१७औँ राष्ट्रपति रनिङ शिल्ड सुरु : बाँकेका सात पालिकाका खेलाडीबीच प्रतिस्पर्धा

नेपालगन्जमा १७औँ बाँके जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार बिहानदेखि नेपालगन्जस्थित रङ्गशालामा प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो ।
प्रतियोगिताका सचिवालय संयोजक वामदेव सुवेदीका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराते तथा एथलेटिक्स विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता वैशाख ३० गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन् ।
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका भने प्रतियोगितामा सहभागी नभएको जनाइएको छ । प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका खेलाडीहरूको सहभागिता रहेको छ ।





