तटबन्ध उचाइ बढाउन स्थानीयको माग

टीकापुर, २८ वैशाख । 

कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् । उचाइ होचो भएकाले नदीमा पानीको बहाव बढेका बेला जोखिम कम नहुने स्थानीयको गुनासो छ । 

नदी किनारको उचाइ १२ मिटर भए पनि नौ मिटर कङ्क्रिटसहित तटबन्ध र त्यसको माथि एक मिटर ग्राभेल गरेर १० मिटर मात्र बन्न थालेको भन्दै स्थानीयले किनारको उचाइ बराबर बनाउन माग गरेका छन् । वि.सं. २०७० मा चिसापानीमा पानीको बहाव १६ मिटर पुग्दा यहाँ १२ मिटर माथिबाट पनि पानी अति प्रवाह (ओभरफ्‌लो) भएर गाउँमा क्षति भएकाले तटबन्ध निर्माणमा समयमै ध्यान दिनुपर्ने कर्मीडाँडाका सिंहराज बुढामगरले बताए । 

“तटबन्ध दीर्घकालीन सोचका साथ बनाउनुपर्छ, यसअघि नै जोखिम मोलिसकेका नागरिक सुरक्षित राख्न तटबन्धको उचाइ पर्याप्त भएन”, उनी भन्छन, “दुई मिटर होचो बन्दैछ, यसको उचाइ कम भयो । उचाइ बढाउन सबै क्षेत्रबाट पहल गरिदिन आग्रह गर्दछु । बर्खामा नदीमा पानीको बहाव बढेमा जोखिम हुन्छ ।”

तटबन्धको उचाइ कम भएकै कारण बर्सातमा कर्णाली नदीको पानी गाउँमा पसेमा टीकापुर–५ मात्र नभई तल्लो क्षेत्रका वडा ६, ७, ८ र ९ लाई पनि असर गर्ने देखिन्छ । यहाँ हरेक वर्ष आउने बाढीले कर्णाली नदीको पानी बस्तीमा पस्ने जोखिम रहेको छ । हरेक वर्ष तटीय क्षेत्रका दर्जनौँ परिवार बर्खामा घर छोड्नुपर्ने वाध्यता रहेको दक्षिण साहीपुरका बरघर धर्मराज जैशीको भनाइ छ । “अहिले बनिरहेको तटबन्ध उचाइ कम भएकाले जोखिम घट्ने देखिँदैन”, जैसी भन्छन, “स्थानीयको डर घटेको छैन ।”

यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत  निर्माण कम्पनीले ठेक्का लिएर तटबन्ध गरिरहेको छ । आयोजनाले दिएको लागत अनुमानअनुसार काम गरिरहेको निर्माण कम्पनीले बताएको छ । “काम गर्ने क्रममा केही ठाउँहरू भत्काएर काम भइरहेको छ । भत्काएका ठाउँमा निर्माण चलिरहेको छ”, निर्माण कम्पनीका साइड इञ्चार्ज ओभरसियर माधवप्रसाद लेखकले भने, “सम्झौताअनुसार काम भइरहेको छ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाका सुपरभाइजर रामकृष्ण चौधरी अहिलेको काम लागत अनुमानअनुसार नै भइरहेको बताए । “यस्तो लागत अनुमान किन बन्यो भन्नेबारे आफूलाई जानकारी छैन, मैले मेरो जिम्मेवारी निगरानी गर्ने काम गरिरहेको छु”, उनले भने । कर्णाली नदीमा निर्माण कम्पनीले दुई हजार ३६३ घनमिटरको ठेक्का लिएर तटबन्ध निर्माण गरिरहेको छ ।

तटबन्ध उचाइ बढाउन स्थानीयको माग

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित 

तटबन्ध उचाइ बढाउन स्थानीयको माग

सम्पादकीय : कर्णालीमा निजी लगानीको भरोसा जोगाऔँ

Leave a comment

Your email address will not be published. Required fields are marked *