बाढी र पहिरोको चपेटामा  भूकम्प पीडितका अस्थायी टहरा

ओम शाही

सुर्खेत, ३० भदौ ।

१७ कार्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले घर ढालेपछि पुनर्निमाणको पर्खाइमा रहेका नागरिकहरुका अस्थायी टहरा बाढी र पहिरको चपेटामा पर्न थालेका छन् । एक सय ५४ जनाको ज्यान लिनेगरी गएको विनासकारी भूकम्पबाट जाजरकोटका भेरी र नलगाड नगरपालिले ठुलो क्षति ब्यहोरेका थिए । 

भूकम्प गएको तीन वर्ष पुग्न लाग्दासमेत सरकारले गर्ने भनेको पुनर्निमाण र प्रवलीकरणको कामले गति नलिदा अस्थायी टहरोमा सीमित हुन पुगेका नागरिक अहिले बाढी र पहिरोले पुनः विस्थापित हुन थालेका छन् । सोमबार मात्रै नलगाड नगरपालिका वडा नम्बर १ र २ को बिचमा पर्ने बौलाह खोलामा वर्षापछि आएको बाढीले झण्डै सात बढी भूकम्प पीडितका अस्थायी आवासमा ठुलो क्षति पर्‍याएको छ । 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाका अनुसार बाढीका कारण मानविय क्षति हुनबाट जोगिएको छ, भेरी करीडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड पुर्णरुपमा अवरुद्ध बनेको छ । बौलाह खोलाको बाढीले  नलगाड–१, बैरितालका मानबहादुर विकको तीन कोठे अस्थायी टहरा पूर्णरूपमा बगाएको उनले बताए । 

त्यस्तै, सोही ठाउँका बविता महराको अस्थाई टहरा र किराना पसल, कृष्ण महरको १ कोठे अस्थाई टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थाई टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थाई टहरामा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीबाट स्थानीय बलबहादुर विकको किराना पसल भएको अस्थायी टहरामा पनि पूर्णरुपमा क्षति पुगेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । 

उनका अनुसार स्थानीय जनक भण्डारीको अस्थायी टहरामा रहेको फ्रेस हाउस र फ्रेस हाउसमा रहेका झण्डै एक बढी बोइलर कुखुरा बाढीले बगाएको छ भने दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति पुगेको छ । 

त्यस्तै, स्थानीय छवि महरको भे १ ह २६३३ नम्बरको अटो र हिरालाल घर्तीको ग १ त ७२ ७८ नम्बरको ट्याक्टर माटोले पुरी आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बाढीले नलगाड–२, का सत्यदेव चनाराको पानीघट्ट पूर्णरूपमा बगाएर क्षति पुर्‍याएको छ । 

भूकम्पपछि सरकारले पुनर्निर्माणमा ध्यान नदिदा अस्थायी टहरोमा बस्न बाध्य नागरिकलाई बाढीले पुनः विस्थापित बनाएको छ । पुनर्निमाणको पर्खाइमा रहेका भूकम्प पीडितको अस्थायी टहरो पनि बाढीले तहसनहस बनाएपछि स्थानीयलाई बासको पिर थपिएको छ । 

बाढी र पहिरोको सन्नाटा नलगाडमा मात्र सीमित छैन । गएको ३० साउनमा परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका– २, रिसाङ गाउँको सिरानबाट आएको पहिरोले तीन सय २३ घर प्रभावित बनेका थिए । त्यस दिनको पहिरोमा चार जनाले ज्यान गुमाए भने ११ जना घाइते भए । 

पहिरोमा पुरिएर भेरी नगरपालिका–२, चिसापानीका ७४ वर्षीय भीमबहादुर कार्की, केदारबहादुर कार्की तथा सोही वडाको फारुला गाउँका उमाप्रसाद खत्री र रती खत्रीले ज्यान गुमाए । पहिरोले घर बस्न लायक नभएपछि अहिले प्रभावित चार सय ६९ नागरिकलाई विभिन्न स्थानमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरेर राखिएको छ । सेल्टरमा बस्नेमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संख्या बढी छ ।

भेरी नगरपालिकाको विपद् शाखाका प्रमुख यज्ञप्रसाद गौतमका अनुसार एक सय ३३ बालबालिका, पाँच गर्भवती महिला र पाँच अपांगता भएका व्यक्तिहरू सेल्टरमा आश्रय लिइरहेका छन् । उनका अनुसार पहिरोका कारण तीन सय २३ घर प्रभावित भएका छन् । रिसाङ गाउँका १२, स्याँलाका एक र कोलचौरका एक गरी १४ घरमा पूर्ण रूपमा पहिरोले क्षति पुर्‍याएको गौतमले बताए । 

अस्थायी सेल्टरमा उनीहरूको भौतिक शरीर सरकारले निर्माण गरेको सेल्टरमा थन्किएको छ, तर मन भने पहिरोले पुरेको घरवरपरै छुटेको छ । भूकम्पको अत्यास व्यहोरेका बालबालिकाको मनोविज्ञानमा असर परेको छ । रिसाङ गाउँकी ६२ वर्षीया धनसरी कामीका अनुसार पहिरोका कारण तत्काल गाउँमा फर्कन सक्ने अवस्था छैन । ‘गाउँको सिरानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । 

पहिरोले अधिकांश क्षेत्रमा चिरा पारेकाले तत्काल घरमा फर्कन सक्ने अवस्था छैन,’ उनले भनिन् । भएभरको जमिन पहिरोले लगेपछि धनसरीलाई परिवार कहाँ राख्ने भन्ने चिन्ताले सताइरहेको छ । उनले गाउँको सिरानमा खनिएको सडककै कारण सिंगो गाउँ जोखिममा परेको बताइन । 

‘सडक खनेपछि माथिल्लो भाग कमजोर भएको थियो । अहिले वर्षापछि त्यही क्षेत्रबाट पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ,’ उनले भनिन् । उनले पहिरोपीडितको दीर्घकालीन व्यवस्थापन गर्न राज्यले बस्ती स्थानान्तरणको काम तत्काल अघि बढाउन माग गरिन । 

आवास निर्माण अनुदान दिनै तीन वर्ष

संघीय सरकारले जाजरकोट भूकम्पपछि क्षतिग्रस्त नागरिकका आवास पुनर्निर्माण र प्रवलीकरण गर्न उपलब्ध गराउने भनिएको निजी आवास अनुदान दिनै तीन वर्ष लगाएको छ । भूकम्प गएको ३४ महिनापछि सरकारले जाजरकोटका भूकम्प प्रभावित एक सय ८८ लाभग्राहीलाई निजी आवास अनुदान बापतको पहिलो किस्ता पठाइएको हो । 

आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ताबापत प्रति घरधुरी ५० हजार रुपैयाँ पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ अनुसार लाभग्राही सम्झौतापश्चात आवास अनुदान रकम लाभग्राहीको खातामा भुक्तानी गर्ने प्रावधान बमोजिम रकम पठाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन ।  

पहिलो किस्ताबाट लाभग्राहीले प्लिन्थ लेभलसम्म आवास निर्माण सम्पन्न गरी निर्माण सम्पन्न भएको प्राविधिक जाँच पास प्रतिवेदनका आधारमा दोस्रो किस्ता रकम उपलब्ध गराइने जनाइएको छ । 

बाढी र पहिरोको चपेटामा  भूकम्प पीडितका अस्थायी टहरा

सम्पादकीय : भोटेकोसी बाढीबाट सिक्न ढिला नगरौं

बाढी र पहिरोको चपेटामा  भूकम्प पीडितका अस्थायी टहरा

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!