पत्रकारको अधिकारका पक्षमा १५ बुँदे बुटवल घोषणापत्र जारी

रुपन्देही, २८ बैशाख ।

प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार तथा सञ्चार क्षेत्रको संरक्षणका विषयलाई केन्द्रमा राख्दै ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ ले १५ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले बैशाख २६ देखि २८ गतेसम्म बुटवलमा आयोजना गरेको सम्मेलनले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रवद्र्धन तथा कार्यान्वयनमा महासङ्घ प्रतिबद्ध रहेको जनाएको छ ।

घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारका लागि न्यूनतम पारिश्रमिक सुनिश्चितता तथा सञ्चार गृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

सम्मेलनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने सरकारको हालैको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । यस्तो नीति प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयास भएको ठहर गर्दै निजी तथा सामुदायिक सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने र सयौँ पत्रकार तथा सञ्चारकर्मीको रोजगारी जोखिममा पर्ने चेतावनी दिइएको छ । 

साथै सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न माग गरिएको छ । प्रदेश र स्थानीय तहले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माणमा पर्याप्त चासो नदिएको उल्लेख गर्दै सम्मेलनले संघीयताको मर्मअनुसार सञ्चारसम्बन्धी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएको छ । त्यस्ता कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

सामाजिक सञ्जालमार्फत फैलिने गलत तथा भ्रामक सूचनाले सञ्चार क्षेत्र र समाज दुवै प्रभावित बनेको भन्दै सम्मेलनले त्यस्ता गतिविधिलाई निरुत्साहित गरी व्यावसायिक सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न आग्रह गरेको छ । 

घोषणापत्रमा पत्रकारहरूका लागि सञ्चार उपकरण खरिदमा सहुलियतको व्यवस्था गर्न प्रदेश तथा स्थानीय सरकारसँग माग गरिएको छ भने जिम्मेवार, मर्यादित र आचारसंहिताप्रति संवेदनशील पत्रकारिता गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आह्वान गरिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न तथा स्वीकृत सञ्चारसम्बन्धी कार्यक्रम, योजना र बजेट तत्काल कार्यान्वयन गर्न पनि सम्मेलनले माग गरेको छ । पत्रकारिता क्षेत्रको अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्न बुटवलमा सञ्चार सङ्ग्रहालय स्थापना गर्ने पहल गर्ने घोषणा समेत गरिएको छ ।

सम्मेलनले भूमिहीन तथा सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न र प्रभावित परिवारका लागि वैकल्पिक व्यवस्थाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । साथै रुपन्देहीको आर्थिक विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्न तथा लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान र सिद्धबाबा मन्दिर लगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

सम्मेलनको घोषणापत्र उपसमितिमा महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल संयोजक रहेका थिए भने सदस्यहरूमा शुक्रऋषी चौलागाईं, भरत केसी, विनोद परियार, कविन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेल रहेका थिए ।

पत्रकारको अधिकारका पक्षमा १५ बुँदे बुटवल घोषणापत्र जारी

सरकारी कार्यालयमा सरसफाई अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *