काठमाडौंसँग कर्णाली चार विकेटले पराजित
काठमाडौं, १७ कार्तिक ।
विकेट भए पनि लगातार सुस्त रनरेटबाट उठाउँदै अन्ततः करण केसी र राशिद खानले एनपीएलमा काठमाडौं गोर्खाजलाई पहिलो जित दिलाएका छन् । कर्णाली याक्सविरुद्ध १३ ओभरमा ९५ रन हुँदा चार विकेट गुमाइसकेको स्थितिबाट राशिद र करणले खेललाई अन्ततः जितसम्म पुर्याएका हुन् । जारी एनपीएलमा दोस्रो सर्वाधिक एक सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले दुवै बल अगावै लक्ष्य पूरा गर्यो । जसमा राशिद र करण मुख्य नायक बने । रन सुस्त बन्दा राशिदले एक समय आदिल आलमसँग मिलेर खेल्दै विकेट जोगाए । आदिल सुस्त खेल्दै २७ बलमा २० रन बनाएर आउट भए । त्यसलगत्तै भीम सार्की पनि पाँच बलमा चार रन बनाएर आउट भए ।
त्यसपछि करण केसी र राशिदले शानदार साझेदारी गर्दै १२ माथिको रनरेटलाई पछ्याउँदै खेललाई जितसम्म पुर्याएका हुन् । राशिद र आदिल आलमले ३८ बलमा ५० रनको साझेदारी गरे । करण राशिदले पनि पाँचौँ विकेटको लागि २४ बलमा ५० रनकै साझेदारी गरे । जसले जितको आधार तयार पार्यो । १६ ओभरमा १७, १७ औँ ओभरमा ११ र १८ औँ ओभरमा १५ रन हानेपछि काठमाडौं जिततर्फ अघि बढेको थियो । १६.५ ओभरमा राशिद खान आउट भए । तर, उनले सुरुदेखि विकेट गुमाउने स्थितिबाट खेलालाई जिततर्फ डोर्याइसकेका थिए । उनले ३३ बलमा ५० रनको इनिङ खेले । जसमा दुई छक्का र तीन चौका सामेल थिए ।
१८ औँ ओभरको अन्तिम बलमा करण आउट भएका थिए । तर, उनले २० बलमा ४४ रनको विजायोन्मुख रन जोडिसकेका थिए । करणले तीन छक्का र चार चौका प्रहार गरे । १७ ओभरमा पाँच विकेट क्षतिमा पवन सर्राफले दुई छक्कासहित १९ औँ ओभरमा फेरि १७ रन दिएपछि अन्तिम ओभरमा चार रनमात्रै आवश्यक पर्यो । १९ औँ ओभरमा गोर्खाजको लागि जहानदाद खानले दुई छक्का मद्दतमा १० बलमा २२ रन प्रहार गरे । सन्तोष यादवले पनि तीन बलमा पाँच रन बनाए । करणले बलिङमा पनि चार ओभरमा ३५ रन दिएर दुई विकेट लिए । साधव आलम, जहानदाद खान, देव साह र सन्तोष यादवले एक एक विकेट लिए ।





