सम्पादकीय : कर्णालीमा निजी लगानीको भरोसा जोगाऔँ

लामो समयको चर्चाकाबीच पश्चिम सुर्खेतमा सिमेन्ट उद्योग स्थापनाको कार्य अघि बढेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, स्थित सुनकाँडामा सिमेन्ट उद्योग स्थापनाको कार्यले गति लिन थालेको छ । झण्डै १५ अर्ब लगानीमा सूर्यतारा सिमेन्ट उद्योगले उद्योग स्थापनाको काम थालेको छ । यो कर्णालीका लागि उत्साहको विषय हो । राज्यको हेपाहा दृष्टिकोणका कारण कर्णालीमा ठुलो औद्योगिक लगानी भित्रन सकेको छैन । सूर्यतारा सिमेन्ट उद्योगले पूर्णता पाए यही आयोजना उत्पादन र लगानीका हिसाबले सबैभन्दा ठुलो औद्योगिक प्रतिष्ठान हुनेछ । सिमेन्ट उत्पादनका हिसाबले ठूलो सम्भावना बोकेको सुर्खेतको पश्चिम क्षेत्रमा उद्योग स्थापनाका लागि भएको यो दोस्रो प्रयास हो । यसअघि चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने भनिए पनि यसले मूर्त रुप लिन सकेको छैन । व्यवसायी अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले चौकुने सिमेन्ट उद्योगको लाइसेन्स १६ वर्षदेखि होल्ड गरेर राख्दा सूर्यताराले भने छोटो समयमै उद्योगलाई पूर्णता दिने गरी तयारी थालेको छ ।
आगामी १५ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिएको यस उद्योगले दैनिक २४ सय टन सिमेन्ट उत्पादन गरी कर्णाली र सुदुरपश्चिममा आपूर्ति गर्ने लक्ष्य राखेको छ । ढुवानी खर्च कम हुने भएकाले स्थानीय बजारमा सिमेन्टको मूल्य घट्ने र यसले प्रत्येक्ष र अप्रत्यक्ष रूपमा पाँचदेखि ६ हजार मानिसलाई रोजगारी सिर्जना हुने जनाइएको छ । पश्चिम सुर्खेतका पहाडमा पाइने चुनढुंगाबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिने सम्भावना अहिलेको भने होइन । खानी विभागले २०३५ देखि २०३९ सालसम्म पश्चिम सुर्खेतमा चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न तथ्य प्रमाणित गरेको थियो । त्यसयता धेरै पटक सिमेन्ट उद्योग स्थापना गर्ने चर्चा चलेका छन् । तर, ति चर्चामै सीमित छन् । सरकारले चुनढुंगा पहिचान गरेको ४७ वर्ष बितिसक्दा पनि उद्योग स्थापनाको कुनै संकेत देखा नपरेपछि उद्योग स्थापना हुनेमा स्थानीयहरु अझै आश्वस्त भइसकेका छैनन् । पछिल्लो समय सूर्यतारा सिमेन्टले पूर्वाधार निर्माणमा देखाएको चासोमा सरकारले आवश्यक पूर्वाधारमा सहजीकरण गरिदिएमा यो पश्चिम सुर्खेतको मात्र नभई समर्ग कर्णालीको आर्थिक विकासमा ठूलो टेवा पुग्ने निश्चित छ । अहिलेसम्मको वस्तुगत स्थिति अनुसार खानी क्षेत्रबाट उद्योगसम्म कच्चा पदार्थ ढुवानी गर्न पहँुच मार्ग बनि सकेको छैन ।
कर्णाली प्रदेश सरकारले उद्योग र खानी क्षेत्र जोड्न पहँुचमार्ग निर्माणको काम जारी राखेको छ । यद्यपी, आयोजनाले गति भने लिन सकेको छैन । उद्योगस्थलसम्म अझै पनि बिजुली पुग्न सकेको छैन । पानीको समस्या पनि उत्तिकै छ । कतिपय पूर्वाधार निर्माणका कामहरु चरणबद्ध रुपमा हुँदै पनि छन् । तर, तिनले अपेक्षाकृत गति लिन सकेका छैनन् । उद्योगलाई आवश्यक पर्ने सबै खाले पूर्वाधार निर्माणमा सरकारकातर्फबाट बिलम्ब हुनु आफैमा बिडम्बनाको विषय हो । जबसम्म राज्यले निजी क्षेत्रलाई सुरक्षितरुपमा लगानी गर्नसक्ने वातावरण तय गर्दैन तबसम्म औद्योगिक विकासको सपना पुरा हुन सक्दैन । यसर्थ, सूर्यतारा सिमेन्ट उद्योगलाई मात्र होइन अन्य उद्योगिक ग्रामलाई सरकारकातर्फबाट बनाइ दिनुपर्ने पूर्वाधारदेखि नीतिगत व्यवस्थामा कुनै पनि छिद्र बाँकी राख्न हुँदैन । कर्णालीका अन्य सम्भावनालाई मूर्तरुप दिन निजी क्षेत्रको लगानी भित्र्याउन सरकारले विशेष प्राथमिकतासहितको प्रोत्साहन दिन आवश्यक छ । कर्णालीमा औद्योगिक विकासको युग चलाउन निजी क्षेत्रको भरोसा जोगाउन सकेमात्रै सम्भव छ ।





