सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं ,२८ बैशाख ।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पनि आज नै प्रस्तुत हुने भएको छ ।
अपराह्न ४ बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
त्यसअघि आज दिउँसो २ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको छट्टाछुट्टै बैठक बस्नेछ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराउने कार्यसूची छ ।
त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुने र सरकारले जारी गरेको अध्यादेशहरु पेस गर्ने लगायतका कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरु पेस हुने संसद सचिवालयले जनाएको छ ।






