एमालेमा समायोजनको मञ्चबाटै गेहेन्द्रप्रसाद दाहलको राजनीतिक अवकाश घोषणा, अब स्वतन्त्र नागरिकका रूपमा सक्रिय रहने

सुर्खेत ,१६ असार ।

विवेकशील साझा पार्टीका कर्णाली प्रदेश अध्यक्ष (इन्चार्ज) तथा केन्द्रीय सचिवालय सदस्य गेहेन्द्रप्रसाद दाहलले सक्रिय दलगत राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको छ। नेकपा एमालेमा विवेकशील साझा पार्टीको कर्णाली प्रदेश कमिटी समायोजन कार्यक्रमकै मञ्चबाट उहाँले आफ्नो राजनीतिक जीवनको अन्तिम सार्वजनिक मन्तव्य दिएको घोषणा गर्नुभएको हो।
सुर्खेतस्थित सिटी हलमा आयोजित समायोजन कार्यक्रममा नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रमुख अतिथि र कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमालेका केन्द्रीय सचिव यामलाल कँडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विवेकशील साझा पार्टीका कर्णाली प्रदेशका एक हजारभन्दा बढी पदाधिकारी तथा सदस्यले नेकपा एमालेमा समायोजन हुने सर्वसम्मत निर्णय गरेका थिए।
उक्त अवसरमा समायोजित पक्षका तर्फबाट मन्तव्य राख्दै दाहलले यही भाषण आफ्नो जीवनको अन्तिम राजनीतिक मन्तव्य भएको जानकारी दिनुभयो। उहाँले नेकपा एमालेका विभिन्न केन्द्रीय तहमा रहँदा प्राप्त अवसरप्रति पार्टी नेतृत्वप्रति हार्दिक कृतज्ञता र सम्मान व्यक्त गर्नुभयो।
दाहलले अबदेखि आफू पूर्ण रूपमा स्वतन्त्र नागरिकका रूपमा रहने र समाजमा देखिएका विकृति, विसंगति, कुशासन, भ्रष्टाचार तथा अन्यायका विरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विभिन्न राजनीतिक दलका अनुभवी तथा संघर्षशील नेताहरूले राष्ट्र निर्माण र समाज रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै उनीहरूले अभिभावकीय भूमिका निर्वाह गरेकोमा धन्यवादसमेत ज्ञापन गर्नुभयो।
आफ्नो व्यवहारिक अवस्था तथा विशेषगरी स्वास्थ्यका कारण अब कुनै पनि राजनीतिक दलको सदस्यता नलिने स्पष्ट पार्दै दाहलले जीवनभर नागरिक समाजका सदस्यका रूपमा मात्र सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।
दाहल नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई (जुनियर चेम्बर इन्टरनेसनल) का आजीवन सदस्य (सिनेटर) समेत हुनुहुन्छ। उहाँले अब सामाजिक उत्तरदायित्व, सुशासन र नागरिक सरोकारका विषयमा स्वतन्त्र नागरिकका रूपमा योगदान दिँदै अघि बढ्ने बताउनुभएको छ।

एमालेमा समायोजनको मञ्चबाटै गेहेन्द्रप्रसाद दाहलको राजनीतिक अवकाश घोषणा, अब स्वतन्त्र नागरिकका रूपमा सक्रिय रहने

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’

Leave a comment

Your email address will not be published. Required fields are marked *