राप्तीसोनारीमा चौबीसै घण्टा अस्पताल सेवा गाउँमै उपचार पाउने भएपछि स्थानीय हर्षित
बाँके, ३० भदौ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा राप्तीसोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि आकस्मिक र प्रसूति सेवाका लागि कोहलपुर तथा नेपालगञ्ज पुग्नुपर्ने स्थानीयको बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
यसअघि सामान्य बिरामी पर्दासमेत उपचारका लागि कोहलपुर वा नेपालगञ्ज पुग्नुपर्ने अवस्था थियो । विशेषगरी रातको समयमा सवारीसाधन खोज्नुपर्ने, लामो दूरी यात्रा गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए। प्रसूति सेवाका लागि महिलाले समेत घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता थियो ।
भदौ १ गतेदेखि सञ्चालनमा आएको अस्पतालले हाल एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीबाट आकस्मिक तथा नियमित उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालमा सामान्य उपचार, आकस्मिक सेवा, प्रसूति तथा बाल स्वास्थ्य सेवामा प्राथमिकता दिइएको छ ।
गाउँमै अस्पताल सञ्चालन भएपछि स्थानीयवासीमा तत्काल उपचार पाउने आशा बढेको छ । स्थानीय बिनय केसिले यसअघि सामान्य बिरामी पर्दासमेत कोहलपुर पुग्नुपर्ने बाध्यता रहेकोमा अहिले गाउँमै उपचार पाउने अवस्था बनेकाले निकै सहज भएको बताए । उनले अस्पतालमा चौबीसै घण्टा स्वास्थ्यकर्मी र आवश्यक औषधि उपलब्ध हुने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, आएका स्थानीय गोपाल थारुले विशेषगरी रातको समयमा बिरामी पर्दा अस्पताल लैजान निकै समस्या हुने गरेको स्मरण गर्दै गाउँमै आकस्मिक सेवा सुरु हुनु स्थानीयका लागि ठूलो राहत भएको बताए । उनले प्रसूति, सर्पदंश, दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा तत्काल उपचार पाउने व्यवस्था अझै बलियो बनाउनुपर्ने धारणा राखे ।
गाउँपालिकाका अनुसार आगामी असोजदेखि प्रसूतिको शल्यक्रियासहित केही अन्य शल्यक्रिया सेवा विस्तार गर्ने तयारी भइरहेको छ । त्यस्तै, विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउन भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको छ । सहकार्यअन्तर्गत भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारी अस्पतालमा ल्याएर सेवा दिने योजना गाउँपालिकाको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पताल सञ्चालन गर्नु पहिलो चरण भएकाले अब सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिइने बताए । आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार क्रमशः थप गर्दै स्थानीयवासीलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अस्पताललाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काले अस्पताललाई नाम मात्रको स्वास्थ्य संस्था नभई प्रभावकारी सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
ग्रामीण क्षेत्रमा सर्पदंश, दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूतिका क्रममा देखिने जटिल अवस्थामा समयमै उपचार पाउनु महत्वपूर्ण मानिन्छ । त्यसैले राप्तीसोनारीमा चौबीसै घण्टा अस्पताल सेवा सुरु हुनु स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फ महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ ।
अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा उपकरणको नियमित उपलब्धता सुनिश्चित गर्दै विशेषज्ञ सेवा पनि प्रभावकारी बनाउन सके उपचारका लागि कोहलपुर र नेपालगञ्ज धाउनुपर्ने स्थानीयवासीको बाध्यता थप घट्ने अपेक्षा गरिएको छ ।





