जुम्लाको पीडा : न जहाज भरपर्दो, न सडक सुरक्षित

जुम्ला ,२८ बैशाख।
गत चैत २५ गते कडा मधुमेहका कारण स्वास्थ्य समस्या बल्झिएपछि जुम्लाको हिमा गाउँपालिका–६ का ७१ वर्षीय कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत शिक्षण अस्पतालमा भर्ना गरियो । त्यहाँ मधुमेह नियन्त्रण भएन । त्यसमाथि ‘प्रोस्टेट’ को समस्या बढेपछि शिक्षण अस्पतालले ‘युरो सर्जरी’ का लागि बाँकेको नेपालगन्ज रिफर गर्यो ।जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे । तर उडान भएन । बिरामीको अवस्था जटिल बनेपछि हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निधो भयो । तर, उनीहरू नेपालगन्ज पुग्न पाएनन् । ०१००१ झ ००२४ नम्बरको उक्त एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोलानजिक दुर्घटना हुँदा कलबहादुरका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मचीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो ।
बिरामी अधिकारी घाइते भए ।‘त्यस दिन प्लेन आएको भए मेरो उपचार सहज हुन्थ्यो,’ अधिकारीले भने, ‘अकालमै छोरा गुमाउनुपर्यो ।’जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् ।यस्तैमध्येकी एक हुन्, जुम्लाको चन्दननाथ नगरपालिका–८ की २१ वर्षीया सवि कामी । मुटु, छाती र फोक्सोमा समस्या देखिएपछि उनी सोमबार प्रतिष्ठानको शिक्षण अस्पतालमा भर्ना भइन् । उनलाई अस्पतालले नेपालगन्ज रिफर गरेको छ । जहाजमै अक्सिजन लगाएर लैजान चिकित्सकले सल्लाह दिएका छन् ।‘बुधबार सेड्युल भए पनि जहाज आएन,’ उनका भाइ विनोद कामीले भने, ‘मौसमको कारण भन्दै उडान नभएपछि शिक्षण अस्पतालमै फर्किनुपर्यो ।’जुम्लाको तिला गाउँपालिका–८ की दुर्गा रावतलाई लामो समयदेखि ‘ग्यास्ट्रिक’ को समस्या छ । मंगलबार समस्या बढेपछि उपचारका लागि नेपालगन्ज जाने योजना बनाइन् ।‘गाडीबाट कष्टकर यात्रा गर्न सकिन्न,’ उनले भनिन्, ‘बुधबार नेपाल एयरलाइन्सको फ्लाइट थियो, त्यसैले विमानस्थल पुगेँ । दुई दिनसम्म मौसमको समस्या देखाउँदै उडान भएन । अन्तिममा टिकट रद्द गर्नुको विकल्प भएन ।’पर्यटकीय मौसम सुरु भएको भन्दै यतिबेला निजी विमान कम्पनीका जहाजहरू मुलुकका पूर्वी जिल्लातर्फ केन्द्रित भएपछि कर्णाली उडानविहीनजस्तै बनेको छ । नेपाल वायुसेवा निगमको जहाजको उडान पनि मौसम तथा प्राविधिक कारण देखाउँदै पटक–पटक रद्द हुने गरेको छ ।गत साता नेपाल एयरलाइन्सले जुम्लाका लागि नेपालगन्जबाट आइतबार, मंगलबार र बुधबार तथा सुर्खेतबाट मंगलबार उडान गर्ने तालिका सार्वजनिक गरेको थियो ।‘तर मंगलबार मात्रै उडान भयो, अरू सबै उडान रद्द भए,’ स्थानीय चन्द्रलाल न्यौपानेले भने, ‘उडान अवरुद्ध हुँदा बिरामीको ज्यान जोखिममा परिरहेको छ ।’२ सय ३२ किलोमिटरको कर्णाली राजमार्ग ‘सिंगल लेन’ को छ । सोही कारण स्थानीयलाई महँगो भए पनि जहाजकै भर पर्नुपर्ने बाध्यता रहेको न्यौपाने बताउँछन् ।‘सामान्य पानी परे पनि गाडी नरोकिएको र हिलोमा नफसेको दिनै हुँदैन । एउटा गाडी रोकिए घण्टौं जाम हुने समस्या छ,’ उनले भने, ‘त्यसमाथि पाँच वर्षअघि गरिएको राजमार्गको कालोपत्र पूरै उप्किएपछि हिउँदमा सडक धुलाम्मे हुने गरेको छ ।’नेपाल एयरलाइन्स जुम्ला स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीले उडानमा समस्या भइरहेको दाबी गरे ।‘सेड्युल भएपछि यात्रुलाई विमानस्थलमा बोलाउँछौं,’ उनले भने, ‘तर जहाज नै नआएपछि फर्काउनुपर्ने बाध्यता छ ।’उनका अनुसार हरेक उडानमा २/२ सिट बिरामी र सरकारी कर्मचारीका लागि छुट्याइएको छ ।जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् ।
यात्रु अभाव देखाउँदै निजी एयरलाइन्सले दैनिकजसो उडान रद्द गर्ने गरेको स्थानीयको गुनासो छ ।जहाज नियमित नहुँदा रिफर गरिसकेका बिरामीलाई समेत फर्काएर फेरि अस्पतालमै भर्ना गर्नुपर्ने बाध्यता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. कमल थानीले बताए ।नेपाल एयरलाइन्सले नेपालगन्ज–जुम्ला उडानका लागि ८ हजार ९ सय ३३ रुपैयाँ भाडा लिने गरेको छ । निजी एयरलाइन्सको भाडा ६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।नेपाल एयरलाइन्सले जुम्लाका लागि आइतबार, मंगलबार र बुधबार उडान तालिका सार्वजनिक गरेको छ । त्यस्तै, जुम्लादेखि नेपालगन्ज आइतबार, मंगलबार र बुधबार, सिमकोट–नेपालगन्ज सोमबार र बुधबार, ताल्चा–नेपालगन्ज आइतबार, मंगलबार, बिहीबार र शुक्रबार तथा डोल्पा–नेपालगन्ज उडानमा मंगलबार, बिहीबार र शुक्रबारको तालिका बनाइएको छ ।गत वर्ष २०८० पुस ८ गते जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको उपस्थितिमा तथा जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यको समन्वयमा जुम्ला विमानस्थलमा सेवा दिइरहेका तारा, सीता, समिट र नेपाल एयरलाइन्सबीच पारदर्शी रूपमा टिकट वितरण गर्ने निर्णय भएको थियो ।निर्णयअनुसार प्रत्येक वायुसेवा कम्पनीले आफ्नै जिएसएसँग सहकार्य गरी कार्यालय खोली डायरीमा नाम दर्ता गरेर टिकट बिक्री गर्ने, उडान हुन नसकुञ्जेल कार्यालय सञ्चालन गर्ने र भोलिपल्टको टिकट एक दिन अगावै वितरण गर्ने व्यवस्था मिलाउने भनिएको थियो ।त्यस्तै, प्रत्येक उडानका १० सिटमध्ये केही सिट बिरामी, अशक्त, सुरक्षाकर्मी तथा आपत्कालीन यात्रुका लागि प्राथमिकताका आधारमा छुट्याउने सहमति पनि गरिएको थियो ।तर ती निर्णय कार्यान्वयन नहुँदा स्थानीय नागरिकले अझै उस्तै सास्ती भोग्नुपरेको छ ।२०८२ पुस ६ गते जुम्ला नागरिक उड्डयन कार्यालय प्रमुख प्रदीप अर्यालको संयोजकत्वमा ‘सुरक्षित, भरपर्दो, नियमित र सर्वसुलभ हवाई यातायात’ विषयक कार्यक्रम पनि सम्पन्न भएको थियो । त्यसक्रममा हवाई सेवा सुधारसम्बन्धी थप निर्णय गरिएका थिए ।निर्णयअनुसार वायुसेवा कम्पनीहरूले बिरामी, अशक्त तथा अत्यावश्यक यात्रुका लागि केही सिट स्थानीय स्तरमै वितरण गर्ने र बाँकी सिट अनलाइन प्रणालीमार्फत बिक्री गर्ने व्यवस्था यथाशीघ्र लागू गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने भनिएको थियो ।साथै, नेपाल वायुसेवा निगमका प्राविधिक कर्मचारी काठमाडौंबाटै यात्रुसँगै उड्दा सिट अभाव र राजस्व घाटा भएको भन्दै उनीहरूको ‘बेस स्टेशन’ नेपालगन्ज वा सुर्खेतमा राख्न ध्यानाकर्षण गराउने निर्णय गरिएको थियो ।
जाडो मौसममा नेपालगन्जको कम ‘भिजिबिलिटी’ का कारण उडान रद्द हुने अवस्थालाई ध्यानमा राख्दै काठमाडौं–रुकुम–नेपालगन्ज उडान तालिका बिहान १० बजेपछि राख्न अनुरोध गर्ने, एजेन्टमार्फत टिकट वितरण गर्दा अव्यवस्था बढेकाले कम्पनी स्वयं जिम्मेवार भई टिकट वितरण प्रणाली विकास गर्ने तथा नागरिक उड्डयन नियमावली २०५८ मा उल्लेखित दुर्गम क्षेत्र हवाई सेवा सञ्चालन कोष कार्यान्वयनका लागि कार्यविधि तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरिएको थियो ।सबै वायुसेवा कम्पनीले १५ दिनभित्र जुम्ला विमानस्थल बाहिर टिकट वितरण काउन्टर खोल्ने सहमति समेत गरेका थिए । तर निर्णय कागजमै सीमित हुँदा कर्णालीका बिरामी अझै उडानको प्रतीक्षामै छन् ।





