सुर्खेतमा बढ्दै जघन्य अपराधको ग्राफ 

ओम शाही

सुर्खेत, ४ असार ।

सुर्खेतमा जघन्य अपराधसँगै साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार जबरजस्ती करणी, लागूऔषध, बैंकिङ कसुर, ठगी र विद्युतीय माध्यमबाट हुने अपराधमा वृद्धि देखिएको छ । प्रहरीको त्रिवर्षीय तथ्यांकलाई केलाउने हो भने १० वर्ष भन्दाबढी सजाय हुने अपराधको ग्राफ बढ्दै गएको देखिन्छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा ०.१४ प्रतिशतले अपराध बढेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा १.१५ प्रतिशतले अपराध बढेको छ । 

प्रहरीको तथ्यांक अनुसार जिल्लाभर तीन आर्थिक वर्षको अवधिमा दुई हजार तीन सय तीन जघन्य अपराधका मुद्दा दर्ता भएका छन् । जसमा आर्थिक वर्ष २०८०/०८१ मा आठ सय ३०, आर्थिक वर्ष २०८१/०८२ मा आठ सय २४ र गत आर्थिक वर्ष २०८२/०८३ मा नौ सय ४९ जघन्य अपराध सम्बन्धिका मुद्दा प्रहरी कहाँ आइपुगेका छन् । 

यी मुद्दा जिल्ला प्रहरी कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु र इलाका प्रहरी कार्यालय बाबियाचौरमा दर्ता भएका हुन् । तीन आर्थिक वर्षको अवधिमा अपराधिक कार्यमा संलग्न भएको आरोपमा पाँच सय ४६ जना पक्राउ परेका छन् भने ६ सय ६४ जना फरार छन् । 

प्रहरीको तथ्यांकलाई केलाउने हो भने सुर्खेतमा वर्षेनी जबरजस्ती करणी सम्बन्धिका अपराध बढ्दै गएको देखिन्छ । जबरजस्ती करणीपछि ज्यान मार्ने उद्योग सम्बन्धिका अपराध भएकोे देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ८५ वटा जबरजस्ती करणी सम्बन्धिका मुद्दा प्रहरीकहाँ दर्ता भएका छन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६८ र गत आर्थिक वर्र्ष २०८२/०८३ मा ९१ वटा जबरजस्ती करणी सम्बन्धिका मुद्दा दर्ता भएका छन् । 

यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा २१ वटा ज्यान मार्ने उद्योग सम्बन्धि अपराधमा प्रहरीले मुद्दा चलाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १६ र गत आर्थिक वर्षमा २२ वटा ज्यान मार्ने उद्योग सम्बन्धिका मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । प्रहरी प्रमुख पोखरेलले कतिपय अवस्थामा नजानेर कानुनको उल्लंघन भइरहेपनि प्रहरीमा दर्ता भएका अधिकांश मुद्दामा देखासिकी र अपराधिक मानसकिता जोडिएको बताए । 

प्रहरीले कानुन कार्यान्वयनको पाटोमा सचेतनाका कार्यक्रमलाई पनिँसगै लगेको उनले बताए । तर, अझै पनि नागरिकमा कानुनी साक्षरताको कमी रहेको उनले बताए । ‘आत्महत्या/लागूऔषध सम्बन्धी कार्ययोजना बनाई जनसचेतनात्मक कार्यक्रम, नागरिक सुनुवाई, पीडितसँग पुनः भेटघाट, बाल मैत्री कक्षको निर्माण/व्यवस्थापन, लागूऔषध कारोवार र सेवन हुने स्थानको पचिान गरी स्वीप अपरेसन, लागुऔषध सेवनकर्ताको पहिचानमा लागुऔषध परीक्षण किटका माध्यमबाट अपराध नियन्त्रय गर्ने प्रयास प्रहरीले गरिरहेको छ,’ पोखरेलले भने ।

लागुऔषध र आर्थिक अपराधमा बृद्धि 

सुर्खेतमा पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले संगठित तथा आर्थिक अपराधका घटना बढ्दै गएका छन् । यस अवधिमा संगठिन तथा आर्थिक अपराध सम्बन्धिका ९१ मुद्दा दर्ता भएका छन् । जसमा ठगी सम्बन्धिका मुद्दा धेरै छन् । 

गत वर्ष दर्ता भएका नौ सय ४९ मुद्दा मध्ये बैंकिङ कसुर सम्बन्धिका मात्रै एक सय ६६ मुद्दा छन् । बैंकिङ कुसरपछि दोस्रोमा लागुऔषध सम्बन्धिका मुद्दा बढी छन् । गत वर्ष प्रहरीले एक सय ५८ लागुऔषध सम्बन्धिका मुद्दा चलाएको छ । 

त्यस्तै, अपराधिक लाभमा ११, अभद्र व्यवहारमा ८३, कर्तव्य ज्यान कसुरमा नौ र चोरी सम्बन्धिका ३९ मुद्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका छन् । नकबजनी चोरी दुई, जबरजस्ती करणी ९१, ज्यान मार्ने उद्योग २२, ज्यान सम्बन्धी कसुर (झुण्डिएर मृत्यु) ९४, ठगी १८, बहुविवाह २४, भवितव्य ज्यान सम्बन्धि ५२, सवारी ज्यान सम्बन्धि ३१, सवारी भवितव्य ६, सवारी अंगभंग सम्बन्धि अपराधका पाँच मुद्दा दर्ता भएका छन् । 

गत वर्ष राष्ट्रसेवक कर्मचारीलाई बाधा पुर्‍याउने एक जनामाथि पनि मुद्दा चलेको छ । यस्तै, पशुपन्छी सम्बन्धी कसुर एक, बोक्सी सम्बन्धीको कसुर एक, जुवा आठ, जबरजस्ती करणी उद्योग १२, डाँका चोरीमा चार, नागरिकता ऐन सम्बन्धी कसुर दुई, फुटकर ज्यान ४५, बालयौन दुरुपयोग पाँच, आत्महत्या दुरुत्साहन १०, लिखत सम्बन्धी कसुर १२ र विषादी सेवन सम्बन्धिका १३ मुद्दा दर्ता भएका छन् । 

गत वर्ष व्यक्ति बेपत्ता सम्बन्धि दुई, अपराधिक उपद्रव चार, अनलाइन सट्टाबाजी एक, गर्भ संरक्षण विरुद्धको कसुर एक, राष्ट्रिय परिचयपत्रको दुरुपयोग एक, विद्युतीय कारोबार ऐन २०६३ विपरितका पाँच, नेपाल राष्ट्र बैंक सम्बन्धी कसुर एक, एसिड (तेजाब) प्रहार सम्बन्धी एक, शिक्षा सम्बन्धी कसुर एक र हातहतियार खरखजाना तथा लागुऔषध सम्बन्धिका सात मुद्दा प्रहरी कहाँ दर्ता भएका छन् । 

बढ्दै साइबर अपराध

प्रहरीको तथ्यांक अनुसार गत वर्ष मात्रै सुर्खेतमा साइबर अपराध सम्बन्धिका सात सय ९१ मुद्दा दर्ता भएका छन् । जसमा विद्युतिय माध्ययमबाट ठगी तीन सय १२, फेसबुक ह्याक एक सय ३० र मोबाइल चोरीका तीन सय ४९ मुद्दा प्रहरी कहाँ दर्ता भएका छन् । 

कुल दर्ता मध्ये हालसम्म विद्युतिय ठगीका ३६ मुद्दा फर्छर्यौट भएका छन् भने दुई सय ७६ मुद्दा प्रक्रियामा छन् । त्यस्तै, फेसबुक ह्याकसम्बन्धिका एक सय २९ मुद्दा प्रक्रियामा छन् । ५८ वटा मोवाइल चोरी सम्बन्धिमा मुद्दा फर्छर्यौट हुँदा दुई सय ९१ मुद्दा प्रक्रियामा रहेको देखिन्छ । पछिल्लो समय विद्युतिय माध्यमबाट हुने अपराधमा बृद्धि हुँदै गएकाले सचेत रहन प्रहरीको आग्रह छ । 

सुर्खेतमा बढ्दै जघन्य अपराधको ग्राफ 

सम्पादकीय :  सत्ता समीकरणभन्दा माथि जनहित

सुर्खेतमा बढ्दै जघन्य अपराधको ग्राफ 

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *