका बासिन्दा हुन्। भारतीय प्रहरीका अनुसार उनीविरुद्ध यसअघि पनि लागूऔषधसम्बन्धी तीन वटा तथा हतियार ऐनअन्तर्गत एक मुद्दा दर्ता भइसकेको छ।

भारतीय प्रहरीले शमीमविरुद्ध लागूऔषध नियन्त्रणसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

भारत–नेपाल खुला सीमालाई प्रयोग गरी हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *