खेलमा जमेका जुम्लाका धरि र कल्पना

गाेल्डेन बुढा

जुम्ला,२८ बैशाख ।
जुम्लाको दुर्गम कनकासुन्दरी गाउँपालिका–१ काभ्रा गाउँमा त्यो दिन अरू दिनजस्तै थियो । खेतबारीमा हलो जोत्ने काम चलिरहेको थियो । धीरबहादुर बुढा माटोसँग संघर्ष गरिरहेका थिए । त्यही बेला गाउँमा एउटा खबर फैलियो।जुम्लादेखि रारासम्म पहिलोपटक अल्ट्रा म्याराथन हुन लागेको छ।खबरले उनको मन एकाएक हलचल भयो । उनी हलो खेतमै छोडेर सदरमुकाम खलंगातिर लागे । न कुनै खेल पोशाक थियो, न प्रशिक्षण, न त अनुभव । थियो त, दौडिन सक्ने आत्मविश्वास।२०७१ सालमा भएको पहिलो जुम्ला–रारा अल्ट्रा म्याराथनमा सहभागी भएका धीरले ४९ किलोमिटर दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे । गाउँ फर्किंदा उनको हातमा पदक थियो, तर त्योभन्दा ठूलो कुरा गाउँलेको सोचमा परेको परिवर्तन थियो।‘दौडिने मान्छेलाई गाउँमा गिज्याउने चलन थियो,’ धीर सम्झिन्छन्, ‘तर म दौडेरै चिनिएँ ।’त्यो समय कर्णालीमा खेलकुद सपना होइन, विलासिता जस्तै मानिन्थ्यो । बिहान बेलुका पेट पाल्ने संघर्षमै जीवन बित्ने ठाउँमा खेलकुदमा भविष्य खोज्नु धेरैका लागि असम्भवजस्तै थियो । त्यसैले परिवार र समाजले धीरलाई बारम्बार जागिर खोज्न दबाब दिइरह्यो ।अन्ततः उनी २०७२ सालमा नेपाल प्रहरीको सिपाही बने । तर प्रहरी सेवामा रहँदा उनले आफूभित्रको धावकलाई मर्न दिएनन् । फुर्सदको अभाव, कठोर ड्युटी र सीमित अवसरबीच पनि दौडप्रतिको मोह घटेन।करिब ३१ महिना प्रहरी सेवामा बिताएपछि उनले वन रक्षकमा नाम निकाले । अहिले उनी मुगुको गमगडीस्थित डिभिजन वन कार्यालयमा कार्यरत छन् । जागिरसँगै दौडलाई निरन्तरता दिनु उनका लागि सजिलो छैन । बिहान कार्यालय, बेलुका अभ्यास। कहिलेकाहीँ अभ्यासभन्दा जिम्मेवारी भारी पर्छ । तर दौडप्रतिको प्रेम अझै उस्तै छ ।धीरले पाँच पटक जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिइसकेका छन् । तीन पटक स्वर्ण र दुई पटक रजत जितेका छन् । २०७६ मा ४९ किलोमिटर दूरी ५ घण्टा १२ मिनेटमा पार गरेका उनले २०८१ मा ४ घण्टा ५७ मिनेटमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए ।यस वर्ष ५४ किलोमिटर दूरी पार गर्नुपर्ने थियो । उकालो, कच्ची बाटो, हिमाली चिसो र थकानसँग संघर्ष गर्दै उनले ६ घण्टा ९ मिनेट ८ सेकेण्डमा दूरी पूरा गरे र फेरि स्वर्ण जिते ।‘लगातार जितेको भए ह्याट्रिक हुन्थ्यो,’ उनी हाँस्दै भन्छन्, ‘तर फरक वर्षमा जितेकाले त्यसलाई ह्याट्रिक मानिँदैन ।’तर एउटा सत्य अझै कायम छ,धीरको रेकर्ड अझै कसैले तोड्न सकेको छैन।अन्नपूर्ण म्याराथन, पन्चासे ट्रेल, पाँचपोखरी हाफ म्याराथनदेखि एभरेस्ट म्याराथनसम्म उनले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । १ सय ७० किलोमिटर लामो एभरेस्ट म्याराथनमा चौथो हुनु सामान्य उपलब्धि होइन ।तर यति धेरै सफलताबीच पनि उनीसँग प्रशिक्षक छैनन्, प्रायोजक छैनन् । कहिलेकाहीँ सदरमुकाम खलंगा झर्दा विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायासँग सँगै दौडिन पाउनु नै उनका लागि प्रशिक्षण हो ।रोकाया भन्छन्, ‘कर्णाली अब दुर्गम मात्र होइन, खेलाडी जन्माउने भूमि पनि हो । धीरजस्ता खेलाडी त्यसका प्रमाण हुन् ।’यस्तै जुम्लाकै अर्को दुर्गम भनिने पातारासी गाउँपालिका–२ पेरेगाउँकी १८ वर्षीया कल्पना बुढाको कथा भने समाजसँगको अर्को संघर्ष हो।उनले जित्नुपर्ने दूरी ५४ किलोमिटर थिएन । उनले जित्नुपर्ने सोच अझ ठूलो थियो ।गाउँमा अझै छोरीलाई घरबाहिर पठाउन नहुने मानसिकता बलियो छ । खेलकुदमा लाग्ने छोरीलाई राम्रो दृष्टिले हेरिँदैन । तर कल्पनाले त्यही परम्परागत सोचविरुद्ध दौड रोजिन् ।आधारभूत तहको पढाइपछि उनले गाउँभन्दा बाहिर सपना देख्न थालिन् । दौडेर जिल्ला र देशको नाम चिनाउने लक्ष्य बोकेर उनी तीन वर्षअघि हरिबहादुर रोकायासँग प्रशिक्षणमा जोडिइन् ।त्यसपछि उनको जीवन फेरिन थाल्यो ।आज उनी लगातार दुई वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको महिलातर्फ स्वर्ण जित्ने धाविका बनेकी छन् ।यस वर्ष उनले ५४ किलोमिटर दूरी ७ घण्टा ७ मिनेट १२ सेकेण्डमा पार गरिन् । सुनसरी रोकाया र सन्देवा बुढालाई पछि पार्दै उनले लगातार दोस्रो उपाधि जितिन् । गत वर्ष ५१ किलोमिटर दूरी ७ घण्टा ५१ मिनेट ३२ सेकेण्डमा पूरा गरेकी कल्पनाले यस वर्ष अझ लामो दूरी छोटो समयमा पार गरिन् ।उनले लगातार दुई वर्ष एक/एक लाख रुपैयाँ पुरस्कार पनि हात पारिन् ।तर उनको संघर्ष पदक जितेर सकिँदैन ।‘छोरीले घरायसी कामबाहेक केही गर्न सक्दैनन् भन्ने सोच अझै छ,’ कल्पना भन्छिन्, ‘त्यो मानसिकता भत्काउन म दौडिरहेकी छु ।’उनी नियमित प्रशिक्षणसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छन् । सदरमुकाममा अवस्थित चन्दननाथ नमुना माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी कल्पना अहिले कर्णाली खेलकुद क्लबमा आबद्ध छिन् ।उनको सफलताले अहिले जुम्लाका धेरै किशोरीहरूलाई प्रेरणा दिएको छ ।

पेरेगाउँ आफैं चर्चित धाविका सुनमाया र राममाया बुढाको गाउँ हो । अहिले हरिबहादुर रोकायासँग २० भन्दा बढी किशोरकिशोरी प्रशिक्षण लिइरहेका छन् ।रोकाया भन्छन्, ‘कल्पना अब एउटा गाउँ वा जिल्लाको मात्र खेलाडी होइनन्, राष्ट्रकै आशा बन्दै गएकी छन् ।’कल्पनाले बैंगलोर, दुबई र हङकङका अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेकी छन् । नेपालभित्रका अन्नपूर्ण, गुरिल्ला ट्रेल, पोखरा म्याराथन र मञ्जुश्री ट्रेल रेसमा पनि उनले सहभागिता जनाइसकेकी छन् ।‘प्रतिभा धेरै छन्,’ रोकाया भन्छन्, ‘तर आर्थिक समस्या, पारिवारिक दबाब र सरकारी उपेक्षाका कारण धेरै खेलाडी बीचमै हराइरहेका छन् ।’यस वर्षको जुम्ला–रारा अल्ट्रा म्याराथनमा ४९ खेलाडी सहभागी भए पनि ४५ जना मात्रै रारातालसम्म पुग्न सके । एक भारतीयसहित १५ महिला सहभागी थिए ।हिमालको काखमा, उकालो र कठिन बाटाबीच दौडिरहेका ती खेलाडी पदकका लागि कुदिरहेका थिएनन् । उनीहरू गरिबी, विभेद र बेवास्ताविरुद्ध आफ्नै भविष्य खोज्दै दौडिरहेका थिए ।

खेलमा जमेका जुम्लाका धरि र कल्पना

जुम्लाको पीडा : न जहाज भरपर्दो, न

Leave a comment

Your email address will not be published. Required fields are marked *