यौनिक तथा लैङ्गिक अल्पसंख्यकका सवालमा संवेदनशील बन्नुपर्नेमा जोड
सुर्खेत, १५ कात्तिक ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई सञ्चारमाध्यमले सम्मानजनक, मर्यादित र संवेदनशील ढङ्गले उठाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार, सम्मान तथा समावेशितासम्बन्धी विषयमा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम’मा सहभागीहरूले यस समुदायका विषय समाचारमा समेट्दा प्रयोग गरिने भाषा, शब्दावली र प्रस्तुतिमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष मधुवन बिसीले सञ्चारमाध्यम समाजमा रहेका विभेद र गलत धारणालाई परिवर्तन गर्ने प्रभावकारी माध्यम भएकाले पत्रकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई जिम्मेवार ढङ्गले उठाउनुपर्ने बताए ।
उनले पत्रकारिताले कसैको पहिचान र आत्मसम्मानमा चोट पुर्याउनेभन्दा पनि समाजमा सम्मान, समानता र स्वीकार्यता स्थापित गर्न सहयोग गर्नुपर्ने धारणा राखे । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयलाई सनसनीपूर्ण बनाउने वा फरकपनका रूपमा मात्रै प्रस्तुत गर्ने प्रवृत्तिबाट सञ्चारकर्मी सचेत हुनुपर्ने उनको भनाई छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासंघ नेपालकी सिम्रन श्रेष्ठले संविधान र कानुनले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा समुदायका व्यक्तिहरूले अझै विभेद, अपमान र बहिष्करण भोग्नुपरेको बताइन् । परिवारदेखि विद्यालय, कार्यस्थल र सार्वजनिक सेवासम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिले विभिन्न समस्या सामना गरिरहेको उल्लेख गर्दै उनले समुदायका वास्तविक समस्या र अधिकारका सवाल सञ्चारमाध्यममा पर्याप्त रूपमा आउन नसकेको बताइन् । सञ्चारकर्मीले समुदायसँग सम्बन्धित विषयमा समाचार लेख्दा व्यक्तिको पहिचान, गोपनीयता र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।
कर्णाली इन्द्रेणी आवाजकी अध्यक्ष अञ्जली बुढाथोकीले कर्णालीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै खुलेर आफ्ना समस्या र अधिकारका विषय राख्न सक्ने वातावरण पूर्ण रूपमा निर्माण भइनसकेको बताइन् । सामाजिक सोच, पारिवारिक अस्वीकार र विभेदका कारण कतिपय व्यक्तिले आफ्नो पहिचान लुकाएर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । उनले समुदायका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सरकारी सेवा प्राप्त गर्ने क्रममा समेत विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै राज्यका निकायसँगै सञ्चारमाध्यमले उनीहरूको आवाजलाई स्थान दिनुपर्ने बताइन्। सञ्चारमाध्यममा सकारात्मक र अधिकारमुखी सामग्री बढे समाजमा रहेको भ्रम तथा नकारात्मक धारणा कम गर्न सहयोग पुग्ने उनको भनाई छ ।
छलफलमा सहभागी सञ्चारकर्मीहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका समाचार लेख्दा प्रयोग गर्नुपर्ने शब्दावली, व्यक्तिको गोपनीयता, लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणका विषयमा जिज्ञासा राखेका थिए । उनीहरूले यस्ता विषयमा सञ्चारकर्मीलाई समय–समयमा अभिमुखीकरण आवश्यक रहेको बताएका थिए । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समाचारको विषयका रूपमा मात्र नभई अधिकारप्राप्त नागरिकका रूपमा प्रस्तुत गर्नुपर्ने, उनीहरूको सहमतिबिना व्यक्तिगत पहिचान सार्वजनिक गर्न नहुने तथा अपमानजनक र विभेदकारी शब्द प्रयोग नगर्न सञ्चारकर्मीलाई आग्रह गरिएको थियो । त्यस्तै, समुदायले भोगिरहेका विभेदका घटनासँगै उनीहरूको शिक्षा, रोजगारी, नेतृत्व, सफलता र सामाजिक योगदानका विषयलाई समेत सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने विषयमा छलफल भएको थियो ।
‘इन्द्रेणीका रङ सात, स्वीकार र सम्मान एकै साथ’ भन्ने सन्देशसहित भएको कार्यक्रममा सिफ्ट अभियानका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा सुर्खेतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।





