बर्दिया अस्पतालबाट बिरामी रित्तै फर्किन बाध्य

बर्दिया, १ जेठ ।
बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको चरम अभाव भएपछि उपचारका लागि आएका सयौं बिरामी मर्कामा परेका छन् । अस्पतालमा सहजै पाइने औषधि समेत नपाइएपछि बिरामीहरू बजारका निजी मेडिकल धाउन बाध्य भएका छन् भने धेरैलाई महँगो मूल्य तिरेर औषधि किन्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विशेषगरी विपन्न, दैनिक ज्यालादारी गर्ने, वृद्धवृद्धा तथा सुत्केरी महिलाहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अस्पतालमा निःशुल्क पाइने औषधि नपाएपछि कतिपय बिरामी उपचार नै अधुरो छोडेर फर्किन बाध्य भएका छन् भने केहीले औषधि खोज्न टाढा–टाढासम्म धाउनुपरेको गुनासो गरेका छन् ।
गुलरिया नगरपालिका–८ की राधिका लोध सुत्केरी भएको केही दिनपछि नियमित स्वास्थ्य जाँचका लागि बुधबार बर्दिया अस्पताल पुगेकी थिइन् । सुत्केरी महिलालाई आवश्यक पर्ने आइरन चक्की अस्पतालबाट नपाएपछि उनी निराश हुँदै फर्किनुपर्यो । स्वास्थ्यकर्मीले सुत्केरी भएको ४५ दिनसम्म नियमित आइरन चक्की सेवन गर्न सुझाव दिए पनि अस्पतालमै औषधि नपाउँदा उनले निजी मेडिकलबाट खरिद गर्नुपरेको बताइन् ।
“सरकारी अस्पतालमा निःशुल्क पाइन्छ भनेर आएका हौं, तर बजारमा गएर किन्नुपर्यो,” उनले भनिन्, “अहिलेको महँगीमा औषधि किन्न पनि गाह्रो छ, झन् टाढाबाट आउनुपर्दा खर्च दोब्बर भएको छ ।” यस्तै, पखाला लागेपछि उपचारका लागि अस्पताल पुगेका गुलरिया–११ का रियाज गद्दीले समेत जीवनजल नपाएपछि निजी पसलबाट किनेर ल्याउनुपरेको गुनासो गरे । सामान्य बिरामीका लागि अत्यावश्यक मानिने जीवनजलजस्तो औषधि समेत अस्पतालमा अभाव हुनु दुःखद भएको सेवाग्राहीहरूको भनाइ छ ।
अस्पतालमा निःशुल्क पाइने औषधि नहुँदा दैनिक सयौं बिरामी प्रभावित भइरहेको अस्पताल स्रोतले जनाएको छ । उपचारका लागि अस्पताल आउने धेरैजसो बिरामी आर्थिक रूपमा कमजोर वर्गका हुने भएकाले उनीहरूलाई निजी मेडिकलबाट औषधि खरिद गर्नु थप आर्थिक बोझ बनेको छ ।
लुम्बिनी प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि बर्दिया अस्पतालमा पछिल्लो दुई महिनादेखि आधाभन्दा बढी औषधिको अभाव रहेको अस्पतालका स्टोर फाँट प्रमुख अविनाश थारुले बताए ।
उनका अनुसार अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, बुफ्रिनलगायत अत्यावश्यक औषधिसमेत सकिएको अवस्था छ । सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोललगायत दीर्घरोगका बिरामीलाई निःशुल्क वितरण गरिने धेरै औषधि पनि उपलब्ध छैनन् ।
निःशुल्क औषधि फाँटमा कार्यरत हेल्थ असिस्टेन्ट कोशिका यादवले औषधिको अभावका कारण सेवाग्राहीलाई खाली हात फर्काउनुपर्दा आफूहरू समेत समस्यामा परेको बताइन् । “बिरामीहरू हामीसँग औषधि माग्न आउनुहुन्छ, तर स्टोरमै नहुँदा दिन सक्ने अवस्था छैन,” उनले भनिन्, “धेरै बिरामीले निजी मेडिकलबाट किन्न नसक्ने अवस्था सुनाउनुहुन्छ ।”
अस्पतालमा निःशुल्क उपलब्ध गराइने एन्टी रेविज खोपको समेत अभाव भएपछि कुकुर वा अन्य जनावरले टोकेका बिरामी झन् जोखिममा परेका छन् । अस्पताल प्रशासनका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बुटवलमा पटक–पटक पत्राचार गर्दा पनि आवश्यक औषधि र खोप समयमै उपलब्ध हुन सकेको छैन ।
अस्पतालका लेखा प्रमुख भीम अधिकारीका अनुसार कर्मचारी नै बुटवल पुगेर औषधि माग्दा समेत खाली हात फर्किनुपरेको अवस्था छ । “औषधि नहुँदा बिरामीले गाली गर्छन्, तर अस्पताल आफैं समस्यामा छ,” उनले भने, “अस्पताल विकास समितिबाट तत्काल खरिद गर्न पनि पर्याप्त बजेट छैन ।”
उनले स्थानीय तहहरूले वडा तहका स्वास्थ्य संस्थालाई औषधि खरिदका लागि बजेट दिने गरे पनि जिल्ला अस्पताललाई बेवास्ता गरेको गुनासो गरे । अस्पतालमा बिरामीको चाप धेरै हुने भए पनि आवश्यक बजेट र आपूर्ति नहुँदा सेवा प्रवाह प्रभावित भएको उनको भनाइ छ ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बुटवलका प्रमुख जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले संघीय सरकारअन्तर्गत हुने टेन्डर प्रक्रियामा ढिलाइ हुँदा औषधि आपूर्ति प्रभावित भएको स्वीकार गरे । उनले जेठ दोस्रो सातासम्म बर्दिया अस्पतालमा आवश्यक निःशुल्क औषधि पठाइने बताए ।
तर त्यसअघि नै बिरामीहरूले ठूलो सास्ती खेपिरहेका छन् । सरकारी अस्पतालमा निःशुल्क उपचार र औषधिको आशा गरेर आउने सर्वसाधारण अहिले निजी मेडिकल धाउन बाध्य छन् । महँगीले थिचिएका नागरिकले औषधिका लागि अतिरिक्त खर्च व्यहोर्नुपरेको मात्र होइन, कतिपयले टाढा–टाढासम्म पुगेर औषधि खोज्नुपर्ने बाध्यता समेत भोगिरहेका छन् ।
स्थानीयले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो लापरवाही तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । बिरामीलाई राहत दिनुपर्ने अस्पतालबाटै रित्तै फर्किनुपर्ने अवस्था हुनु दुःखद भएको भन्दै उनीहरूले निःशुल्क औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।






