बाँकेमा सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना बढ्दै आप्रवासी स्रोत केन्द्रबाट ६ हजारभन्दा बढी लाभान्वित

बाँके, २८ बैशाख ।

बाँके जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित उक्त केन्द्रबाट चालू आर्थिक बर्षको हालसम्म ६ हजार २ सय ५६ जनाले सेवा लिएका छन् । सेवा लिनेहरूमा ४ हजार ४ सय १८ पुरुष र १ हजार ८ सय ३८ महिला रहेका छन् ।

वैदेशिक रोजगारीमा जान इच्छुक तथा तयारी अवस्थामा रहेका नागरिकलाई आवश्यक सूचना, परामर्श र कानुनी जानकारी उपलब्ध गराउँदै आएको केन्द्रले पछिल्लो समय सर्वसाधारणको विश्वास जित्दै गएको देखिएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको केन्द्रले वैदेशिक रोजगारीसँग सम्बन्धित सम्भावित जोखिम, प्रक्रिया, कानुनी व्यवस्था तथा सुरक्षित श्रम आप्रवासनका विषयमा परामर्श प्रदान गर्दै आएको छ ।

सूचना तथा परामर्शकर्ता आस्था पोखरेलका अनुसार केन्द्रमा आउने अधिकांश व्यक्तिहरू वैदेशिक रोजगारीका लागि विभिन्न देश जान चाहने सम्भावित कामदार हुन् । उनीहरूलाई श्रम स्वीकृति, म्यानपावर कम्पनी छनोट, रोजगार सम्झौता, बीमा, श्रमिक अधिकारलगायत विषयमा जानकारी दिने गरिएको उनले बताए ।

“वैदेशिक रोजगारीमा जाने सम्भावित कामदारलाई काउन्सिलिङ्ग गरेर सुरक्षित तरिकाले जान आवश्यक जानकारी दिन्छौं,” पोखरेलले भने, “ठगीबाट जोगिन, सही प्रक्रिया अपनाउन र समस्या परे कहाँ सम्पर्क गर्ने भन्नेबारे पनि जानकारी गराइन्छ ।”

२०७५ सालदेखि सञ्चालनमा आएको आप्रवासी स्रोत केन्द्रमा हाल दुई जना सूचना तथा परामर्शकर्ता कार्यरत छन् । आस्था पोखरेल र विनिता बस्नेतले सेवाग्राहीलाई प्रत्यक्ष परामर्श प्रदान गर्दै आउनुभएको छ । जिल्ला प्रशासन कार्यालय नेपालगञ्जस्थित मुख्य केन्द्रसँगै कोहलपुरमा पनि उपकेन्द्र सञ्चालनमा रहेको छ, जसबाट ग्रामीण तथा आसपासका क्षेत्रका नागरिकलाई सहज पहुँच पुगेको छ ।

सेवा लिन केन्द्र पुगेका कोहलपुरका आरती पौडेल र कृष्णबहादुर खत्रीले सूचना र परामर्शबाट आफूहरू निकै लाभान्वित भएको प्रतिक्रिया दिए । वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका युवायुवतीका लागि यस्ता केन्द्र अत्यन्त उपयोगी भएको उनीहरूको भनाइ छ ।

सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले आप्रवासी स्रोत केन्द्रलाई कार्यक्रमको “मुटु” का रूपमा व्याख्या गरे । उनका अनुसार यही केन्द्रमार्फत वैदेशिक रोजगारसँग सम्बन्धित आधारभूत सूचना, समस्या समाधान र आवश्यक सहजीकरण हुने गरेको छ ।

नेपालीले वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा समस्याका विषयमा पनि जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा ठगी, अङ्गभङ्ग तथा अन्य समस्यासम्बन्धी ६५ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये १४ वटा मुद्दा समाधान भइसकेका छन् ।

त्यसैगरी, सामी कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्तिहरूलाई राहत दिलाउन सहजीकरण गर्दै आएको छ । हालसम्म ३३ लाख ६५ हजार रुपैयाँ बराबरको ठगी रकम पीडितलाई फिर्ता गराउन सहजीकरण गरिएको छ । गत आर्थिक वर्षको बाँकी ११ लाख ५० हजार रुपैयाँसमेत सहजीकरणमार्फत उपलब्ध गराइएको नेपालीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा पत्रकारहरूको उपस्थितिमा गरिएको अनुगमनका क्रममा नेपालीले सामी कार्यक्रमले पाँच मुख्य क्षेत्रमा काम गरिरहेको बताए । उनका अनुसार कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच अर्थात् कानुनी सहजीकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरताका क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको छ ।

वैदेशिक रोजगारीलाई बाध्यता नभई सुरक्षित अवसरका रूपमा विकास गर्न आवश्यक चेतना अभिवृद्धि गराउने उद्देश्यले सामी कार्यक्रम सञ्चालन गरिएको उनले बताए । विशेषगरी ग्रामीण क्षेत्रका युवायुवतीलाई सही सूचना नहुँदा ठगीमा पर्ने जोखिम उच्च रहेकाले स्रोत केन्द्रले सचेतनामूलक भूमिका खेलिरहेको उनको भनाई छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा रहेको छ । कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्थानीय तहको नेतृत्वमा कार्यान्वयन भइरहेको छ भने स्विस सरकारका तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

बाँकेमा सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना बढ्दै  आप्रवासी स्रोत केन्द्रबाट ६ हजारभन्दा बढी लाभान्वित

पत्रकारको अधिकारका पक्षमा १५ बुँदे बुटवल घोषणापत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *