कर्णालीले सुधार्यो एसईईको नतिजा:५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ओम शाही
सुर्खेत, ३१ बैशाख ।
कर्णाली प्रदेशमा गत वर्ष २०८२ को चैतमा लिइएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजामा सुधार भएको पाइएको छ । उच्च शिक्षाको ढोका मानिने एसईईमा गत वर्ष कर्णालीबाट साधारण र प्राविधिक धार गरी कुल ३२ हजार तीन सय ३६ विद्यार्थी सहभागी भएका थिए । जसमा १९ हजार ९५ अर्थात ५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो विगत दुई वर्षको तुलनामा सुधार भएको नतिजा हो ।
तथ्यांक अनुसार कुल विद्यार्थी मध्ये १३ हजार दुई सय ४१ अर्थात ४०.९५ विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी फेल भएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीका १० जिल्ला मध्ये केहीले सन्तोषजनक नतिजा सुधार गरेका छन् भने केही जिल्लामा नतिजा निरन्तर कमजोर बन्दै गएको देखिन्छ ।
प्रदेशको समग्र नतिजा २०८० मा ४१.५३ प्रतिशत रहेकोमा २०८१ मा बढेर ५६.८७ प्रतिशत पुगेको थियो । २०८२ मा बढेर ५९.०५ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार २०८२ सालमा सबैभन्दा राम्रो नतिजा मुगु जिल्लाको छ । मुगुमा ७५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० मा त्यहाँ ४१.८९ प्रतिशत र २०८१ मा ६९.०९ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए ।
तीन वर्षमै मुगुले झण्डै दोब्बर सुधार गर्दै प्रदेशकै उत्कृष्ट जिल्ला बन्न सफल भएको तथ्यांकले देखाउछ । रुकुम पश्चिमले पनि एसईई नतिजामा राम्रै सुधार गरेको छ । २०८० मा ६३.६६ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ७४.९४ प्रतिशत पुगेको थियो भने २०८२ मा ७९.३४ प्रतिशत कायम भएको छ । जुम्लाको नतिजा पनि सुधारोन्मुख देखिएको छ । २०८० मा ५१.०७ प्रतिशत रहेको नतिजा २०८१ मा ७५.८५ प्रतिशत पुगेको थियो ।
२०८२ मा केही घटेर ६८.१७ प्रतिशत भए पनि जुम्ला प्रदेशका उच्च नतिजा ल्याउने जिल्लामध्येमा परेको छ । सल्यानमा पनि तीन वर्षको अवधिमा एसईईको नतिजामा सुधार भएको देखिन्छ । सल्यानमा २०८० मा ४८.५१ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ६५.८९ प्रतिशत पुगेको थियो भने २०८२ मा ६८.५२ प्रतिशत पुगेको छ । यता, हुम्लामा भने लगातार नतिजा घट्दोक्रममा देखिएको छ ।
२०८० मा ४७.८९ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ५१.६० प्रतिशत पुगे पनि २०८२ मा घटेर ४९.३७ प्रतिशतमा झरेको छ । यस्तै, जाजरकोटको एसईई नतिजा पनि खराब विन्दुमा झरेको छ । २०८० मा जाजरकोटमा ५५.३१ प्रतिशतबाट बढेर २०८१ मा ८२.११ प्रतिशत पुगेको नतिजा २०८२ मा घटेर ४५.९१ प्रतिशतमा सीमित भएको छ ।
डोल्पाको नतिजा पनि तीन वर्षको अवधिमा सबैभन्दा कमजोर अवस्थामध्येमा देखिएको छ । २०८० मा ४४.९८ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा झन् घटेर ३३.१० प्रतिशत पुगेको थियो । २०८२ मा केही सुधार हुँदै ४६.६९ प्रतिशत पुगेको नतिजालाई सन्तोषजनक मानिएको छैन । दैलेखको अवस्था झन् चिन्ताजनक देखिएको छ । २०८० मा १६.८५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका दैलेखमा २०८१ मा २२.८९ प्रतिशत पुगेको थियो ।
२०८२ मा केही सुधार भएर एसईईको नतिजा ३१.८२ प्रतिशतमा सीमित भएको छ । प्रदेशका सबै जिल्लामध्ये दैलेखको नतिजा सबैभन्दा कमजोर छ । यस्तै, सुर्खेतमा २०८० मा ३३.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८१ मा यो प्रतिशत बढेर ५४.१३ पुगेको थियो । २०८२ मा पुनः बढेर ५८.१९ प्रतिशत पुगेको छ । प्रदेश राजधानी रहेको जिल्लामा पछिल्ला वर्षमा सुधार देखिए पनि अपेक्षाअनुसारको नतिजा आउन नसकेको शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ ।
कालीकोटको नतिजामा पनि सुधार देखिएको छ । २०८० मा ३६.०२ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ५७.०८ प्रतिशत पुगेको थियो । २०८२ मा बढेर ७३.१३ प्रतिशत पुगेको छ । यो तीन वर्षकै सबैभन्दा ठूलो सुधारमध्ये एक मानिएको छ । राष्ट्रिय स्तरमा भने २०८१ मा एसइई उत्तीर्ण प्रतिशत ६१.५१ प्रतिशत थियो । २०८२ मा बढेर ६५.८५ प्रतिशत पुगेको छ । तर, कर्णाली प्रदेशको समग्र नतिजा राष्ट्रिय औसतभन्दा निकै तल देखिएको छ ।
शिक्षा क्षेत्रमा भौगोलिक विकटता, शिक्षक अभाव, विद्यालय पूर्वाधारको कमजोरी, नियमित पठनपाठनमा समस्या तथा आर्थिक–सामाजिक अवस्था कमजोर हुनु कर्णालीको कमजोर नतिजाका मुख्य कारणका रूपमा औंल्याइँदै आएको छ । यद्यपि केही जिल्लामा देखिएको सुधारले उचित शैक्षिक व्यवस्थापन र नियमित अनुगमन भए कर्णालीको शैक्षिक अवस्था सुधार हुनसक्ने संकेत गरेको बताइन्छ ।
यस्तो छ विद्यार्थीले प्राप्त गरेको ग्रेड
कर्णालीका १० जिल्लामा ३.२० देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या एक हजार दुई सय ६८ छ । यस्तै, तीन हजार नौ सय ८९ जनाले ३.२० देखि ३.६०, सात हजार ६ सय ३० जनाले २.८० देखि ३.२०, पाँच हजार ६ सय १९ जनाले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै, पाँच सय ८९ जनाले २ देखि २.४० जीपीए प्राप्त गरेको तथ्यांकमा उल्लेख छ । परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि १ असारदेखि परीक्षा सञ्चालन हुने जनाइएको छ । यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्नसमेत अनुरोध गरेको छ । ननग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । यसका साथै बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउने जनाएको छ ।






