तिलौराकोट होटेल इन्टरनेसनलद्वारा सरस्वती आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

कपिलवस्तु ,२८ बैशाख ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–६ लक्ष्मणपुर स्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत तिलौराकोट होटेल इन्टरनेसनलले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १५ जना बालबालिकालाई झोला, कपी र कलम उपलब्ध गराएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एलेन्द्र प्रसाद कुर्मी, वडा सदस्य उमाशंकर चौधरी तथा तिलौराकोट होटेल इन्टरनेसनलका प्रोप्राइटर सुशील खत्रीले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको समन्वय समाजसेवी सिता गिरी ले गर्नुभएको थियो ।

शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू निकै खुसी देखिएका थिए । विद्यालयका प्रधानाध्यापक मिना कुमारी गिरीले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
प्रअ गिरीले“विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध हुँदा उनीहरूको पढाइप्रति उत्साह बढ्ने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारमा समेत राहत पुग्ने विश्वास लिएको र । विद्यालयलाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

वडा अध्यक्ष एलेन्द्र प्रसाद कुर्मीले शिक्षा क्षेत्रको विकासका लागि सरकारी प्रयाससँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकाको भविष्य उज्यालो बनाउन यस्ता सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो। होटेल तिलौराकोटले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै तिलौराकोट होटेल इन्टरनेशनलका प्रोपराइटर सुशील खत्रीले समाजप्रति आफ्नो दायित्वअनुसार विद्यालयका बालबालिकालाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि शिक्षा र सामाजिक क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








