मार्सीधान जोगाउन (ब्यूटाक्लोर) विषादीविरुद्ध :तातोपानीकाे अभियान

गाेल्डेन बुढा

जुम्ला,१८ बैशाख ।

जुम्लाको तातोपानी गाउँपालिकाले मार्सीधान खेतमा प्रयोग हुँदै आएको झारनासक विषादी ब्यूटाक्लोर नियन्त्रण गर्न एक महिने अभियान सुरु गरेको छ। धान रोपाइँ सुरु हुनुअघि नै किसानका खेतबारीमा लुकिछिपी प्रयोग भइरहेको ब्यूटाक्लोरविरुद्ध गाउँपालिकाले सोमबारदेखि गाउँ–गाउँ पुग्ने अभियान थालेको हो।जेठ २८ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत तातोपानी गाउँपालिका जेठ१ देखि ८ सम्मका सबै मार्सीधान उत्पादन हुने खेत, बस्ती र घरदैलोमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमा सहभागी किसान, नागरिक अगुवा र जनप्रतिनिधिले ब्यूटाक्लोर प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।तातोपानी जुम्लामै पहिलोपटक मार्सीधान खेती सुरु भएको क्षेत्र हो,भन्ने किंवदन्ती छ। यहाँको पहिलो धानखेती गरिएको खेतलाई स्थानीयले अहिले पनि ‘गुरु फोक्टो’ भनेर चिन्ने गर्छन्। यही ऐतिहासिक पहिचान बोकेको भूमिमा पछिल्ला वर्ष किसानले श्रम कम र उत्पादन बढी हुने आशामा ब्यूटाक्लोर प्रयोग गर्न थालेपछि गाउँपालिका चिन्तित बनेको हो।गाउँपालिकाका कृषि शाखा प्रमुख प्रेमकृष्ण उपाध्यायका अनुसार ब्यूटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति नष्ट गर्ने, खाद्य शृंखलामार्फत मानव शरीरमा गम्भीर असर पार्ने तथा पशुचौपायामा समेत स्वास्थ्य समस्या देखिने गरेको छ। “किसानलाई खेतमै पुगेर बुझाउँछौँ,” उनले भने, “रासायनिक विषादीले तत्काल केही सहज देखिए पनि त्यसले भविष्यको खेती प्रणाली नै संकटमा पारिरहेको छ।”प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय तहले ब्यूटाक्लोर प्रयोग गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए।

जुम्लाको कृषि उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय उत्पादन र किसानको आय वृद्धि गर्न रासायनिक विषादी नियन्त्रण अपरिहार्य रहेको बताए।“नेपालकै पहिलो अर्गानिक जिल्ला भनेर चिनिएको जुम्लाको साख जोगाउन अब सबै स्थानीय तह कठोर बन्नैपर्छ,” उनले भने, “रासायनिक मल र विषादी प्रयोग रोकिएन भने जुम्लाको मौलिक कृषि प्रणालीमाथि नै संकट आउँछ।”गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले ब्यूटाक्लोर प्रयोगका कारण उत्पादन घट्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालेपछि अभियान सञ्चालन गर्नुपरेको बताए।“गाउँपालिकाबाट हालसम्म ३१ जना महिलाको उपचारका लागि सिफारिस गरेका छौँ, तीमध्ये २२ जनामा पाठेघर क्यान्सर देखिएको छ,” उनले भने, “धानमा प्रयोग भइरहेको ब्यूटाक्लोर यसको प्रमुख कारण भएको स्थानीय स्तरको निष्कर्ष छ। त्यसैले नियन्त्रणका लागि अभियानै चलाएका हौँ। अब लुकिछिपी प्रयोग गरे सिधै कारबाही हुन्छ। किसान सचेतिकरण, क्षमता विकास, किसान जाँगर अभियान, बेमौसमी तरकारी खेती, रोग–कीरा नियन्त्रण सहयोगलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ। गत वर्ष ब्यूटाक्लोर प्रयोग गर्ने चार जनालाई कारबाही गरिएको र यस वर्ष अभियान अझ कडाइका साथ लागू गरिने उनले बताए।जिल्ला कृषि विकास कार्यालय जुम्लाका रामभक्त अधिकारीले १४औँ जिल्ला परिषद्बाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिए पनि व्यवहारमा अझै लुकिछिपी विषादी प्रयोग भइरहेको बताए।

“जुम्लाको कृषि उत्पादनदेखि उपभोगसम्म स्वच्छ र गुणस्तरीय बनाउन जरुरी छ,” उनले भने, “यदि विषादी प्रयोग रोक्न सकियो भने जुम्लाले मार्सीधानको प्याटेन्ट राइटसमेत लिन सक्छ। त्यसले किसानको आम्दानी, उत्पादन र जुम्लाको पहिचान तीनै कुरा बलियो बनाउँछ।”प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले ब्यूटाक्लोर प्रयोगसँगै महिलामा क्यान्सरका समस्या बढ्दै गएको र उत्पादनसमेत घट्न थालेपछि अभियान सुरु गरिएको बताए। उनले अर्गानिक उत्पादनलाई बजारसँग जोड्न लेबलिङ, प्याकेजिङ र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।कार्यक्रममा सहभागीहरूले विद्यालय तहको पाठ्यक्रममै विषादी प्रयोग र त्यसका असरबारे अध्यापन गरिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले रासायनिक विषादी नियन्त्रणसँगै जैविक विषादी उत्पादन तथा प्रयोगमा पनि पालिकाले लगानी बढाउनुपर्ने बताएका थिए।कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा मार्सीधानसँगै चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान पनि खेती गरिन्छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ सिफारिस गरिसकेको छ भने मार्सी–१८, २० र २२ परीक्षण चरणमा छन्।

जुम्ली मार्सी चामलबाट वार्षिक करिब तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिकटन उत्पादन भएको छ भने अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भएको थियो। उत्पादन २.३ प्रतिशतले बढे पनि रोपाइँ क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको कृषि कार्यालयको तथ्यांक छ।चालु आर्थिक वर्षमा कृषि कार्यालयले जुम्ली मार्सी धान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम सुरु गरेको छ।

चन्दननाथ नगरपालिका, तातोपानी, हिमा गाउँपालिका र सिंजा गाउँपालिकामा लागू गरिएको कार्यक्रमका लागि ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।यस्तै पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकामा मार्सीधान बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालन भइरहेको छ। यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको कृषि कार्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत किसानलाई तालिम, प्राविधिक सहयोग, रोग नियन्त्रणसम्बन्धी जानकारी, बिउ, सिटबिन, त्रिपाल, मिनिटेलर र थ्रेसर मेसिन वितरण गरिएको छ। साथै प्रांगारिक मल उत्पादन र कम्बाइन मिल स्थापना गर्ने कामसमेत अघि बढाइएको छ।

मार्सीधान जोगाउन (ब्यूटाक्लोर) विषादीविरुद्ध :तातोपानीकाे अभियान

जुम्लाको पीडा : न जहाज भरपर्दो, न

Leave a comment

Your email address will not be published. Required fields are marked *