चौकुनेलाई जिल्ल्याउँदै  अघि बढ्यो सूर्यतारा सिमेन्ट

ओम शाही

सुर्खेत, २७ बैशाख ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, स्थित सुनकाँडामा सिमेन्ट उद्योग स्थापनाको कार्यले गति लिन थालेको छ । सुर्खेतको बराहताल गाउँपालिका–७, बाट उद्योगका लागि आवश्यक पर्ने कच्च पदार्थ (चुनढुंगा) निकालेर चौकुनेको सुनकाँडामा प्रशोधन गरी सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ सूर्यतारा सिमेन्ट उद्योगले उद्योग स्थापनाको काम अघि बढाएको हो । 

झण्डै १५ अर्ब लगानीमा सूर्यताराले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणलाई अघि बढाएको छ । सरकारले यसअघि सूर्यतारालाई बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुंगा उत्खनन् गर्ने अनुमति दिइसकेको छ । लगानी बोर्डले लगानी उद्योग स्थापनाका लागि लगानी स्वीकृत गरेपछि सूर्यताराले चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ विघा जमिन खरिद गरेको थियो । 

सिमेन्ट उत्पादनका हिसाबले ठूलो सम्भावना बोकेको सुर्खेतको पश्चिम क्षेत्रमा उद्योग स्थापनाका लागि भएको यो दोस्रो प्रयास हो । यसअघि चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने भनिए पनि यसले मूर्त रुप लिन सकेको छैन । व्यवसायी अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले चौकुने सिमेन्ट उद्योगको लाइसेन्स १६ वर्षदेखि होल्ड गरेर राख्दा सूर्यताराले भने छोटो समयमै उद्योगलाई पूर्णता दिने गरी तयारी थालेको छ । 

यसले कर्णालीमै लगानी र उत्पादन क्षमताका हिसावले सबैभन्दा ठुलो सिमेन्ट उद्योग स्थापना हुनेमा आशा जगाएको छ । कम्पनीका प्रतिनिधि बुद्धिराज रिमालका अनुसार करिब ४२ बिघा जग्गामा फैलिएको यस आयोजनाको भौतिक संरचना र पहुँच मार्ग निर्माण कार्य अहिले जारी छ । ‘अहिले चौकुने गाउँपालिका–९, को सुनकाँडामा उद्योगका संरचनाहरु निर्माण गरिरहेका छौं,’ रिमाल भन्छन्, ‘तत्काल फिल्ड गर्ने, इन्टर्नल पहँुच मार्ग, प्रशासनिक भवन, उद्योगका प्लान्ट तथा मजदुर आवास लगायतका संरचना निर्माण भइरहेका छन् ।’ 

आगामी १५ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिएको यस उद्योगले दैनिक २४ सय टन सिमेन्ट उत्पादन गरी कर्णाली र सुदुरपश्चिममा आपूर्ति गर्ने लक्ष्य राखेको छ । ढुवानी खर्च कम हुने भएकाले स्थानीय बजारमा सिमेन्टको मूल्य घट्ने र यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पाँच देखि ६ हजार मानिसलाई रोजगारी सिर्जना हुने रिमालले बताए । 

‘हामीले अबको १४ देखि १५ महिना भित्रमा उद्योगको प्लान्ट तयारी गरेर उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनी भन्छन्, ‘उद्योग पूर्णरुपमा सञ्चालनमा आएपछि पाँच देखि ६ हजार जनाले प्रत्येक्ष र अप्रत्यक्ष रोजगारी पाउछन् ।’ यद्यपि, पर्याप्त बिजुली, खानी क्षेत्रबाट उद्योगस्थल जोड्ने सडक तथा पानीको अभाव र दक्ष जनशक्तिको कमी जस्ता मुख्य चुनौतीहरू अझै कायम रहेको उनले बताए । 

रिमाल भन्छन्, ‘अहिलेसम्मको वस्तुगत स्थिति अनुसार खानी क्षेत्रबाट उद्योगसम्म कच्चा पदार्थ ढुवानी गर्न पहँुच मार्ग बनि सकेको छैन । बत्ती पनि आएको छैन । पानीको समस्या पनि उत्तिकै छ । कतिपय पूर्वाधार निर्माणका कामहरु चरणबद्ध रुपमा हुँदै पनि छन् । तर, कतिपय कुरा जस्तो बिजुलीको लाइन तान्ने काममा ढिला भइरहेको छ । पानीको समस्या पनि ठुलै छ ।’ पश्चिम सुर्खेतका पहाडमा पाइने चुनढुंगाबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिने सम्भावना अहिलेको भने होइन । 

खानी विभागले २०३५ देखि २०३९ सालसम्म पश्चिम सुर्खेतमा चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न तथ्य प्रमाणित गरेको थियो । त्यसयता धेरै पटक सिमेन्ट उद्योग स्थापना गर्ने चर्चा चलेका छन् । तर, ति चर्चामै सीमित छन् । सरकारले चुनढुंगा पहिचान गरेको ४७ वर्ष बितिसक्दा पनि उद्योग स्थापनाको कुनै संकेत देखा नपरेपछि उद्योग स्थापना हुनेमा स्थानीयहरु अझै आश्वस्त भइसकेका छ्रनन् । पछिल्लो समय सूर्यतारा सिमेन्टले पूर्वाधार निर्माणमा देखाएको चासोमा सरकारले आवश्यक पूर्वाधारमा सहजीकरण गरिदिएमा यो पश्चिम सुर्खेतको मात्र नभई समर्ग कर्णालीको आर्थिक विकासमा ठूलो टेवा पुग्ने निश्चित छ । 

खानी र उद्योग जोडन् १० किलोमिटर सडक

कर्णाली प्रदेश सरकारले प्रस्तावित सूर्य तारा सिमेन्ट उद्योगको खानी क्षेत्र बराहताल गाउँपालिका–७, को लखरपाटा र उद्योगस्थल चौकुने गाउँपालिका–९, स्थित सुनकाँडालाई जोड्न १० किलोमिटर सडक निर्माण गरिरहेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा पाँच करोड बजेट व्यवस्थापन गरेर सडक स्तरोन्तीको काम तीव्र गतिमा भइरहेको छ । 

पूर्वाधार निर्देशनालय सर्खेतका सूचना अधिकारीसमेत रहेका इन्जिनियर वीरेन्द्रजंग शाहीले आगामी साउनसम्म कालोपत्रे गरिसक्ने लक्ष्य रहेको बताए । यद्यपी, मध्यपूर्वी देश इरानमाथि अमेरिका र इजरायलले थालेको युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्य आकाशियपछि आयोजना प्रभावित भएको छ । ‘लखरपाटादेखि सुनकाँडासम्मको १० किलोमिटर सडकको ट्रयाक खोल्ने काम करिब सम्पन्न भइसकेको छ,’ उनले भने, ‘सम्झौता अनुसार आगामी साउनसम्म सक्नुपर्ने हो । तर, इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले थप समय लाग्ने देखिन्छ ।’ त्यस्तै, उद्योगस्थलसम्म नेपाल विद्युत प्राधिकरणले ३३ केभी विद्युतको प्रशारण लाईन विस्तारको काम पनि जारी राखेको छ । 

१६ वर्षदेखि चौकुने सिमेन्टको लाइसेन्स होल्ड

व्यवसायी अजेयराज सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले २० साउन २०६६ मा सुर्खेतको चौकुने गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गर्न खानी तथा भूगर्भ विभागसँग उत्खननको अनुमति लिएको थियो । 

नेपालकै ठूलो सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै सरकारबाट पटक–पटक सम्झौता नवीकरण गर्दै आएको छ मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले । तर, १६ वर्ष भइसक्दा पनि चौकुने सिमेन्ट उद्योगको काम अगाडि बढ्न सकेको छैन । ६ असार २०७६ असारमा व्यवसायी सुमार्गीले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सुर्खेतको चौकुनेमा स्थापना हुने सिमेन्ट कारखानाले २०७७ भदौ महिनादेखि उत्पादन सुरु गर्नेछ ।’ चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने वचन दिएर फर्किएका सुमार्गी त्यसयता सुर्खेत आएका छैनन् ।

‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गर्छु’, सुमार्गीले भनेका थिए, ‘यहाँ उत्पादन भएको सिमेन्ट भारतको राजधानी नयाँ दिल्ली र लखनउमा बेच्छु । सिमेन्ट कारखाना स्थापना हुनेमा अब कुनै पनि शंका मान्नु पर्दैन ।’ जग्गादातालाई कारखानामा ५० हजार बराबरको शेयर दिने वचन दिँदै उनले कामदारलाई पनि सोहीबराबरको शेयर दिने आश्वासनसमेत दिएका थिए ।

यति मात्र होइन, कारखानामा सात सय जनालाई रोजगारी दिने र प्रतिदिन ६ सय मेक्ट्रिकटन सिमेन्ट उत्पादन गर्ने योजना रहेको सुमार्गीले सुनाएका थिए । तर, सुमार्गीले अहिलेसम्म पनि जग्गा प्राप्त गर्न नसकेको भन्दै लाइसेन्स होल्ड गरेर राखेका छन् । लामो समयसम्म उद्योग स्थापनाले गति लिन नसकेपछि लाइसेन्स रद्द गर्नुपर्ने आवाज स्थानीयस्तरबाट उठेपनि निर्माण कम्पनी भने अझै जग्गा खरिदकै गोलचक्करमा छ । उद्योग स्थापनाको कामले गति लिन नसक्नुमा कम्पनीलाई दबाब र पहल गर्न नसक्नु तीनै तहका सरकारको कमजोरीले पश्चिम सुर्खेतको विकास हुन नसकेको स्थानीय जीवन देवकोटा बताउँछन् ।

चौकुनेलाई जिल्ल्याउँदै   अघि बढ्यो सूर्यतारा सिमेन्ट

सम्पादकीय : क्षतिग्रस्त १३२ केभीको मर्मतमा बिलम्ब

चौकुनेलाई जिल्ल्याउँदै   अघि बढ्यो सूर्यतारा सिमेन्ट

कांग्रेसको दुई दिने कर्णाली प्रदेशस्तरीय भेला 

Leave a comment

Your email address will not be published. Required fields are marked *