बाँकेमा पहिलोपटक दुर्लभ वन्यजन्तु सालकको अवस्था र बासस्थानबारे अध्ययन सुरु

बाँके ,१७ कार्तिक ।
बाँकेमा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु सालकको वास्तविक अवस्था, उपस्थिति, बासस्थान र गतिविधिबारे पहिलोपटक अध्ययन तथा अनुसन्धान सुरु गरिएको छ। सालकको सङ्ख्या, विचरण क्षेत्र र बासस्थानको अवस्था पहिचान गरी यसको संरक्षणका लागि प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले अध्ययन थालिएको हो।

सालकको संरक्षण र प्राकृतिक बासस्थानको अवस्थाबारे पर्याप्त जानकारी नहुँदा संरक्षणका प्रयास प्रभावकारी बनाउन चुनौती भइरहेको अवस्थामा बाँकेमा सुरु गरिएको यस अध्ययनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। अध्ययनबाट सालक कहाँ पाइन्छ, कस्तो बासस्थानमा बस्छ र यसको गतिविधि कस्तो छ भन्ने विषयमा वैज्ञानिक तथ्य तथा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

नेपालमा ठूला तथा साना गरी २०८ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्। तीमध्ये २७ प्रजातिलाई करिब ४५ वर्षअघि संरक्षित सूचीमा सूचीकृत गरिएको थियो। संरक्षित सूचीमा ठूला स्तनधारी वन्यजन्तुसँगै सालकजस्ता साना स्तनधारी प्राणीसमेत रहेका छन्।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले बाँकेमा पहिलोपटक सालकको अवस्था र बासस्थानसम्बन्धी अध्ययन अघि बढाएको हो। सालक विज्ञ डा. तुल्सी लक्ष्मी सुदालका अनुसार सालकको वास्तविक अवस्था पहिचान गरी संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउन वैज्ञानिक अध्ययन आवश्यक रहेको छ।

ग्रीन अस्कर अवार्डको सहयोगमा सञ्चालन भइरहेको अनुसन्धानअन्तर्गत सालकको उपस्थिति, बासस्थान र गतिविधिबारे जानकारी सङ्कलन गर्न क्यामरा ट्र्याप प्रविधि प्रयोग गरिएको छ। जङ्गलका विभिन्न सम्भावित क्षेत्रमा क्यामेरा जडान गरी सालकको आवतजावत र गतिविधि अभिलेख गर्ने काम भइरहेको छ। यस प्रविधिबाट सालकको उपस्थिति पुष्टि गर्नुका साथै यसको विचरण क्षेत्र र बासस्थानको अवस्थाबारे जानकारी लिन सहज हुने अनुसन्धानकर्ताहरूको विश्वास छ।

नेपालमा सालकसम्बन्धी अध्ययन तथा अनुसन्धान सन् २००९ देखि सुरु भएको हो। नेपालमा इन्डियन सालक र चाइनिज सालक गरी दुई प्रजातिका सालक पाइन्छन्। यी दुवै प्रजाति पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण मानिन्छन्।

सालकले मुख्य रूपमा कमिला र धमिरा खाएर आहार गर्ने गर्छ। एक वयस्क सालकले एक वर्षमा करिब सात करोड कमिला तथा धमिरा खाने भएकाले तिनको प्राकृतिक नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने साना स्तनधारी प्राणी संरक्षणकर्मी दिव्यराज दाहाल बताउनुहुन्छ। कमिला र धमिराको सङ्ख्या अनियन्त्रित रूपमा बढ्न नदिन सालकले प्राकृतिक नियन्त्रकका रूपमा काम गर्ने भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँका अनुसार सालकको संरक्षण गर्नु भनेको एउटा दुर्लभ वन्यजन्तुको अस्तित्व जोगाउनु मात्र नभई समग्र वनजङ्गल, जैविक विविधता र पर्यावरणीय सन्तुलनको संरक्षण गर्नु पनि हो। त्यसैले यसको बासस्थान जोगाउने र संरक्षणसम्बन्धी जनचेतना विस्तार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

अध्ययनका क्रममा जङ्गलका विभिन्न स्थानमा जडान गरिएका क्यामरा ट्र्यापबाट प्राप्त तस्बिर तथा तथ्याङ्कले सालकको उपस्थिति, गतिविधि र बासस्थान पहिचान गर्न सहयोग पुर्‍याउनेछ। यसबाट अनुसन्धानकर्ताहरूलाई समेत थप उत्साह मिलेको छ। अध्ययनमा संलग्न त्रिचन्द्र कलेज, काठमाडौँकी छात्रा रमिला गुरुङका अनुसार क्यामरा ट्र्यापबाट प्राप्त तस्बिर तथा तथ्याङ्कले सालकको वास्तविक अवस्था बुझ्न र अनुसन्धानलाई थप प्रमाणमा आधारित बनाउन सहयोग पुग्नेछ।

बाँकेमा पहिलोपटक सुरु गरिएको यस अध्ययनले सालकको उपस्थिति र बासस्थानको अवस्थाबारे आधारभूत तथ्याङ्क उपलब्ध गराउनुका साथै आगामी दिनमा संरक्षणका कार्यक्रम सञ्चालन गर्न मार्गदर्शन गर्ने विश्वास गरिएको छ। अध्ययनबाट प्राप्त नतिजाका आधारमा सालकका लागि उपयुक्त बासस्थान पहिचान, संरक्षणका सम्भावित क्षेत्र निर्धारण तथा स्थानीय समुदायको सहभागितामा संरक्षणका योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।

प्रकृतिमा साना देखिने जीवले पनि पर्यावरणीय सन्तुलन कायम राख्न ठूलो भूमिका खेलिरहेका हुन्छन्। कमिला र धमिराको प्राकृतिक नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सालकको संरक्षणले जैविक विविधता र प्राकृतिक प्रणालीको संरक्षणमा समेत सहयोग पुग्नेछ। त्यसैले अध्ययनबाट प्राप्त वैज्ञानिक तथ्यलाई व्यवहारमा उतार्दै सालकको बासस्थान संरक्षण, अवैध सिकार नियन्त्रण र समुदायस्तरमा संरक्षण चेतना विस्तार गर्न आवश्यक देखिएको छ।

बाँकेमा पहिलोपटक दुर्लभ वन्यजन्तु सालकको अवस्था र बासस्थानबारे अध्ययन सुरु

हिमपातमा फसेका ६ भारतीय  पर्यटकको उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!