सुर्खेत उपत्यका नगर विकास समितिमा भ्रष्टाचार भएको अख्तियारको ठहर

सुर्खेत, ३१ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालिन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । समितिको सटर र जग्गा भाडावापतको राजश्व रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको दावीसहित अख्तियारले बुधबार (आज) विशेष अदालत काठमाडौंमा भ्रष्टार मुद्दा दायर गरेको हो ।
उपत्यका नगर विकास समितिका सदस्य सचिव एवम् वीरेन्द्रनगर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतहरु टीकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्व. हरिबहादुर क्षेत्री र सह–लेखापाल खड्कबहादुर रानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उल्लेखित व्यक्तिहरुको मिलेमतो तथा योजनामा आर्थिक वर्ष २०७६/७७, २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को भाडा असुली रसिदबाट जम्मा चार करोड १८ लाख चार हजार तीन सय तीन रुपैयाँ राजस्व आम्दानी समितिको खातामा जम्मा गर्दा बदनियत भेटिएको दावी छ ।
उक्त रकम समितिको खातामा दाखिला नगरी राजस्व रकम मध्ये एक करोड २३ लाख २५ हजार ६ सय २२ रुपैयाँ मात्रै बैंक दाखिला गरेको र बाँकी दुई करोड ९४ लाख ७८ हजार ६ सय एकासी रूपैयाँ बैंक दाखिला नगरी राजस्व हिनामिना गरेको आरोप उनीहरुमाथि छ । समितिका पदाधिकारीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को (ग) बमोजिमको कसुर ठहर गर्दै अख्तियारले प्रतिवादी पाँचै जनाविरुद्ध विशेष अदालत समक्ष कैद सजाय र जरिवाना मागदावी गरेको छ ।






